October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

स्व.भरत तुङघङ स्मृतिग्रन्थ र उहाँसँगको मेरो आफ्नै स्मृति

देवेन्द्र सुर्केली
२०८० भाद्र २

2K

भैरवले एकदिन भन्यो– “हाओ, एकजना दाईसँग धनकुटा गाको, जेको पनि पाःलाम गाइदिने हौ । लु बाटोको पाःलाम भनुम् त भन्छु, बाटैको, ढुङ्गाको भनुम् त भन्छु ढुङ्गैको ।”

भैरवको सुनाउने शैली गज्जबकै छ । कुरा सकिएपछि हाँस्छ कि त कुराको बिचमै पनि हाँस्छ । लिम्बूहरूले लामो समयसम्म धान नाच्दा प्रत्येक हरफको रचना गर्नुपर्ने हुन्छ । ति रचनाहरू साइनो, भावना, मायाप्रेमदेखि लिएर समाज, परिवेश, भुगोलसम्मका हुन्छन् । पाःलाम सुनिरहेको भएकोले भैरवको कुरालाई त्यतिधेरै चासो दिइनँ ।

धरान बस्दा अर्जुन मावुहाङ दाई मलाई विशेष लाग्थ्यो । जोकोहीलाई पटक्कै भाउ नदिने अर्जुन दाईसँगको सामिप्यता पाउँदा म पनि केही विशेष हुँ कि भन्ने लाग्थ्यो, भित्रभित्रै गर्वित हुन्थेँ ।

Advertisement

एकदिन अर्जुन दाई रमाइलो चोक मेरो कोठामा आउँदा मोटोमोटो दाईलाई पनि लिएर आए । तङसिङ पत्रिकाको कभर मेरो कोठामा थियो । त्यो देखाउन ल्याएका थिए । मोटे दाई त्यतिधेरै बोलेनन् । गम्भिर र भलाद्मीपन लाग्यो ।

“हाउ सुर्केली ! उहाँ भरत तुङघङ, मुन्धुमविद् है ।” अर्जुन दाई यसरी चिनाएका थिए । भैरवले भनेको पाःलाम गाउने दाई उहाँ नै हुनुहँदो रहेछ भन्ने अड्कल काटेँ ।

एकदिन एउटा हुलमा उनै भरत दाईले तुक्का मिलाई मिलाई हुललाई हसाइरहेका थिए । रमाइलो चोकमा गम्भिर देखिएका भरतसँग यस्तो क्षमता रहेछ भन्ने सोँच्दै मैले पनि गफ सुन्न र हाँस्न साथ दिएँ ।

मेरो आफ्नै बानीका कारण पनि भरत दाईसँग घुलमिल हुन पाएन । तर भैरव आङ्ला, प्रेम खजुम, स्व. विचारी चाम्लिङमार्फत भरत तुङ्घङबारे थाहा पाएँ । मेरो एकजना भाउजु खानेपानी संस्थानमा कार्यरत हुनुहुन्छ । उहाँसँगको कुराकानीमा भन्नुभयो –‘भाईहरूको लाइन एकै, भरत तुङ्घङ दाई हामी एकै अफिसमा काम गर्छौ नि !’ त्यसपछि भरत दाईको जागिरबारे पनि थाहा भयो ।

काठमाडौँ बस्न थालेपछि धरान आउँदा अनिवार्य भेट्नेमा भैरव पर्छ । एकपटकको धरान यात्रामा भैरवलाई फोन गरेर धरान छु भन्नसाथ तुरुन्त शान्तिपथ आउ भन्यो । म दौडेर पुगेँ । भरत तुङ्घङ दाई, कमल तिगेला दाई र भैरव रहेछन् । उहाँहरू तीनजनाको संयुक्त प्रयासमा ‘गोर्खा–लिम्बुवान युद्ध’ पुस्तकको प्रकाशन हुन लागेको रहेछ । त्यति नै बेला अर्जुन मावुहाङ दाईले पनि उही पुस्तक निकाल्दै रहेछन् । दुवै पुस्तकका साझा सहलेखक चाही भरत तुङ्घङ नै रहेछन् । यसो हुनको खास कारण चाही हड्सन पेपरलाई राम्ररी पढ्न र बुझ्न सक्ने भरत तुङघङ भएकोले रहेछ ।

पुस्तकमा आइएसबीएन नम्बर राख्नुपर्ने रहेछ र भैरवले मलाई तुरुन्त बोलाएको रहेछ । मैले तुरुन्त कीर्तिपूरमा रहेका भाई अवोध अविरललाई कल गरेर आइएसबीएन नम्बर लिन लगाएँ । नम्बर टिपाएँ, तर उक्त नम्बर लिँदा लागेको शुःल्क मैले लेखकहरूलाई पनि माग्न बिर्सिएँ, अवोध भाईलाई दिन पनि बिर्सिएँ । पछि सम्झिएँ, समय घर्किसकेको थियो ।

त्यहिबेला पहिलोपटक भरत दाईको घरमा पुगेको हुँ । घरको झ्यालढोका कलात्मक थिए । सबै पहाडबाट ल्याएको भनेर सुनाएका थिए । लिम्बूजातिको इतिहास, किपट, हातहतियार, वंशावली, सुभाङ्गीबारे सटिक किस्साहरू ल्याउथेँ । कुनै एक थरको कुरा आयो, भरत दाईले मलाई सोधे –भाई के थरी ?

मैले भनेँ –खापुङ ।

‘ए ।’ अनि उहाँले केही थर उत्पत्तिको कथा सुनाउनुभयो र भन्नुभयो, –‘यी सांगोपांगो इतिहासहरू ल्याइए सम्बन्धित थरहरूले मार्छन् पो त ।’

“कस्को इतिहास कति गहिरो छ भन्ने कुरा माटो खनेर थाहा हुन्छ ।” उहाँको यो भनाई मैले नबिर्सिएको शब्दमध्ये हुन् ।

काठमाडौँको एक सामाजिक भेलामा आफन्त नेताले भनेरे –“भरत, तिमेरु त हिजोअस्ती पो आएको रे त ।”

त्यसपछि भरत दाईमा कामज्वरो छुटेछ । र, भन्नुभयो रे –“नउक्काउनु कुरा उक्काइहाल्नुभयो, अब पूरा सुनेर मात्र उठ्न पाइन्छ नत्र राम्रो हुँदैन ।”

“जमिन आधाफिट खन्दा चकलेटको खोल भेटियो भने त्यस जमिनको मालिकको इतिहास चकलेट निर्माण भएयता मानिन्छ । अर्थात बसाई आउने र सर्ने । अलि तल खन्दा प्वालो स्वालो भेटिन्छ । उनीहरू पनि कुनैबेला त्यस जमिनका शासक थिए, हराए । एकमान्छे खन्दा खाम्बोङ्बा सा लुङबोङबासाको अस्तित्व भेटिन्छ । मुन्धुम भेटिन्छ । जो हामीसँग छ भने कसरी हिजोअस्तीको भइयो ?”

भरत दाईको यस प्रश्नको उत्तर ति नेतासँग थिएन रे ।

लिम्बू पत्रकार संघको प्रथम महाअधिवेशन धरानमा सम्पन्न भयो । उद्घाटनको दिन आउनुभएको थियो । कार्यक्रममा भन्दा पनि उहाँ बाहिरका रहलपहललाई ज्ञान बाड्नमा व्यस्त हुनुहुन्थ्यो । उहाँको कुरा चाख मानेर सुन्ने नै भए ।

म उहाँको छेउमै बसिरहेका थिएँ । उहाँले चुम्लुङ भवन तिर औंला सोझ्याउँदै भने –‘यो चुम्लुङ भवन छ नि भाई ।’

‘हजुर’ मैले भने ।

‘बनाउन थाल्दा मलाई पनि केही रकम दिएर नाम लेखाउ भन्ने लागेको थियो ।’ उहाँले भन्नुभयो ।

‘लेखाउन दिएनन् ?’ मेरो प्रश्न थियो ।

‘सहयोग उठाउन आए, मैले कति दिनु हौं भनेर प्रश्न त गर्नुपर्यो । अनि सहयोग माग्न आउनुहुनेले भने –तपाई नेपालको कर्मचारी हो, दुईचार हजार दिए पुग्छ नि, हामी बुझ्छौं, तपाई लाहुरे होइन । भने पति म त खङ्ग्रङ्गै भएँ । एक लाखसम्म दिने सोच थिएँ, केही हजारमा झारिदिए ।’

भरत दाईको भनाईपश्चात लाग्यो कि, कसैमाथि निर्णयार्थ बोलिहाल्नु अक्षम्य भूल हुनेरहेछ ।

‘खापुङहरूको केही कुरा छ है मसँग ।’ कुराको शिलशिलामा भन्नुभएको थियो । त्यही आधारमा मैले मेरो वंश संस्थामा फुर्ती लडाएको पनि थिएँ ।

तर २०७४ साल मंसिर ११ गतेको दिन प्रेम खजुमले कल गरे भरत दाई नरहेको खबर सुनाए । मैले तत्कालै भैरवलाई कल गरेँ ।

‘म क्याम्पमा छु ।’ छोटो बोलेर फोन राखिहाले । त्यसले खबर साँचो रहेको पुष्टि भयो । मेरा फुर्ती पनि सँगसँगै गए । सबैभन्दा क्षति त उहाँजस्तो ज्ञानको भण्डारलाई गुमाउनुमा थियो । फेसबुकमा यिनै गन्थनसहित श्रद्धाञ्जली दिनबाहेक अन्य उपाय पनि थिएन ।

करिब ५ वर्षपछि हितराम तिल्लिङको फेसबुक वालमा टाँसिएको एक फोटो देखेँ । फोटोमा थियो, स्व. भरत तुङ्घङ स्मृति ग्रन्थ ।

हिड्नेबेला या हिड्ने अगाडि फोन नगर्ने मेरो बानीका कारण भानुचोकमा बैरङ्गझैँ भेटिएनन् हितराम भाई । एकदुईपटकको फोन कुरकानीमा उक्त पुस्तक मैले चाहिरहेको बताएको थिएँ । भाईले पनि दाईलाई जसरी उपलब्ध गराउँछु भनेका थिए ।

केही हप्ताको प्रयासपछि शान्तिपथस्थीत होटल मुक्कुमलुङमा हितराम भाईले पुस्तक उपलब्ध गराए ।

पुस्तक पढेपछि उहाँका फेहरिस्त कुराहरू थाहा पाएँ । उहाँको वंशावली नै थाहा भयो । प्रा.डा. तथा प्रदेश नं. १ का पूर्व प्रदेश प्रमुख गोविन्द तुम्बाहाङबाट भरतको सांगोपांगो जीवनी नै थाहा भयो । मदन पुरस्कार विजेता तथा पूर्व सिडिओसाव भगिराज इङनाबाट धनकुटाका नगरानिशान, इतिहास, पुराना हातहतियारबारे यथेष्ठ जानकारी पाइयो । सहप्रा.डा. मोहन तुम्बाहाङबाट भरतको सहयोगी भावना, दुरदृष्टिबारे थाहा पाइयो । साथै मोहनले दुःख गरेर संकलन गरेको वंशावली चेवन तुम्बाहाङले आफ्नै नाममा प्रकाशन गरेको दुखेसो पनि बुझियो । सबैले तुम्बाहाङ थर लेखिरहेको बेला भरतले ऐतिसिकता तुङघङ नै रहेको जिकिर गर्दै लेखिरहेको कुरा जान्न पाइयो । डा. कमल तिगेलाले पाँच वर्षसम्म संगत गर्दा बुझेका भरतबारे समिक्षा गरेका छन् ।

नरप्रसाद लिम्बू, उत्तम लिङ्थेप, कमल मादेन, आइत खजु, विश्वासदिप तिगेला, भैरव आङ्ला, हितराम तिल्लिङ, गोर्खामेजर हप्तमान पारघरी खजुम र भरतकी अर्धाङ्गिनी शशी चेम्जोङले सम्झनाहरूले भरतका आनीबानीदेखि जीवनका आयाम, बौद्धिकताबारे प्रशस्त छलफल गरिइएका छन् । दुःखगरी स्कुल पढेर उच्च शिक्षा लिई केही वर्ष शिक्षक बनेका त्यसपछि खानेपानी संस्थानमा जागिरे जीवनमा पसेका आरोहअवरोहहरू यस ग्रन्थमा समेटिएका छन् ।

यसै स्मृतिग्रन्थबाट बुझिन्छ कि उहाँ चेप्जु फौदसिं जङ्गबहादुर राणाका सेनामा थिए । जङ्गबहादुरलाई बाघले आक्रमण गर्दा उनै फौदसिंले बन्दुकको कुन्दाले हानी धपाउन सफल भए । खुशी भएर जङ्गबहादुरले तत्काल लप्टन पदवीले विभुषित गरिएको रहेछ ।

भरतले कुनै पनि ऐतिहासिक तथ्य लिन, स्याहामोहोर, लालमोहर, कास्य, रुक्का आदि कागज लिन वर्षौ मेहनत गरेका छन् । मालअड्डाबाट इतिहास झिकेका छन् । आचार्य, रिजाल, ढुंगेल, अधिकारी आदिका वंशावलीबारे पितृ बुझाउथे ।

स्मृतिग्रन्थ पढिरहँदा यहिकुरामा मलाई खड्की रह्यो कि, ति आचार्य, रिजाल, ढुंगेल, अधिकारीका कोही न कोही व्यक्ति थिए होलान्, उनीहरूको मुखारविन्दबाट स्मृतिगान गाउन लगाइएको भए अझै पुस्तक खँदिलो बन्थ्यो कि ? अझ त्यति लामो संगत गरेका इतिहासकार तथा वर्तमान लालीगुराँसका मेयर अर्जुनबाबु मावुहाङ संस्मरण किन आएन र नगरपालिकाको तर्फबाट दिइएको दुई शब्द शुभकामनामा मात्रै सिमित पारियो ? यसतर्फ सम्पादक र प्रकाशक मण्डल निकै नै चुकेको पाएँ ।

हुन त प्रा.डा. गोविन्द तुम्बाहाङ, सहप्रा.डा.मोहन तुम्बाहाङ र डा.कमल तिगेलाको लेखले सग्लो पारिवारिक चित्रण गरेको पाइन्छ । तर पुस्तकमा रहेको भरतसँग रहेको पुराना कागजात, हातहतियारको तस्बिरमात्र नभएर परिवार चिनाउने, काष्ठकलासँग नजिक रहेका कारण उनले बनाएका काष्ठकलाबारे वर्णन, तस्बिर पनि भएको भए स्मृतिग्रन्थ स्मृतिमय बन्थ्यो । उहाँले दुई विवाह गर्नुभयो । उहाँहरू एकै दुर्घटनामा परेर निधन भएका थिए । निधन भएका श्रीमती सरिता सुहाङका बारेमा पनि यस स्मृतिग्रन्थमा स्मृति नै गरिएन । यो पनि दुःखलाग्दो पक्ष रहेको छ ।

यद्यपि यतिसम्म आउनु स्व.भरत तुङ्घङ सदैव नबिर्सनु नै हो । ग्रन्थले उहाँमाथिका सबै कुरा बोलिदिएर जिवित तुल्याउन सफल भएको छ भन्ने बुझेको छु ।