November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

विमल गुरुङ कृति पुरस्कार नरेश काङमाङको ‘तेप्लायु’ लाई

5.9K

काठमाडौं । ‘कवि विमल गुरुङ कृति पुरस्कार’ कवि काङमाङ नरेश राईको कवितासंग्रह ‘तेप्लायु’ लाई प्रदान गरिने भएको छ । धरानस्थित कवि विमल गुरुङ पुस्तकालय सञ्चालक समितिको बिहीबार बसेको बैठकले कवितासंग्रह ‘तेप्लायु’ लाई कवि विमल कृति पुरस्कार दिने निर्णय गरेको हो ।

पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार विमल कृति पुरस्कार ०७८ का लागि आह्वान गर्दा स्वदेश र विदेशमा रहेका नेपालीभाषी लेखक कवि साहित्यकारहरूले विभिन्न विद्याका ४२ थान पुस्तक दर्ता गरेकोमध्ये तेप्लायुलाई श्रेष्ठ ठहर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको हो । पुरस्कार राशि २ लाख ५१ रुपैयाँ र ताम्रपत्र रहेको छ ।

पुरस्कारका लागि पुस्तकालयमा दर्ता भएकामध्ये श्रेष्ठ १० पुस्तकको सूची सार्वजनिक गरिएको थियो । अन्तिम १० को सूचीमा काङमाङ नरेश राईको कवितासंग्रह ‘तेप्लायु’, सहित प्रणय शंकरको कवितासंग्रह ‘कांसभांडा’, कविता राईको उपन्यास ‘गुरु’, निर्मल तामाङको कवितासंग्रह ‘जव हावा चल्छ’, दिलिप बान्तवाको कथासंग्रह ‘ताल्चा’, सुनिता राई कन्दङ्वाको कथासंग्रह ‘तिउरी’, विशाल विश्वकर्माको उपन्यास ‘दार्जीलिङ भर्सेस दार्जीलिङ’, बसन्त बस्नेतको उपन्यास ‘महाभारा’, दीपा मेवाहाङ राईको कवितासंग्रह ‘यादको सन्दुक’ र अर्जुनबाबु माबुहाङ र अमित थेवे मिहाङको इतिहास पुस्तक ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंहका लेखोट’ परेका थिए ।

Advertisement

सिफारिस समितिले श्रेष्ठ १० कृति पनि आफ्नो ठाउँमा अब्बल रहे पनि कवि काङ्माङ नरेश राईले ७० को दशकदेखि ‘युद्ध साहित्य सिद्धान्त र सिर्जना’ मार्फत नेपाली साहित्य जगतका लागि नवीनतम कविताकृति ‘तेप्लायु’ युद्ध साहित्यको सिद्धान्तभित्र रहेर निर्माण गरिएको कृति भएकाले पुरस्कार दिन योग्य ठहर गर्दै सिफारिस गरेको अध्यक्ष गुरुङले बताए ।

पुरस्कार कात्तिक १९ गते आयोजना हुने ३१ औ राष्ट्रिय कविता महोत्सव तथा विमल गुरुङको ५१ औं जन्म जयन्तीको अवसरमा प्रदान गरिने छ ।