डा. बी. एल. खाम्धाक प्राध्यापन पेशा सँगसँगै भाषा साहित्य सिर्जना र अनुसन्धानात्मक लेखन क्षेत्रमा क्रियाशील एक बहुमुखी प्रतिभाका धनी, लिम्बु साहित्यिक जगतका उत्तराधुनिक कवि तथा चिन्तक हुन् । खाम्धाकका इःत्लाबा सेप्माङ्हा कथा सङ्ग्रह (सन्– १९९८), पेन्जिरि पेम्मिक्खा? कविता सङ्ग्रह (सन्– १९९९), कुसङ् तङ्नाम् कविता सङ्ग्रह (सन्– २००७), पेमुक् सिगाङ्बा खेदाहा? कथा सङ्ग्रह (सन्– २००९), याक्थुङ् मुन्धुम् (सन्– २००९), इःत्छाप्लाम् याक्थुङ् साप्पाःन् (सन्– २०११), याक्थुङ् मुुन्धुम् लेक्वागेन् चम्योःक् थक्मेल्ले (सन्– २०१४), याक्थुङ् पाङ्वाइःत्ला पोवेन् नु थोबो (सन्– २०१६), पलिहाङ् नेन्दुरि कुबेन् थाङ्मेल्ले (सन्– २०१७), साप्सक् इङ्जुम् नु याक्थुङ् साप्सक् (सन्– २०१७), दिदीका आवाजहरू (कविता सङ्ग्रह, सन्– २०२०) र लिम्बुज अफ सिक्किम अ ब्राइफ सोसियल एन्ड पोलिटिकल हिस्टोरी (सन्– २०२२) कृतिहरू प्रकाशित छन् ।
दिदीका आवाजहरू भित्र सिरिजङ्गा लिपि र लिम्बु भाषा साथै देवनागरी लिपि र खस नेपाली भाषागरी दुईवटै प्रयोग भएको हुनाले दुई मध्ये कुनै एक भाषालाई छनोट गरेर अध्ययन गर्न सकिने सुविधा छ । कवि खाम्धाककृत दिदीका आवाजहरू भित्र जम्मा एघारवटा कविताहरू सङ्ग्रहित छन् । कृति माथि आयामेली कवि नेपाल प्रज्ञा–प्रतिष्ठानका भूतपूर्व कुलपति बैरागी काइँलाको भूमिका र नाम्ची सरकारी महाविद्यालय, नेपाली विभागका उपप्राध्यापक दीपक तिवारीको मन्तव्य रहेको छ । आवरण चित्रको अवधारणा जीवन खाम्धाक, मुक्कुम खाम्धाक र मुगुप्लुङ्मा लेक्वाहाङ् चोङ् सुब्बाको रहेको छ । खाम्धाक पब्लिकेसन्स सिङ्फेङ ह्याम्लेट पश्चिम सिक्किमले प्रकाशन गरेको यस पुस्तक डिमाइ आकारमा १२४ + ४ = ंं१२८ पृष्ठको छ भने पुस्तको मूल्य रु २००।– मात्र रहेको छ ।
यतिबेला कवि खाम्धाककृत कविता सङ्ग्रह दिदीका आवाजहरू मेरो कानमा गुञ्जिरहेका छन् । मूलभूत रूपमा मुन्धुमी शब्दावलीहरूको सुन्दर संयोजन र मिथकहरूको सान्दर्भिक प्रयोगद्वारा निर्माण भएको कविता सङ्ग्रह दिदीका आवाजहरू आफैंमा सङ्लो नारी विम्ब हो । पुस्तकको आवरण चित्रले नै नारी संंवेदना र चित्कारलाई समग्र रूपमा उजागर गरेको छ । अत्यन्तै प्रताडित अवस्थामा भयभीत भएर चिच्च्याइ रहेकी दिदीको दृश्य देख्न सकिन्छ । नारी विम्ब र मुद्धा प्रधान कविता सङ्ग्रह हुँदाहुँदै पनि यस कविता सङ्ग्रह भित्रका फरकफरक कविताहरूले फरकफरक मुद्धा र आवाज मुखरित गरेका छन् । सङ्ग्रहमा समाविष्ट एघारवटा कविताहरू भित्र क्रमश पाठकीय हैसियतले विचरण गर्ने जमर्को गरिरहेछु ।
क्षणिक मनोरञ्जन र विभिन्न प्रलोभनहरूमा तानिएर असफल सपनाहरू सँगसँगै गन्तव्यहीन यात्रा तय गर्दै आफू जन्मिएको र आफूले टेकेको धरातल बिर्सेर मौलिकताबाट धेरै टाढा गइरहेका मनहरू आफ्नो वास्तविक धरातल र उद्गम थलो भन्दा महान केही हुन सक्दैन भन्दै पुनः फर्केर आफ्नो धरातललाई स्मरण गर्न सल्लाह दिन्छन् कवि ।
हो त्यो तिमीले देखेको सपना हो
तिम्रो मानसिकता र सोचले देखेको सपना होला
तर निश्कर्षमा नपुग्ने लक्ष्यहीन पाइलाले
तिमीलाई कतै पुर्याउँदैन
न त तिम्रो एक कदम पाइला तिम्रो लक्ष्य हो
न त एकरातमै देखेको सपना जीवनभरको उपलब्धि हो
न त सपना देख्नु विपना हो न त त्यसको सफलता
तिमी कोसौं टाढा पुगे पनि
एकपल्ट पछि फर्केर मलाई हेर
किन कि
आमबिरि आमदाङ्वा र केक्तक्कुम सेवामा भन्दा
महत्वपूर्ण सागर सिर्जना गर्ने पानी महान हो ।
(सपनामा नदेखेको विपनाहरू, पृष्ठ– ८०)
संसार भरिका आदिवासी जनजातिहरू भाषिक, साँस्कृतिक, धार्मिक र राजनीतिक आक्रमणको सिकार बनिरहेका छन् । तिनीहरूको भूगोल, हक, हित र अधिकार खोसिएको छ । दिनानुदिन तिनीहरूको अस्तित्व र पहिचान धराशायी बन्दै गइरहेको छ । राज्यको मूलधार र सरकारी संयन्त्रबाट सीमान्तकृत पारिएका सबाल्टर्नहरूको आवाजलाई सशक्त रूपमा यसरी बुलन्द गर्छन् कवि ।
ती आदिवासीहरू बाग चालको खेलमा
बागले खेदाएर खानु खोजेको बाख्राहरू जस्तै
सावागेन् येहाङ र फाङहाङहरू चित्लिङ्गे मुयङ्बामा राखी
सावागेन येहाङ भेला भइ हल्लाउँदा बिहोस् भएको जस्तो
ती सपनामा बिहोस् भएको अझै पनि ब्यूँझिएको छैन
त्यो समयले बिछोडेका आदिवासीहरू ।
(समयले बिछोडेका आदिवासीहरू, पृष्ठ– ८५)
कविलाई अर्थहीन जीवन प्रति कुनै लोभ, लालच छैन । पाप, लोभ, स्वार्थ, अहंकार, रिस, ईष्र्या र आडम्बरले भरिएको यो भौतिक दुनियाँमा अनर्थ जीवन बाँच्नुभन्दा मर्नु नै उचित ठान्दै आफूलाई लासको रूपमा कल्पना गर्छन् कवि । जन्मपछि मृत्यु अनिवार्य र सत्य छ । मृत्युपछिको क्षणलाई मुन्धुमी विश्वास मुताबिक खाउःमा मुन्धुममा प्रयुक्त उक्तिलाई मार्मिक ढंगले प्रस्तुत गर्न सफल भएका छन् । यस्तो उक्ति सौन्दर्यले कवितालाई सुन्दर मात्र होइन उत्तिकै प्रभावकारी पनि बनाएको छ ।
म जूनको सन्तति जूनले लैजावोस्
म घामको सन्तति घामले लैजावोस् ।
(क्लपनाः लाशको, पृष्ठ– ८९)
वास्तवमा वर्तमान समयका मान्छेहरू भित्र मानवता, शिष्टता, प्रेम, उद्धार, विश्वास र दया भेट्टिँदैन । छल कपट, स्वार्थ, असत्य जस्ता मान्छेले मान्छेलाई बेच्ने, ठग्ने, आफ्नो स्वार्थपूर्तिको लागि मात्र बाँच्ने मानिसहरूको प्रवृत्ति र आचरण देखेर जीवन प्रति यसरी खेद प्रकट गर्दै स्वैरकल्पना गर्न बाध्य हुन्छन् कवि ।
पाप, लोभ–मोह, अहम्, रीस–आरिस र घमण्डले
भरिएको यो भौतिक संसारमा
म निष्प्राण मान्छे भएर
धर्तीमा जिउन सुहाउँदैन
कलेजो, मुटु र फोक्सो विनाको
मान्छेको शरीर भएर
समाजको बदनामी भएर बाँच्न छैन
मान्छेको फ्यातुलो खुन भएर बाँच्न सक्दिन ।
अनि फेरि
स्वर्गलोक र नर्कलोक
म झट्टै पुग्न सकेँ भने
त्यो लोभको भाँडा बोक्ने
अहंकारी, घमण्डी स्वार्थीपनको
गिदी बोक्ने पापी र असत्यमार्गीहरूलाई
भेट्ने र उनीहरूको मुहार हेर्ने सपना छ ।
(कलपनाः लाशको, पृष्ठ– ८९)
कतिपय कलमहरू सत्ताकै स्तुति गाउँदै हजुरिया बनेर सत्ता लिप्सामै लिप्त हुन्छन् । खासमा कलमहरू त सत्ता विपरीत नै उभिनुपर्ने हो । सत्ता पक्षको ज्यादती विरुद्ध कटाक्ष गर्नु सचेत स्रष्टाको कलमी धर्म हो । बन्दुकको आवाज भन्दा कैयौं गुणा शक्तिशाली हुन्छ कलमको भाषा । खराब व्यवस्था र बेथिति विरुद्घको टड्कारो आवाज हो कलमको भाषा । विकृत समाजलाई शल्यक्रिया गरेर सुन्दर समाज निर्माण गर्नमा कलमको अग्रणी भूमिका रहन्छ । ठूलठूला आन्दोलन र क्रान्ति कलमले छेडेर आमूल परिवर्तन ल्याएको विश्वको इतिहास पाइन्छ । समग्र रूपमा आमूल परिवर्तनको संवाहक हो कलम । जसले अन्याय अत्याचार विरुद्घ आवाज बुलन्द गर्दछ । सोझासिधा, निमुखा, आवाज विहीन, उत्पीडित वर्ग, जाति, लिङ्ग र किनारीकृत समुदायको आवाज हो कलम । कवि खाम्धाकको कलम पनि तिनै वर्गहरूको आवाज लिएर ज्वालामुखी विस्फोटन गर्न पुग्छन् ।
मेरो कलम उत्पीडनबाट उठेको ज्वालामुखी हो
रापिलो र तेजिलो भएर निस्केको
मेरो कलम तुफानको तुफानी रफ्तारबाट
तरङ्गित भएर निस्केको कलम हो ।
(मेरो कलम, पृष्ठ– ९१)
मेरो कलम शीर्षकको कविता अध्ययन गर्दा कवि खाम्धाक माक्र्सवादी विचारधाराका प्रगतिशील तथा क्रान्तिकारी कविका रूपमा देखा पर्छन् । शोषित, पीडित वर्गको पक्षमा निर्धक्कसँग अन्याय र अत्याचार विरुद्ध कवि यसरी आफ्नो कलम उध्याउँछन् ।
यो मेरो कलम
त्यसैले तर्सेर मर्ने होइन मेरो कलम
त्यसैले डराएर लुसुक्क भाग्ने होइन मेरो कलम
तर युग–युग युगसम्म
अन्याय र अत्याचारको विरोधमा
बोल्ने बाँच्ने कलम हो मेरो
शोषण र उत्पीडनको विरुद्घमा
युद्घ गरेर मात्र मर्ने हो कलम
त्यसैले यो मेरो कलम व्यर्थको कलम होइन ।
(मेरो कलम, पृष्ठ– ९२)
कतिपय समुदायको सांस्कृतिक पक्षसँग जोडिए तापनि जाँडरक्सीको सही सदुपयोग नहुँदा यसले शारीरिक, मानसिक, आर्थिक र सामाजिक क्षय गरिरहेको हुन्छ । यसको असरले पुर्याएको विकृत सामाजिक यथार्थ प्रतिविम्बलाई विभत्स रसयुक्त ढंगले कविले चित्रण गरेका छन् ।
नाकभरि सिँगान बोकेर
क्षयरोगले खाएको मरन्च्याँसे भएको शरीरजस्तो
धमिराले खाएको मन
सोच्छ एकोहोरो सोचिरहन्छ
फुटेको यो मन ।
(फुटेको मन, पृष्ठ– ९५)
वर्तमान परिप्रेक्षका आदिवासीहरूको जीवन भोगाइ र अवस्था ठ्याक्कै यस्तै छ । आजका आदिवासीहरू साँच्चिकै आफ्नो परिचय र ठेगाना विहीन भइरहेका छन् । आदिवासीहरूको रैथाने संस्कृति, आदिम सभ्यता, मौलिक पहिचान र आफ्नो भूगोल गुमिरहेको छ अथवा यसो भनौं फिरन्ते शैलीमा आएका आप्रवासीहरूले क्रमश यहाँको रैथाने संस्कृति, आदिम सभ्यता, मौलिक पहिचान नामेट गर्दै लगे । सत्ताले आफ्नो भूगोल भित्र सुकुम्वासी बन्न बाध्य तुल्यायो । शासकले पहिचान विहीन र मानसिक दाश बनाएर आदिवासीहरूलाई आफूले आफैंलाई म को हुँ ? को बोध नराख्ने, पहिचान र ठेगाना विहीन अवस्थामा पुर्याइ दिएको दुर्दशा र अवस्थालाई कविले शब्दहरूको माध्यमद्वारा अति यथार्थपरक रूपले प्रस्तुत गरेका छन् । यस कविताका पंक्तिहरू नियाल्दै जाँदा कविलाई अति यथार्थवादी कविको रूपमा लिन सकिन्छ । यस कविता भित्र समग्रमा सबाल्टर्नहरूको कथा व्यथा बुनिएको पाइन्छ ।
ती बजारका मान्छेहरू कुकुर भन्दा पुराना होइनन्
ती त कताबाट घुम्दै–फिर्दै आएर
उम्रिएका झरी च्याउ हुन्
ती देशान्तरधिवासी हुन्
ती बोट विना अरूको बुइँ चढेर
बाँच्ने आकाशवेली हुन्
अरूको ढाडमा उम्रिएर
त्यही रूखलाई मार्ने बाउनीको रूख हुन्
त्यसैले त एक वंशिक कुकुर र उनीहरूको वंश मिल्दैन
सोच अनि बिचार मिल्दैन
पहिचान अनि इतिहास मिल्दैन
उत्पत्ति अनि मुन्धुम मिल्दैन ।
त्यो दोबाटोमा अल्मलिएको कुकुर
न त बजार नाघेर जान सक्छ
न त आफ्नो घर फर्कन सक्छ
मान्छेहरूले भुलाएकोले उसले आफू
हिँड्ने बाटो बिस्र्यो
उसको वंश के हो सन्तान को हो बिर्सियो
आफ्नो उत्पत्ति र ठेगाना बिर्सियो
त्यो ठेगाानविहीन कुकुरले
त्यो बाटो भुल्ने कुकुरले ।
(ठेगानाविहीन कुकुर, पृष्ठ– ९८–९९)
समाजमा नारीहरूले भोग्नु परेको पीडा, व्यथाहरू नै दिदीका आवाजहरू हुन् । ग्रामीण गाउँ बस्तीमा वर्षाद यामतिर झरीले भिजेको दौरा बाल्दा नबलेर अगेनोमा आमाहरूले सोतेले फुक्दा निस्किएको आवाज नै दिदीका आवाजहरू हुन् । जाँतो पिस्दा, ओखली कुट्दा र चुला चौकामा धन्दापात गर्दा निस्किएका दुःखान्त आवाज हुन् दिदीका आवाजहरू । चुरा, कल्ली, पालाम र सुसेलीका धुनहरू दिदीका सांस्कृतिक जीवन्त आवाजहरू हुन् । दिदी आम नारीहरूको प्रतिनिधि पात्र र विम्ब हुन् । पुरुष भएर पनि नारी संवेदनाका आवाजहरूलाई अत्यन्तै मर्मस्पर्शी ढंगले गुँजाउन सफल छन् कवि । दिदीका आवाजहरू कवितामा लैंगिक असमानताका स्वर घन्किएका छन् र चुनौती र विद्रोहको आवाज पनि वुलन्द भएको छ । यस दृष्टिकोणले कविलाई एक सचेत नारीवादी कविका रूपमा हेर्न सकिन्छ ।
विपनामा मात्र होइन सपनामा पनि
दिदी धताएर रुँदै–कराउँदै गरेको सुन्छु–
एउटै समाज र एउटै संस्कृतिको मान्छे
तर किन हो…….दिदीले गहनाको भारी बोक्नुपर्छ यहाँ
जाँतो र ओखलीको बन्डा लिनुपर्छ यहाँ
त्यो गहनामा अल्झेको आँसु
त्यो कल्लीमा अल्झिएको उसको खुट्टा
चुराले पक्रेको उसको हात
कसले देख्न सक्छ र यहाँ
जाँतो र ओखलीले थिचिएको उसको शरीर
कोक्रोको नाम्लोले टाक्सिएको उसको थाप्लो
कसले छाम्छ र यहाँ ?
यटुकीको डामले कसिएको उसको पेटारी
कसले अनुभव गर्न सक्छ र यहाँ ?
(दिदीका आवाजहरू, पृष्ठ– १००–१०१)
नारीलाई आधा आकाश र सृष्टिको मुहान भनिए तापनि लैंगिक विभेद र असमानता कायमै छ समाजमा । नारीहरू सामाजिक उत्पीडन र शोषणको जाँतो भित्र पिसिएकै हुन्छन् । यिनै उत्पीडित नारीहरूको आवाजलाई कविले कविताः नलेखेको मेरो कथाको कवितामार्फत बुलन्द गरेका छन् । दिदीका आवाजहरू र कविताः नलेखेको मेरो कथाको शीर्षक भित्रका कविताहरूले कविलाई सचेत नारीवादी कविका रूपमा आफूलाई उभ्याउन सफल भएका छन् ।
आजसम्म म घरभित्र
थुन्सेले अझै पनि छोपेको छ जस्तो लाग्छ
मजेत्रोले अझै पनि छोपेको जस्तो लाग्छ
करैमा ‘मुन्धुम’ आगोले डामेको झै
ओखलीमा मुस्लीले चिउरा चेप्टेकोे झै
कोदो जाँतोमा पिसे झै
धान ढिकीमा कुटे झै
घरको देवलभित्र
डढेको छु चेप्टेको छु
थिचिएको छु पिसिएको छु
धुवाँसो लागेको भार झै
आगोको राप माथि तुर्लङग
आजसम्म नभनेको मेरो कथा सोच्दै
मेरो कथाको कविता भन्दै
कल्पनामा रम्दै ।
(कविताः नलेखेको मेरो कथाको, पृष्ठ– १०४)
यतिबेला आयातित भनौं वैश्विक संस्कृति र सभ्यताले रैथाने जीवन शैलीमा परिवर्तन ल्याएको सत्यलाई नकार्न सकिँदैन । मौलिक पहिचान बिर्सिएको अवस्था छ । अरूको मात्र राम्रो देखेर नक्कल गर्ने, जति पनि आफूसँग भएको चिजलाई बेवास्ता गर्ने लहड चलिरहेको छ । एकातिर भने मौलिकताको नाममा अतिवाद र संकीर्णताको कारण कुनै आधुनिक विकासको सम्भावना नदेखेपछि कवि चिन्तित हुँदै मौलितालाई पनि संरक्षण गर्दै समय सापेक्षित संस्कृति र जीवनशैली अवलम्बन गर्दै वैश्विक चेतनाको क्षितिज उघार्दै जानुपर्नेमा जोड दिन्छन् । यथास्थितिवादी पुरातन शैलीलाई विनिर्माण गरेर नवीन चेत र तकनिकीद्वारा उत्तरआधुनिक शैलीको घर निर्माण गरेर मात्र त्यहाँ सबैजना अँटिएर रहन सकिन्छ भन्ने कविको कल्पना छ ।
अब त्यो घरको धुरीमा ठोकिने शरीर
त्यो निसासिएको ‘मताने’ घरले छोपिएको मनलाई
नयाँ संसारको नयाँ घर चाहियो
जुन घरको बनावटमा
विज्ञान र तकनिकी अरूको भए पनि
बनावट र कारिगरी आफ्नै होस्
ज्ञान र शिल्प अर्काको भए पनि
तत्वहरू आफ्नै होस् ।
(मेरो मरण पछिको घरः कल्पनामा आउने, पृष्ठ– १०८)
सत्ता शक्तिको उन्मादले मातिएपछि व्यक्ति मात्र नभएर शासक र सिङ्गो राष्ट्र पनि आडम्बरी र क्रुर बन्दै जान्छ । उसको हेपाहा प्रवृत्तिले सीमा पार गर्दै लान्छ । थिचोमिचो गर्दै अरूको अस्तित्व स्वीकार नगर्ने हुँदै जान्छ । दृष्टान्तको लागि शक्तिशाली राष्ट्र कहलिएको अमेरिकी साम्राज्यवादलाई लिन सकिन्छ । साँढे कविता उपर्युल्लिखित प्रवृत्तिहरूको विम्ब हो । जसले कुनै पनि कमजोर मुलुक माथि हैकम जमाइरहेको हुन्छ । यस्तो हेपाहा प्रवृत्ति र दादागिरी शैलीको कटाक्ष गर्दै जसको विरुद्घमा संसारका सबै मुलुकहरू एकजुट भएर उठ्नुपर्ने आह्वान गर्छन् साँढे कवितामार्फत कवि ।
आज म आह्वान गर्दछु–
त्यो साँढेलाई
फलामे र ताँबे साङ्लोले बाँधौं
अन्याय र अत्याचारको खूनले भरिएको
उसको सिङलाई भष्मीभूत पारौं
दमन र शोषणले थिच्ने उसको खुट्टालाई
काटेर चक्नाचुर पारौं र भोटे ताला ठोकौं ।
(साँढे, पृष्ठ– ११५)
अरू माथि उपनिवेश लाद्न र अरूको अस्तित्व कुल्चेर आफू मात्र अगाडि बढ्ने मान्छेहरूको चरित्र भएको छ । अरूको सामाजिक, आर्थिक, सांस्कृतिक तथा भूगोल अतिक्रमण गर्न तत्पर रहन्छन् आजका मान्छेहरू । अरूको बुई चढेर अरूमाथि नै वर्चस्व कायम गर्न खोज्छन् । विशेषगरी रैथाने जातिहरू आप्रवासीहरूको यस प्रकारको ज्यादतीको सिकार बनेका छन् र उनीहरू उठ्न नपाउनेगरी ओझेलमा परेका छन् । सधैंभरि थिचिएका र मिचिएका छन् । कविले पीपलको रूख कविता मार्फत यिनै विषयलाई विम्बात्मक तरिकाले समेटेका छन् ।
फेरि माटोलाई नफुटी पक्रिन्छु भनी
अरूको जमिन र सिमाना मिच्छ
म संसारको प्रथम रूख हो
संसार जतिको पुरानो छ
मेरो उत्पत्ति त्यतिकै पुरानो छ भनी मनले
आकाशमा आँखा हेरी दावी गर्छ
तर मान्छेको घरहरू सकी–नसकी पक्रेर च्यू–च्यू
हुँदै झुन्डेको हुन्छ
अरू रूखहरू छ्रयाप्पै पक्रेर उम्रिएको छ
ढुङ्गा, रूख र भीरहरूमा चमेरा जस्तो झुन्डेको छ ।
(पीपल रूख, पृष्ठ– ११९)
टुंग्याउनी
दिदीका आवाजहरू कविता सङ्ग्रह भित्र सङ्ग्रहित कविताहरू विम्बात्मक तथा प्रतीकात्मक छन् । सैद्घान्तिक दृष्टिकोणले हेर्दा कविताहरूमा अस्तित्ववाद, सामाजिक यथार्थवाद, नारीवाद, पहिचानवाद तथा प्रगतिशील माक्र्सवाद आदि पाइन्छ । मिथक र मुन्धुमी शब्दहरूको प्रयोग साथै सांस्कृतिक पक्षहरूको सवल उठानको दृष्टिकोणले हेर्दा कविलाई उत्तराधुनिक कविको रूपमा देख्न सकिन्छ । आफ्नो समुदायभित्रको मिथक र मुन्धुमी सौन्दर्यलाई सान्दर्भिक ढंगले बाहिर निकाल्न अथवा निर्यात गरेर आम पाठक सामु पुयाउन सक्ने खुबी नै कविको सवल र सकारात्मक पक्ष रहेको पाइन्छ ।