April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

‘बाँच्दाको जन्ती र मर्दाको मलामी’का अभियन्ता समथिङको निधन

1.9K

पाँचथर । जिल्लाका अग्रणी सामाजिक अभियन्ता, लेखक एवं पत्रकार रामप्रकाश समथिङको निधन भएको छ । शरीरमा अक्सिजनको कमी, रगतमा प्लेटलेस तथा रक्तचाप कमी लगायत समस्या भोगिरहेका उनको उपचारका क्रममा विहीबार साँझ झापाको विर्तामोडिस्थित बिएण्डसी अस्पतालमा निधन भएको परिवारजनले जनाएका छन् ।

उनको शरिरमा अक्सिजनको कमीसँगै रगतमा प्लेटलेस र रक्तचाप कमी देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएको परिवारजनले वताएका छन् । २०२६ साल माघ २९ गते पाँचथरको फिदिम १२ साविक नांगीनमा जन्मिएका उनले पत्रकारिता र गैरसरकारी संस्थामार्फत सामाजिक क्षेत्रमा क्रियाशील भएका थिए ।

वास्तविक नाम रामबहादुर गुरुङ रहेका उनको रामप्रकाश समथिङ नामले परिचित थिए । पाँचथरमा रहेर ५५ वटा कृति प्रकाशन गरेका समथिङ लेखन क्षेत्रमा कलम निरन्तर चलाउनले गर्थे ।

Advertisement

विशेषत उनले तथ्याङ्कीय विषयहरुको सङ्ग्रह, रसरङ्गका विषयलाई समेटिएका उपन्यास, कथा सङ्ग्रह लगायत कृति प्रकाशन गर्दै आएका थिए । जिल्लासँग सम्बन्धित धेरै विषयमा उनले कृति प्रकाशन गरेका थिए । उनी सुनेसम्म र भ्याएसम्म मलामी जाने अभियन्ता थिए । ‘बाँच्दाको जन्ती र मर्दाको मलामी अभियानका अभियन्ता समथिङ जन्ती जान निम्तो हुन्छ तर मलामी जान निम्तो हुँदैन ।’ भन्ने अभियानसहित उनी मलामी जाने गरेका थिए ।

हुकोडेक नेपालमार्फत मानवअधिकारको क्षेत्रमा क्रियाशील भएका समथिङले समथिङ फाउण्डेसन नामको संस्था आफ्नै संरक्षकत्वमा स्थापना गरी विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका थिए । घरबारविहीन मजदूरहरुको उपचारमा सहयोग, विपन्न परिवारहरुको जिविकोपार्जनमा सहयोग, दृष्टिविहनी विद्यार्थीको पठनपाठनमा सहयोग, लोक बाजा संरक्षण अभियान जस्ता कार्यमा उनको नेतृत्वदायी भूमिका रहँदै आएको थियो । समथिङको निधनपछि जिल्लावासीले एक मुर्धन्य समाजसेवी एवं लेखकलाई गुमाएको प्रतिक्रिया दिएका छन् । उनी सरकारको सिफारिसमा गत वैशाक १ गते जनसेवाश्री पदकबाट विभूषित भएका थिए । उनका श्रीमती र दुई जना छोराहरु छन् ।