March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

भाले नम्बर–१

प्रदीप कन्दङ्वा
२०८१ असार २९

3.4K

भाले
जो बास्छ झिसमिसे उज्यालोमा
र भन्छ–
‘मैले बासिनँ भने उज्यालो हुँदैन’ ।

पखेटा फट्कार्दै निस्किन्छ खोरबाट
बर्कुसी मार्छ आँगनमा
हल्लाउदै अहंकारको रातो शीउर
हेर्छ आकाशतिर कड्के नजर
झारेर पखेटा भुँईसम्म
भ्याट् ! भ्याट् !
घुम्छ आतंकको तान्डव नृत्य
धर्ती चिथोर्दै छिप्पएका नङ्ग्राहरुले
उडाउँछ धूलो भ्रमको
हान्छ छिर्के दाऊ
र, मेटाउँछ प्यास प्रतिशोधको

कुनै दिन
अकस्मात औंसीको आधारातमा
जुट्छ भाले गोप्य मन्त्रणामा
फुक्छ षड्यन्त्रको बीज मन्त्र
र बास्छ साँठगाँठको सन्दिग्ध धून
स्केक्केरे काँ…
र आक्रान्त बन्छ गाऊँ
बिस्मीत हुन्छन् चल्लाहरू
पोथीले शङ्का गर्छे
आफ्नो दिवंगत छोरीको हत्यारा
यही भाले हो की ?
उसले मनमनै चिथोर्छे भालेको गाँड

Advertisement

बडो मायावी छ भाले
हजार जिब्रो भएको शेषनाग जस्तै
वाचाल छ भाले
खुरापाति यस्तो कि
दिउँसै रात पार्न सक्छ
सेतोलाई कालो प्रमाणित गर्न सक्छ
कहिले दुईदुना पाँच हुन्छ भन्दै
धुरीमा चडेर बास्छ
दुस्मनको खोर उजाड्ने
उसको पुरानो बानी छ
आफ्नो आङमा भैंसी नदेख्ने
यो पनि उसको बिरासतमा पर्छ
चम्चे धुपौरे र चल्ला चपेटाहरुको
महिमाले मण्डित
बहुरुपी छ भाले
कहिले समृद्ध कुखुरा समाज भन्छ
कहिले लोकतान्त्रिक भाले मञ्च भन्छ
कहिले आवश्यकताको सिद्धान्त भन्छ
दुस्मनको बारीमा गएर
मित्रताको माटो खोस्रिन थालिहाल्छ
भर छैन भालेको कुन दिन पानी बार्छ
लाज पनि लजाउँछ भालेसँग
शरम आफै शर्माउँछ
यति धुर्त निस्क्यो भाले
कि आफै नुन थप्छ तरकारीमा
र आरोप खन्याउछ बुहारीको टाउकोमा
अनी चौधेरामा चड्छ
बडेमानको पखेटा फटफटाउँछ
नौसिङ्गे शीउर हल्लाउँछ
मुसार्छ कानका राता लोतीहरु
र बास्छ फेरि सिद्धान्तको कुटिल धून
र भन्छ–
‘मैले बासिन भने सूर्य उदाउँदैन ।’