September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

गाउँदेखि संसार बुझेका लाहुरेको पुस्तक

जय मादेम्बा
२०८० असार १८

1.9K

ब्रिटिस सैनिकको जागिरबाट अवकासप्राप्त भएपश्चात् इङल्याण्न्ड बर्मिङ्हाममा बस्दै आउनुभएका याक्थुङ समुदायका एक होनहार तुम्याहाङ् तथा कृतिकार टंक वनेम आम्भुले हालसालै निकाल्नुभएको ‘पुस्तक सुदुर विस्मृतिका बिम्बहरू’ पढ्ने अवसर मिल्यो । पुस्तक उपलब्ध गराउनुभएकोमा श्रष्टा वनेम आम्भुलाई लुङ्मेन्दिङ नोगेन साथै सेवारो ।

यो मेरो दुई शब्द उहाँको यस कृतिको समिक्षा नभएर मलाई लागेको दुई शब्द कोरेको मात्र हुँ । उहाँले यस पुस्तकमा अत्यन्तै मार्मिक र प्रिय सम्झनाहरू गाउँदेखि सहर र मातृभूमिदेखि कर्मभूमिसम्मका समाज, प्रकृति, संस्कृति, राजनीति, विकास र आर्थिक बारेमा गहिरिएर विश्लेषण गरेर समाधानको सुत्रसमेत राख्नुभएको छ । पुस्तकअनुसार लेखक प्रकृतिप्रति एकदमै झुकाव सम्मान र त्यससम्बन्धि ज्ञान प्राप्तजस्ता देखिन्छन् । लेखकले आफ्नो गाउँमा पाउने जुकाले शरीरलाई काम नलाग्ने अशुद्ध रगत मात्र खाने र जुकाले हाम्रो रगत खाएता पनि त्यो हानिकारक नभएर फाईदजनक भएको बताउनुभएको छ । याक्थुङ लाजे लिम्बुवानमा रहेका प्रायःजसो वनस्पति खोलानालाको नाम याक्थुङ पान (लिम्बू भाषा)मा लेख्नुभएको छ । त्यस्तै हजारौं जडिबुटीको नाम र व्यापारको सम्भावनाका बारेमा, लामा तथा झाँक्रीहरूले असिना रोक्नसक्ने आध्यात्मिक ज्ञान, फेदाङ्मा, साम्बा, सिदासाम्बाहरूको आध्यात्मिक ज्ञान तथा प्राकृतिक औषधी ज्ञानबारे छोटकरीमा दर्शाउनुभएको छ ।

पुस्तकमा वि.सं. १८२७ साल श्रावण संक्रान्तिको दिन गोर्खाले अरूण तरी चैनपुर आएको र १९९० सालसम्म लिम्बुवानमा घटेका मुख्य–मुख्य घटनाहरू (नलेखिएको इतिहास) क्रमैसँग राख्नुभएको छ । मानव समुदायको लागि वनजङ्गलको के कस्तो महत्त्व छ ? स्थानीयले बुझेको ज्ञानबारेमा बताउनुभएको छ। याक्थुङ समुदायमा चौतारा बनाउने प्रथालाई मुन्धुममा कसरी वर्णन गरिएको छ, भन्ने कुरा छोटकरीमा लेखिएको छ।

Advertisement

बालापनमा ‘केरकेरे माङ्नेने’ किरा समाई उटपट्ट्याङ गरेको रमाईलो स्मरण पस्कनु पस्कनुभएको छ। ‘निङ्वासो हाम्लक्वा’ अर्थात याक्थुङ समुदायमा मरिमराउ भई शोकमा परी रुने सिमेरिङ मुन्धुमको उदाहरणसहित राख्नुभएको छ । उक्त सिमेरिङ मुन्धुम नेपालीमा मात्र छ याक्थुङ पा:नमा पनि राखेको भए अझै राम्रो हुने थियो ।

विश्वमै कस्ताकस्ता खतरा मोलेर विद्यार्थीहरू स्कुल जान्छन् भनि ‘द मस्ट डेन्जरस वेज् टु स्कुल’ शिर्षकमा लेख्नुभएको छ। हिन्दूज्मले याक्थुङ लाजे लिम्बुवानलाई पारेको प्रभाव बारे बिस्तृत रूपमै वर्णन गर्नुभएको छ।

सेल्लोक्वा र भाइ घामको प्रेमकथा बारेमा लेख्नुभएको छ, जुन मुन्धुममा पनि वर्णित छ । काफल चरी र सेमेक्वाले बाउ र छोरी गुमाएका कथा, सृष्टिकालको पहिलो सभा मुन्धुम अनुसार र बाजेबजुको अर्ति उपदेश बारेमा छोटकरीमा राख्नुभएको छ ।

पहाडमा कृषि, फलफुल र जडिबुटीको खेती, लाईभस्टक याक चौरी गाईभैसी पालनको राम्रो सम्भावना र कस्तुरीको विन्दा, भालुको पित्तजस्ता अवैध व्यापारको बारेमा वर्णन गर्नुभएको छ ।

सोनाक्वा चरा र याक्थुङ मुन्धुमको सम्बन्ध बारेमा छोटो चर्चा र स्याउथान घाटको राँके भुतबारे लेख्नुभएको छ । आमाले सुनाउनु भएको ‘साम्माङ काप्मुमा’को कथा अनि कसरी किपटिया सुब्बाहरू तिरो तिर्न नसकेर मुङ्ग्लान पस्न बाध्य बनाइए भनेर दर्शाउनुभएको छ । मेलाबजारको फौदारी र फौदारी र रणनीति चाखलाग्दो तरिकाले राख्नुभएको छ ।

राणाकालमा ताप्लेजुङको चाँगे गाउँका याक्थुङ सहिद बाजाहाङ आङ्बुहाङ्लाई वि.सं. १९५२ सालमा किपट अधिकारमाथिको हनन स्वीकार नगर्दा ताप्लेजुङ फुङ्लिङमा धनकुटाको जनरल बमबिक्रम राणाको आदेशमा झुन्ड्याई फाँसी दिएको बारेमा राणाहरूले फाँसी दिनको कारण खुलाउनु भएता पनि सोही एरियाका अर्का याक्थुङ सहिद श्यामलाल आङबुहाङको बारेमा केही खुलाउनुभएको छैन ।

ब्रायन हुटन हज्सनको संकलन र जार काट्न पाउने कानून १९१० को मुलुकी ऐनबारे र भरुवा बन्दुकको याक्थुङ संस्कारको महत्त्व विस्तृत रूपमा राख्नुभएको छ ।

मनुवादी आर्य समुदायमा दाइजो प्रथाको नकारात्मक असर, शुद्र र महिलाले वेद पढ्न नहुने, जनजाती/मुलबासीले अधिकार खोजे जातीय द्वन्द्व निम्त्याउने, ब्राम्हण विज्ञानविरुद्ध, विभिन्न लेखकहरूले लेखेका मनुवादविरुद्धको लेख, मनुवादका कारण घटेका घटनाहरूको बारेमा लेख्नुभएको छ ।

डायरीमा लेखेका प्रेमका कथा, बुबाले संकलन गर्नुभएका लेख र एकबिटे, दुईबिटे सिक्का, उहाँ ईन्स्ट्रक्टर (Sect Comd) रहदाँ लेखकका विद्यार्थीहरूलाई (Trainees) कविता लेख्ने सजाय दिनुभएछ । यही खण्डबाट उहाँ कति महान र दीर्घ सोच भएको व्यक्ति भन्ने बुझिन्छ ।

तीनजुरे मिल्के जलजले (टिएमजे)मा २८ प्रजातिका गुराँस छन् । जुन एकै ठाउँमा सबैभन्दा धेरै गुराँस पाइने ठाउँ हो । संसारमा १०५० प्रजातीमध्ये भारतमा ७३ र चीनमा ६०० प्रजातिका गुराँस पाईने सन्दर्भ छोटकरीमा राख्नुभएको छ ।

पुस्तान्तरण र पुराना सम्झना पल्टन घरमा हिन्दु धर्म लादिएको र आरएसएम (रेजिमेन्टल सर्जन्ट मेजर) सँग कृतिकारको व्यक्तिगत मतभेद र लडाइको कुरा कृतिमा उल्लेख छन् । यहीँ आरएमएसले यस पंक्तिकारलाई पनि युकेको चर्चक्रुखाम ब्यारेकमा रुखमा चढेर रुखलाई हल्लाई सबै पात झारेर सफा बनाउने सजाय दिएका थिए । ‘सेक्सन कमान्डर ब्याटल कोर्स’को लागि ब्रुनाईबाट यो क्याम्पमा पुग्दा यो सजाय मिलेको थियो ।

गोरा श्रेष्ठताको अहम, ‘जेनोसाइड इन अस्ट्रेलिया’ ओरिजनललाई मारेको र नेटिभ अमेरिकनलाई मार्न कानून नै बनाई वर्षेनी बजेट छुट्याएको, अफ्रीकन कालालाई दास बनाई बस्तु भाउजस्तै बेचबिखन गरेको बारेमा पुस्तकमा लेखिएका छन् ।

कृतिकारको साहित्य र मुन्धुमप्रति आकर्षण, मोहन इजमको प्रभाव, भाषाको महत्व, भाषा मरे इतिहास साथै जाती मर्ने कुरा पुस्तकका मनन् गर्नुपर्ने विषयहरू हुन् । अन्त्यमा नेपालको नेताहरू र भ्रष्टाचारको बारेमा राख्दै स्मरण कृतिलाई समापन गर्नुभएको छ ।

उनको यो कृतिमा लिम्बूसँग संम्बन्धित लेखहरूमा याक्थुङ/याक्थुङ्बा लेख्नुभएको छ । सर्सर्ती हेर्दा यस पंक्तिकारले ४४ स्थानमा याक्थुङ/याक्थुङ्बा लेखिएको पाइयो । याक्थुङ शब्दलाई स्थापित गर्न यो कृतिले ठूलो योग्दान पुर्याएको महसुस भएको छ । कृतिकार ज्यूलाई लुङ्मेन्दिङ नोगेन भन्न चाहन्छु ।

मेरो लागि यो पुस्तक एक्दमै अध्ययन गर्न लायक र ज्ञानमूलक रहेको पनि सम्पूर्ण पाठक वर्गमा जानकारी गराउदछु।