April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एउटा प्रेरणादायी कृति ‘हुक्पा चोङबाङ प्रतिभा र सिर्जनाका फूलहरू’

1.8K

कुनै दुई वा दुईभन्दा बढि मिलेर गरिएको काम संयुक्त हुन्छ । साहित्यमा संयुक्त कृतिको अभ्यास धेरै भएका छन् । साहित्य, अनुसन्धानलगायतका धेरै कुरामा यस्ता काम भएका छन् ।

नेपाली साहित्यमा संयुक्त कृति कहिलेदेखि भयो भन्ने कुराको मिहिन अध्ययन भने भएको छैन । तर छ दशकअघि आकाश विभाजित छ उपन्यास १० जनाले लेखेको थिए । त्यसपछि केही उपन्यास त्यसरी लेखिए । शुरुका कृतिहरूमा कुन लेखकले कहाँदेखि कहाँसम्म लेख्यो भन्ने छुट्याएको थिएन । पछि धेरैले लेखेका एउटा कविता, गजलका फरक शेर फरक लेखकका र गीत पंक्ति संयुक्त लेखिएका छन् ।

संयुक्त लेखनको मुख्य ध्येय चाही लेख्ने लेख्ने साथीहरूबीचको एक या दुई रचनालाई एउटा पुस्तकको रूपमा निकाल्नु हो । यसरी तयार गरिएको ग्रन्थलाई कुनै संस्थाले संस्थाभरिका सर्जकको रचनालाई समेटेर प्रकाशन गरिदिँदै आएका छन् ।

Advertisement

आजकल गाउँभरका सर्जक, जिल्ला भरका सर्जक, भेगीय सर्जक, जातीय सर्जकहरूले संयुक्त कृति ल्याइरहेका छन् । यसै क्रमलाई पच्छ्याउँदै तर केही फरक तरिकाबाट लिम्बू जातिभित्रको हुक्पा चोङबाङहरूले एक कृति ल्याएका छन् –हुक्पा चोङबाङ प्रतिभा र सिर्जनाका फूलहरू ।

यस कृतिले हुक्पा चोङबाङका सर्जक कति छन् भन्ने कुरालाई हाम्रो सामू ल्याइदिएको छ । यो अत्यन्तै सह्रानिय काम भएको छ ।

हुक्पा चोङबाङ प्रतिभा र सिर्जनाका फूलहरू लिम्बू जातिभित्रको हुक्पा चोङबाङमात्रैको सिर्जना हो । हुक्पा चोङबाङ कल्याण संघले आफ्नो वंशभित्रका ३० सर्जक र उसको सिर्जनालाई चिनाउने काम गरेको छ । कृति अध्ययन गर्दा हुक्पा चोङ्बाङभित्र कस्ता सर्जक छन्, कति स्तरीय लेख्छन् ? भन्ने कुरालाई प्रष्ट बुझ्न सकिन्छ ।

यहाँ लिम्बू, नेपाली र अङ्ग्रेजी गरी तीन भाषाका रचना छन् । नेपाली भाषामा लेखिएका खुराकमा पनि लिम्बुपनको झल्को आउँछ, त्यो नै गजब पक्ष हो । नेपाली साहित्यमा कुनै उदाहरण प्रस्तुत गर्नुपर्दा महाभारतको प्रसँग उक्काउँछौं, तर लिम्बु जनजीवनको पाटोबाट लेखिँदा खास नेपाली साहित्य पढिरहेको अनुभुत हुन्छ । जो पढिरहुँ भन्ने हुन्छ ।

सामान्यतया नेपाली साहित्यमा कथा, कविता, गजल, मुक्तक, संस्मरण, हाइकु हुने गर्दछन् । यसमा फरक विधा आएको छ, त्यो हो पालाम । पालाम लिम्बू र याक्खा जातिले मात्र गाउने गर्दछन् । पालाम लिम्बूहरूले धान नाच्दा गाइने एउटा लय हो ।

हुक्पा चोङबाङभित्र कृति निकालिसकेका सर्जकहरूमा हरि चोङबाङ, गोविन्द चोङबाङ, मदन चोङबाङ, सुकराज चोङबाङ, राधिका हुक्पा चोङबाङ, सेसेहाङ चोङवाङ, सुरज हुक्पा चोङबाङ, मणिराज हुक्पा, स्व. रैप्रसाद हुक्पा गरी ९ जना रहेको यस संयुक्त कृतिबाट बुझ्न सकिन्छ । कृति ननिकालीसकेका देव हुक्पा चोङबाङ, दिपिन हुक्पा चोङबाङ, उदयराज हुक्पा चोङबाङ, कृष्ण हुक्पा चोङबाङ, मनिता हुक्पा चोङबाङ, इच्छिङहाङ हुक्पा चोङबाङ, मुकुन्द हुक्पा चोङबाङ, योगिता हुक्पा चोङबाङ, मति हुक्पाचोङबाङ, कल्पना हुक्पा चोङबाङ, सुसन हुक्पाचोङबाङ, भगत हुक्पाचोङबाङ, अञ्जला हुक्पाचोङबाङ, नरपति हुक्पा चोङबाङ, विक्रमप्रकाश हुक्पा चोङबाङ, टेकबहादुर हुक्पाचोङबाङ पाखाली जेठा, बालकुमारी खापुङ हुक्पाचोङबाङ, धनीचन्द्र हुक्पा चोङबाङ, जीवन हुक्पाचोङबाङ, सीता हुक्पा चोङबाङ ‘पारु उदासी’लगायत २१ सर्जकले कुनै समय नेपाली पाठकलाई कृति दिनेछन् भन्ने अहिले नै ठोकुवा गर्न सकिएको छ ।

सिर्जनाबारे प्राज्ञ दिलेन्द्र कुरुम्बाङले भूमिकालेखनबारे प्रष्ट पारेका छन् । कृतिमा गहकिलो पाटोको रुपमा हुक्पाचोङबाङको प्रथम वंशावली संकलक र हुक्पा चोङबाङ थरबाट धरानको मेयर पदमा विजयी भएका स्व. तारा चोङबाङको जीवनीलाई लिन सकिन्छ । यस लेखले इतिहासलाई जिउँदो राखेको छ ।

हुक्पा चोङबाङ कल्याण संघ, जिल्ला कार्य समिति, मोरङको यस्तो उत्कृष्ट कार्य गर्न सकेको छ । कृतिको प्रधान सम्पादक मदन हुक्पा चोङबाङ र सम्पादक मण्डलमा रहनुहुने सुकराज हुक्पा चोङबाङ, सेसेहाङ हुक्पा चोङबाङ र गोविन्दराज हुक्पा चोङबाङको नविन सोच नै प्रेरणादायी छ । यसको प्रेरणास्वरूप सबै थरका संस्थाले थरगत रूपमा संयुक्त कृति निकाले भने लिम्बू जातिभित्र साहित्य कोर्ने कति छन् ? भन्ने तथ्याङ्क निकाल्न एकदम सजिलो हुनेछ र सर्जकहरूले पनि न्याय पाउनेछन् । १७२ पेजमा अटाएको पुस्तकको मुल्य २०० रहेको छ ।