अरुको मृत्युमा
कसरी हर्ष मनाउन सक्छन् धर्मका ठेकेदारहरू ?
कसरी काखी पड्काउन सक्छन्
आत्मामा धर्म भएको असल मान्छे ?
सायद कार्ल माक्र्सले ठिक भने– ‘धर्म अफीम हो ।’
यो दुनियाँमा कोही खुशी हुन्छ भनेर
कोहि मरिने होईन
न कोही यहाँ दुखि हुन्छ भन्दै मरिने हो ।
मर्नु त अधर्मी मात्रै मर्ने होइन
तिमी म सबैलाई मर्नु छ
धर्मात्मा नमर्ने पनि त होईन
विद्वान, बैज्ञानिक, धनवान सुन्दर पुरुष स्त्री
सबै मर्नु छ ।
देखिएकै हो यहाँ
मन्दिर जाँदै गर्दा दशा भोग्नेहरू
धामको बाटोमा पहिरोमा पर्नेहरू
ब्रतपुजा गर्नेहरू
एकाबिहानै उपासना गर्नेहरूले
मृत्युको साक्षत्कारमा
इहलिला समाप्त भएको ।
ए, धर्मको नाममा अधर्म ओकल्नेहरू !
कस्तो अमिल्दो धर्म हो यो ?
कसैको मरणमा रमाउँदै
मृतात्माको अपमान गर्न सिकाउने
मानवता भुल्न सिकाउने
पशुको नाममा हिंसा फैलाउने
मान्छे–मान्छेमा फुट गराउने
मान्छे–मान्छेमा उचँनीच सिकाउँने
तिम्रो कस्तो धर्म यो ?
यदी यो धर्मले
मानव मृत्युको सम्मान गर्दैन भने
आफूबाहेक अन्यको अस्तित्व स्विकार्दैन भने
मान्छेको मृत्युमा यसैगरी दुत्कार्ने शिक्षा दिन्छ भने
मानव अहित गर्ने
यो अफीमलाई नास्नुको विकल्प छैन
धर्म र अधर्मको द्वन्द्वमा
मानव धर्म रोज्नुको
विकल्प छैन ।