April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कवि विमल गुरुङ स्मृति पुस्तकालयको ३२औं राष्ट्रिय कविता महोत्सवमा विरही प्रथम

२०८० कार्तिक १९

3.8K

धरान । कवि विमल गुरुङको ५२औं जन्मजयन्तीको अवसरमा आयोजित “३२औं राष्ट्रिय कविता महोत्सव – २०८०” मा कवि भीम विरही राई प्रथम भएका छन् ।

उत्कृष्ट १० कविहरुका कविताहरु वाचन गरिएकोमा विरही प्रथम भएका हुन् । प्रतियोगितामा काठमाडौँकी एलिसा एकलास दोश्रो र सिक्किमकी सन्ध्या सिङ्जाङ्गो तेश्रो भएका छन् ।

कवि मुकुन्द प्रयास, कवि कविता राई गाउँले र पत्रकार/कवि प्रदीप मेन्याङ्बो निर्णायक रहेको प्रतियोगिताले उनीहरुलाई पुरस्कृत गरिएको हो ।

Advertisement

कार्यक्रममा कालिम्पोङ दार्जिलिङका विशाल नाल्बोलाई विमल गुरुङ युवा प्रतिभा पुरस्कार, र गोर्खाका कवि चन्द्र गुरुङ र मिरिक दार्जिलिङका विजय बान्तवा कैलाशीलाई विमल गुरुङ कृति पुरस्कार प्रदान गरिएको थियो ।

सम्मान पुरस्कार तथा कविता प्रतियोगितामा प्रमुख अतिथि वरिष्ठ कवि जसराज किराती विशिष्ट अतिथि वरिष्ठ कवि बम देवान र भाषाविद प्रा डा टंकप्रसाद न्यौपाने, प्राज्ञ शशि लुमुम्बु रहेका थिए ।

२०२८ साल कात्तिक १९ गते हङकङको किङ्पार्क अस्पतालमा जन्मिएका विमल गुरुङ सानैदेखि विलक्षण प्रतिभाका व्यक्ति थिए । १९ वर्षको उमेरमै प्रशस्त पुस्तकको अध्ययन गरेका उनले पत्रकारितासमेत गरेका थिए । अध्ययन र लेखनमा सक्रिय रहेका उनको २०४८ वैशाख २४ गते धादिङको जुकेपानीमा बस दुर्घटना हुँदा निधन भएको थियो । धेरै पाण्डुलिपि रहेको विमलको निधनपश्चात ‘कवि विमल गुरुङका केही कविताहरू (आगो बल्दैछ) २०४९, आत्मघोषणा (कवितासङ्ग्रह २०६५) र सहरको प्रगाढ मौनता (कविता सङ्ग्रहः २०८०) प्रकाशित छन् । ५२औं जन्मजयन्तिको अवसर पारेर शब्द–चित्रमा कवि विमल गुरुङ (स्मृतिग्रन्थ) पनि प्रकाशित भएको छ ।

कवि विमल गुरुङ स्मृति पुस्तकालय धरान उपमहानगरपालिका –१८ बुद्धचोक, सुनसरीमा रहेको छ । जसको अध्यक्ष पूर्णबहादुर गुरुङ हुन् । जो विमलका बुबा हुन् । विमलकी आमा सरस्वति गुरुङ दिवंगत भइसकेकी छिन् भने बहिनी शान्ति गुरुङ छिन् ।