काठमाडौं। युगकवि सिद्धिचरण गुठीको आयोजनामा काठमाडौंको ओम्बहालस्थित युगकविको प्रतिमास्थलमा एक विशेष श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्मजयन्तीको अघिल्लो दिन श्रद्धाञ्जली सभा राखिएको हो ।
गुठीका अध्यक्ष पवित्र बज्राचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्य, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री तामाङले युगकविको प्रतिमामा माल्यार्पण गरी युगलाई आँखा देखाउने युगकवि सिद्धिचरण शान्तिप्रेमी कवि भए पनि उनले व्यक्त गरेको ‘क्रान्तिविना हुँदैन शान्ति’ भन्ने उद्घोषले तत्कालीन समाजलाई जागृत गराएको विचार व्यक्त गरे । साथै उनले आजको परिवर्तनमा युगकविको चेतना, विचार र लेखनले विशेष भूमिका खेलेको हुनाले उनका सिर्जनाहरू युगौँयुग अमर रहिरहने कुरामा जोड दिए ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि बैरागी काइँलाले हरेक वर्ष युगकविको जन्मजयन्तीको अघिल्लो दिन युगकवि सिद्धिचरण गुठीले विशेष श्रद्धाञ्जली सभाको आयोजना गरी उपस्थित सम्पूर्णले युगकविको प्रतिमामा माल्यार्पण गर्ने अवसर प्रदान गरेकोमा गुठीलाई धन्यवाद व्यक्त गरे । साथै उनले हरेक वर्ष जेठ नौ गते युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार अर्पणलगायतका विभिन्न कार्यक्रमहरू गर्ने गरेको तर युगकविकी माहिँली छोरी सरिताको निधन भएको आज नौ दिन मात्र भएको हुनाले यस शोकको घडीमा उत्सवमय कार्यक्रम नगर्ने र त्यसलाई केही समय पछि सम्पन्न गरिने जानकारीसमेत दिए ।
कार्यक्रममा प्रतिष्ठानका सहसचिव प्रा.डा. देवी नेपालले युगकविको बहुआयामिक व्यक्तित्वका बारेमा प्रकाश पार्दै युगकविको ‘चम्क युवक’ कविताले गङ्गालाललाई सहिद बन्न उत्प्रेरित गरेको, उनले प्रयोग गरेका ‘क्रान्ति’ र ‘हडताल’ शब्दले सर्वस्वसहित जेल पठाएको, महावीर स्कुलका पहिलो अंग्रेजी शिक्षक, ‘आवाज’ पत्रिकाका पहिलो सम्पादक, गोरखापत्रका प्रधान सम्पादक, राष्ट्रिय कविता महोत्सवका शुभारम्भकर्ता, कविता पत्रिका प्रकाशनका प्रारम्भकर्ता, बहुभाषाका ज्ञाता सिद्धिचरणका दुई दर्जनभन्दा बढी कृतिले युगलाई नै सही दिशानिर्देश गरिएको हुनाले उनको सम्मानमा राज्यले एक भव्य सङ्ग्रहालय बनाइदिनुपर्ने विचार व्यक्त गरी युगकविकै ‘शान्तिदूत’ कविता वाचन गरेका थिए ।
यस अवसरमा युगकवि सिद्धिचरणका विषयमा विद्यावारिधिसमेत हासिल गरिसकेका डा. फणीन्द्रराज निरौलाले युगकविद्वारा १९९५ मा लिखित जागरणमुखी कविता ‘चम्क युवक अब चम्क न चम्ब’ वाचन गरेका थिए भने लोककवि राजभाइ जकःमीले सिद्धिचरणको जीवनी, व्यक्तित्व र कृतित्व समेटिएको नेपाल भाषाको कविता प्रस्तुत गरेका थिए ।
स्रष्टा एवम् सञ्चारकर्मी भगवती बस्नेतले सञ्चालन गरेको उक्त कार्यक्रमको थालनीमा प्रमुख अतिथि मन्त्रीलाई युगकविको तस्बिर तथा ‘मेरो प्यारो ओखलढुङ्गा’ अङ्कित टोपी र खादा लगाएर प्रतिष्ठानका तर्फबाट सम्मान गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष पवित्र बज्राचार्यले युगकविको सम्झनामा हरेक वर्ष गुठीले यस प्रकारको कार्यक्रम गर्दै आएको र गर्दै जाने विचार व्यक्त गरेका थिए।
युगकवि सिद्धिचरण प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको एक लाख राशिको ‘युगकवि सिद्धिचरण पुरस्कार’ यस वर्ष वरिष्ठ समालोचक एवम् अन्वेषक प्रा.डा. उषा ठाकुरलाई र चालिस हजार राशिको ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार’ ओखलढुङ्गाका युवा पत्रकार नवराज कार्कीलाई प्रदान गर्ने निर्णय गरेको छ । साथै प्रतिष्ठानले प्रा.डा. देवी नेपालको सम्पादनमा ‘युगकवि सिद्धिचरणका गद्यकविता’ र डा. फणीन्द्रराज निरौलाको सम्पादनमा ‘युगकवि विषयक अन्तर्वार्ता सङ्ग्रह’ प्रकाशन गरिसकेको छ भने गायक तथा सङ्गीतकार शिशिर योगीको स्वर र सङ्गीतमा तयार भएको युगकविको कालजयी रचना ‘चम्क युवक अब चम्क न चम्क’ गीतलाई पनि सार्वजनिक गर्ने भएको छ ।
उक्त पुरस्कार अर्पण तथा पुस्तक विमोचनलगायतका कार्यक्रमहरू केही समयपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्को प्रमुख आतिथ्यतामा सम्भव भएसम्म ओखलढुङ्गामा गर्ने कुराको जानकारी प्रतिष्ठानका संरक्षक युगकविपुत्र रविचरण श्रेष्ठले दिएका छन्।