April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाली प्रतिभा पुरस्कार मेन्याङबो र सम्मान रसिकलाई

२०८० फाल्गुन २९

1.3K

काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्धारा संगीत एवम् बाङ्मय साधक गणेश रसिक सम्मानित भएका छन् । सोमबार पुतलिसडस्तिथ ग्रिनलिड फुडक्याफेमा आयोजित एक समारोहका वीच रसिकलाई सम्मान र पत्रकार तथा मुन्धुमी साहित्यकार प्रदीप मेन्याङबोलाई प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

दुबैलाई सम्मान एवं पुरस्कारस्परुप नगद ५० र एकलाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ ।

सम्मान ग्रहण गर्दै रसिकले यस पुरस्कार भाग्यले दिएको छिठ्ठा रहेको बताए । उनले भने,‘मैले पाएको सम्मानलाई भाग्यद्धय चिठ्ठा सम्झिन्छु । किनभने सोचेकै थिइनँ । बेलायतबाट निर्मला बैनीले बायोडाटा माग्नुभो, पठाइदिएँ । केहीदिन पछि शशी भाइले कुरा गर्नुभो । म त छक्क परेँ ।’

Advertisement

यस्तै पुरस्कृत प्रतिभा प्रदीप मेन्याङबोले आफूले सम्मान/पुरस्कारको अपेक्षा नराख्ने तर यसरी पुरस्कृत हुने सूचना पाउँदा खुशी लाग्नुका साथै पुरस्कारको गरिमा थेग्न सकिन्छ कि सकिन्न भन्ने चिन्ता लागेको पनि बताए । उनले भने, ‘अरु म भन्दा योग्य र दक्षहरु पनि थिए, वहाँहरुलाई दिएको भए पनि हुन्थ्यो भन्ने मलाई लागिरहन्छ । किनभने पुरस्कार र सम्मान पाइसकेपछि लामो समयसम्म त्यसको प्रतिष्ठा कायम राखिराख्नका लागि धेरै नै संघर्ष गर्नुपर्छ । मान्छेको जात कहिँ कतै चुक्न सक्छ । त्यसैले यो मलाई कतै भार पो हो कि भन्ने लाग्छ ।’

बरिष्ठ साहित्यकार तथा मन्धुमविद बैरागी काइँलाको प्रमुख आतिथ्यता र प्रतिष्ठानका पूर्वअध्यक्ष गणेश राईको सभापतित्वमा सम्पन्न उक्त समारोहमा गीतकार श्याम तमोट, पत्रकार देवेन्द्र भट्टराई र सीता मादेम्बाा विशिष्ठ अतिथिको रुपमा उपस्थित थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काइँलाले सम्मानित रसिक साहित्य संगीत अनेक विषयसँग जोडिएको बताए । उनले भने, ‘गीत लेख्ने, संगीत रचना गर्ने, गाउँने, तीनैथोक गर्ने एउटा विशिष्ट श्रष्टाका रुपमा हामी गणेश रसिकलाई एकातिर चिन्छौं भने अर्कोतिर साहित्यमा पनि वहाँको रुची धेरै छन् ।’, मञ्चन भइरहेको रसिकको उपन्यासमा बनेको नाटक ‘झोडा’ को प्रसंग निकाल्दै उनले रसिकले साहित्यमा पनि आफ्नो सृजनाशक्तिलाई खर्च गरेर ठूलो योगदान दिएको बताए । उनले थपे, ‘यसरी उनले साहित्य र संगीतमा गरेको योगदानलाई कदर गर्दै नेपाल प्रतिभा प्रतिष्ठान बेलायतले वहाँलाई सम्मान ग¥यो । म यस प्रतिष्ठानलाई धन्यवाद दिन्छु । यहाँहरुले गणेश रसिकलाई सम्मान गरेर ठूलो जस पाउने काम गर्नुभो ।’

यस्तै, मुन्धुममा लिम्बु जातिहरुको इतिहासको वर्णन भएको उल्लेख गर्दै मुन्धुममा वर्णित कथाहरुलाई समेटेर मेन्याङ्बोले कविताहरु लेख्ने गरेको बताए । ‘मुन्धुममा हाम्रो सृष्टिदेखि अहिलेसम्मको कथाको वर्णन छ । त्यो हााम्रो इतिहासको वर्णन हो ।’, मुन्धुमविद काइलाले भने, ‘मुन्धुममा विभिन्न पक्षहरुमध्ये यौन एउटा ठूलो कुरा हो । उहिलेको समाजमा यौन त थियो तर समाज बनिनसकेको हुनाले हाम्रोमा बायोलोजिकल फादर र सोसियल फादरमा भिन्नता थिएन । जब समाज निर्माण भयो, अनि मात्रै दाजुबहिनी भनेर छुट्टियो । उहिले आमा मात्रै चिन्थ्यो, बाबु चिन्दैनथ्यो । यसरी त्यसबेलाको समयलाई लिएर वहाँले धेरैवटा कविताहरु लेख्नुभएको छ ।’

सम्मानित प्रतिभा गणेश रसिकबारे बोल्दै पत्रकार देवेन्द्र भट्टराईले रसिकका कृतित्व र व्यक्तित्व र उनले पाएको पुरस्कार, मानसम्मान र गरेको कर्मधर्मको सूचीकृत गर्नु यो जुनीमा सम्भव नहुने बताए । यस्तै, पुरस्कृत प्रतिभा मेन्याङ्बोबारे पत्रकार तथा अनुसन्धानकर्ता सीता मादेम्बाले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको संचालन कवि शशी लुमुम्बुले गरेका थिए ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हरेक वर्ष नेपाली स्रष्टाहरुलाई हौसला प्रदान गर्न सम्मान एवं पुरस्कार प्रदान गर्दै आएको छ ।