काठमाडौँ । कृष्ण केदेमको जीवनअनुभूति सङ्ग्रह ‘एउटा गाउँले ठिटो’ सार्वजनिक भएको छ ।
सोमबार पुतलीसडकस्थीत ग्रीनलिफ रेष्टुरेन्टमा भाषा आयोगका सदस्य गोपाल अस्कले सार्वजनिक गरेका हुन् । सार्वजनिक गर्दै अष्कले साहित्यमा कथा लेखिने, कथामा सर्वनाम पात्र राखेर लेख्न सकिने र कथा काल्पनिक हुन्, कसैसँग मेल खाएमा संयोग मात्र हुनेछ भनेर उम्कन मिल्न सक्ने हुन्छ भने संस्मरण नितान्त आफ्नो कथा हुने बताएका थिए ।
साहित्यकार बालकृष्ण समले निबन्धको ‘नि’लाई लिएर यात्राको वर्णनलाई नियात्रा विधा बनाएको अष्कको भनाई थियो ।
संस्कृतिविद् डा. भक्त राईले साहित्य विधाको निबन्धभित्र संस्मरण, नियात्रा आदि पर्ने बताए । निबन्ध विधामा कलम चलाउनु साहित्यभित्रको शसक्त हस्ताक्षर हो, डा. राईको भनाई थियो ।
प्राज्ञ नन्दु उप्रेतीले पुस्तकले ताप्लेजुङदेखि विश्व घुमाएको बताएका थिए । सबै ठाउँ घुमेता पनि स्थानीय लवज आउन नसक्दा अलि खल्लो लागेको पनि बताए । आफू पनि लिम्बू समुदायसँग हुर्किएकोले लिम्बू रीति, संस्कृतिसँग परिचित भएको बताएका थिए ।
लेखक कृष्ण केदेमले जीवन भोगाईको क्रमलाई लेख्नुपर्छ भनेर लेखेको बताए । भोगाईमात्रै नभएर विदेशमा देखेको, सिकेको कुरालाई नेपालमा के कसरी लागू गर्न सकिन्छ भन्ने कुरालाई पनि पुस्तकमा उल्लेख गरेको बताए ।
गायक दीपक लिम्बू, संगीतकार बसन्त मुकारुङ, किरात याक्थुङ चुम्लुङ काठमाडौका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फे, साहित्यकार प्रेम रिबुसालसमेतको उपस्थिति रहेको कार्यक्रमलाई एलिसा ढुंगानाको सञ्चालन र प्राज्ञ शशि लुमूम्बुको सभापतित्वमा सम्पन्न भएको थियो ।