June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

स्वर्णिम साहित्य समाजको चौथो साधारणसभा सम्पन्न

1.7K

साहित्यको बिनियोजित बजेट आधा मात्रै पाए पनि हामी बराहक्षेत्रलाई अरु उचाइमा पुराउनेछौँ: दिप्साली

धरान । बराहक्षेत्रको साहित्यिक इतिहासमा छुट्टै नाम लेखाउन सफल स्वर्णिम साहित्य समाजको गरिमामय चौथो साधारणसभा गत शनिबार सम्पन्न भएको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर –३ को सभाहलमा सम्पन्न सो साधारणसभाको अवसरमा इतर अभियानका अगुवा कवि पराजित पोमुको एकल कविता वाचनको समेत आयोजना गरिएको थियो ।

त्यसअघि पहिलो सेसनमा कोषाध्यक्ष र अध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कोषाध्यक्ष शारदा निरौला ‘शारु’ले वर्ष भरिमा ९० हजारको हाराहारीमा आयव्यय भएको बताइन् ।

यस्तै, अध्यक्ष प्रकाश दिप्साली राईले वर्षभरिमा झण्डै ४/५ वटा साहित्यिक कार्यक्रमहरु सफलताका साथ आयोजना गरेको बताए । बराहक्षेत्रको सिर्जना र सम्पत्ति, नयाँ वर्षमा गीत सार्वजनिक तथा स्थानीय रचना वाचन, स्कुलमा कविता कार्यक्रम, स्वर्णिम साहित्य समाजको टिसर्ट सार्वजनिक तथा गजलकार रोमु अधिकारीको एकल गजल वाचन जस्ता महत्वपूर्ण कार्यक्रमहरुको आयोजना गर्न सफल भएको बताए । ‘हाम्रो निरन्तर साहित्य सेवाले आम शुभेच्छुक र शुभचिन्तकहरुको विश्वास जित्दैछौँ’, प्रतिवेदनको क्रममा दिप्सालीले बताए ।

Advertisement

सोही अवसरमा गजलकार तथा स्वर्णिम साहित्य समाजका कोषाध्यक्ष शारदा निरौला ‘सारु’लाई आफ्नो संस्थाको निम्ति विशेष उल्लेख्य योगदान दिएको भन्दै सम्मानसमेत गरिएको थियो । निरौलालाई कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र –३ का वडाअध्यक्ष राजदिप लामाले माल्यार्पण गर्दै सम्मान–पत्र र नगद ५ हजारसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य समाजका सस्थापक अध्यक्ष निरज राई, राजनीतिकर्मी केशव पुरी, बेलायतबाट आएका कवि अमित याक्थुङ्बा, शिक्षासेवी देबेन्द्र विष्ट र पुर्व वडाअध्यक्ष रुद्र दाहाल, प्रख्यात कवि चन्द्र गुरुङले राखेका थिए ।

सधारणसभाको अवसरमा पोमुका एकल कविता वाचन

स्वर्णिम साहित्य समाजले आफ्नो चौथो साधारणसभाको अवसरमा इतर अभियानका अगुवा कवि पराजित पोमुलाई एकल कविता वाचनका निम्ति मन्चमा उभ्याएको थियो । मन्चमा उनी, वक्ता देवान किराँती र सहायक कविहरु सविता फागो, नदी राई र वर्षा भण्डारीलाई आयोजकले माल्यार्पण गरेर मन्च हस्तान्तरण गरेका थिए । कवि माथिको सम्मान त्यतिमा मात्र रोकिएन । कवि पोमुलाई किरात याक्थुङ चुम्लुङ बराहक्षेत्र–३ का अध्यक्ष रविन्द्र केदेम र लिम्बु कल्याणकारी संस्थाका अध्यक्ष रामप्रसाद लिम्बुले संयुक्त रुपमा लिम्बु समुदायको सांस्कृतिक प्रतीक सिलाम साक्मा लगाएर कवि पोमुको माङ्गेना उठाएका थिए । हर्ष विभोर हुँदै मन्च सम्हालेका कवि पोमुले असहमतिबाट कविता वाचनको उठानी गरे ।
“थुप्रै असहमतीहरू छन् जिन्दगीसित
केहि सर्त–सम्झौता छन् बाँच्नुको लागिको– लागि ।

बगर–
किनारा–
बर्षाद छ,
को गाईरहेछ एकोहोरो
भाईलनमा जीवनको गीत?

अज्ञात–
जीवनले मृत्युगीत गाईरहेछ
बुझ्नु नसकेर आफैमा गल्ति गरे ।

बोटो–
पर्खाल–
सिगो ब्रमान्ड छ
मुटु पत्थर भएरको छ ।

अनावृतिकरणले क्षणिकरण गर्न नसक्ने
आईरन भट्टीहरूले पगाल्न नसक्ने
एउटा मन र मुटु छ–

थुप्रै असहमतीहरू छन् जिन्दगीसित
किनकी जिन्दगीलाई म प्रेम गर्छु ।”

उनका सहायक कविहरु वर्षा भण्डारीले ‘मौन प्रेम’ कवि नदी राईले ‘नायुमा’ र कवि सविता फागो चोङ्बाङले ‘धुवाँको आकृति’ वाचन गरे । झण्डै दर्जन बढी कविता सुनाएपछी कवि पोमुले ‘मद्वारा मेरो निर्माण’ शीर्षकको कविताले बिट मार्दै आयोजकलाई मंच हस्तान्तरण गरे ।
“चेतना– बञ्जरताले ढाकेको छ
मानव –सम्पूर्णता खोज्छ

युगले थिचेर
इतिहासले छोपिएर
समयले चेप्टाएर
सभ्यताले कोचेर
आफ्नै मष्तिस्कको गुलामीले
थिचिएको छु, पुरिएको छु आफैभित्र ।

हिउँदको बादल भएको छु
अनादि समयको राजदूत भएको छु

साँघुरो, चेप्टो, विभाजित
शास फेर्न, पैतला राख्नै गाह्रो आकाशलाई
मुश्लीले हिर्काएर
दुम्सीका काँडले छेडेर
भगाउनु छ, मा..थि माथिसम्म
विशाल र स्वतन्त्र बनाउनु छ

साँघुरा छन् हिँड्ने बाटा उसै
वासाङ भिरेर
तीन तियाली सात बाचा कसेर
झर्के थालले चिर्नु छ, सम्याउनु छ अवरोधहरू

दलदल र भास छन अगि–पछि
पाइला–पाइला बिच्छाएर अम्लिसोका पत्ता
लाखौँ माइल पदचाप बढाउनु छ

समयलाई विघटन गरेर
युगिन बोधसित समान्जश्यता गरी
स्वयम् आफैले
आफूद्वारा आफ्नै निर्माण गर्नु छ

समयको दशगजाबाट
अर्ध कदमा उभिएको आफ्नै आकृतिलाई
सग्लो निर्माण गर्नु छ

मद्वारा मेरो निर्माण गर्नु छ ।”

वक्ता देवान किरातीले पराजित पोमुको कविता माथि बोल्दै यतिबेला कवितामाथि बोल्नु एकदमै कठिन रहेको बताउदै पोमुको कविताहरु एउटा साहस र आँट भएको बताए । केही रिदम र सुर ताल खड्केको महसुस हुने बताए । ‘तर, यो मेरो पराजित पोमुको कवितामाथिको बिल्कुल मेरो व्यक्तिगत धारणा हो । कविताप्रतिको धारणा आ–आफ्नै हुन्छ । त्यही भएर कविताप्रतिको मेरो दृष्टिकोण यस्तो हुन्छ’, उनले भने । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बराहक्षेत्र –३ का वडाअध्यक्ष राजदिप लामाले स्वर्णिम साहित्य समाज बराहक्षेत्रको नामलाई देशव्यापी रुपमा स्थापित गराउन लागिपरेको बताउदै स्वर्णिम साहित्य समाज बराहक्षेत्रको सम्पति रहेको बताए । उनले थपे, ‘स्वर्णिम साहित्य समाजको निम्ति यस वडाले पनि केही प्रतिबद्धताहरु जाहेर गरेको छ । त्यो हामी चाडै पूरा गर्ने विश्वास दिलाउछौँ ।’

यस्तै कार्यक्रमका सभाध्यक्ष प्रकाश दिप्साली राईले कार्यक्रम समापनको क्रममा यसपटकदेखि बराहक्षेत्र नगरपालिकाका केही वडाहरुले साहित्यको शीर्षक तोकेरै बजेट बिनियोजन गर्ने संस्कार बढेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘यसरी बजेट साहित्यको नाम तोकेरै बिनियोजन हुनु राम्रो हो तर पछि हामीले पाउने बजेट भनेको चै १ लाखको मरेर १०÷१५ हजार हो । मेरो अनुरोध छ जति साहित्यको बजेट बिनियोजन भएको छ त्यसको आधा मात्रै बजेट हामीलाई उपलब्ध गराइदिनुभयो भने बराहक्षेत्रको थप उचाइमा पुराउने छौँ । तर यो बारेमा जनप्रतिनिधिहरुले चासो नदिनुभएको हो कि भन्ने गुनासो लाग्छ हामीलाई ।’

कार्यक्रमलाई समाजका सचिव लक्ष्मण कटुवालले सन्चालन गरेका थिए भने उपस्थित सिर्जनशील मनहरुलाई कवि छबिना लुङ्गेली मगरले स्वागत गर्दै स्वागत मन्तव्य राखेका थिए ।