काठमाडौं । कवि विमल गुरुङको ५१ औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने ३१ औँ राष्ट्रिय कविता महोत्सव–२०७९ का लागि कविता आह्वान गरिएको छ । कार्तिक १९ गतेका दिन आयोजना हुने महोत्वसवमा २ लाखको विमल गुरुङ कृती पुरस्कार पनि एक पुस्तकलाई प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार कविता विद्युतीय, छापा तथा कुनै माध्यममा प्रकाशित नभएको, दुई सय शब्दसम्मको आफ्नो मौलिक कविता हुनुपर्ने जानकारी दिएको छ । कविता प्रीति फन्टमा कम्प्युटर टाइप गरी कार्तिक ७ गतेभित्र पुग्ने गरी सम्बन्धित ठेगानामा पठाउनुपर्ने पनि आयोजकले जनाएको छ ।
कविताको प्रथम पुरस्कार रु. २१ हजार, द्वितीय पुरस्कार रु. १७ हजार, तृतीय पुरस्कार रु. ११ हजार रहेको छ भने सान्तवना रु. १० हजार हरेको छ ।
कविता पूर्णबहादुर गुरुङ (अध्यक्ष) मोबाइल नम्बर ९८४२२५९८२५ अथवा फोन नम्बर ०२५–५२८०९६ विमल गुरुङ स्मृति पुस्तकालय धरान १८, बुद्धचोक, सुनसरी, नेपालमा सम्पर्क गरी पठाउन सकिने छ भने इमेल पनि गर्न सकिने छ ।
०२८ साल कात्तिक १९ गते जन्मेका विमलको ०४८ वैशाख २४ गते सडक दुर्घटनामा परी निधन भएको थियो । एक्लो कवि, पत्रकार छोराको निधनपछि पूर्व व्रिटिश गोर्खा सैनिक बाबु पूर्णबहादुर, आमा सरस्वती र बहिनी शान्तिले धरान–१८ बुद्धचोकमा कवि विमल गुरुङ स्मृति पुस्तकालय स्थापना गरेर बर्सेनि राष्ट्रिय युवा कविता महोत्सव आयोजना गर्दै आएका छन् ।
पुस्तकालयले यसै वर्षदेखि नेपाली भाषामा नेपालीसहित जुनसुकै मुलुकका नागरिकले सबैखाले विधामा लेखिएकामध्ये एक उत्कृष्ट पुस्तकलाई ‘कवि विमल गुरुङ कृति पुरस्कार’ दिने निर्णय गरेको छ ।
‘कवि विमल गुरुङ कृति पुरस्कार’ समितिमा संरक्षक गुरुङसहित प्राज्ञ शशी लुमुम्बु, सञ्चारकर्मीसमेत रहेका कवि कथाकार प्रदीप मेन्याङ्बो, लेखक राजकुमार दिक्पाल, डम्बरकृष्ण श्रेष्ठ, जसकुमार राई रहेका छन् ।