काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्दाका विचारहरुको सङ्गालो ‘नयाँ युगको पदचाप’ नाम अनुसार कै सार्थक पुस्तक रहेको समीक्षक तथा लेखकहरुबाट प्रतिक्रिया आएको छ ।
जनसाँस्कृतिक महासङ्घ नेपाल र पुस्तक प्रकाशक प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा आज काठमाडौँमा लेखक तथा समालोचकहरुबीच भएको ‘नयाँ युगको पदचाप ः पुस्तक परिचर्चा’का क्रममा उनिहरुले नाम अनुसारका सामग्रीहरु किताबमा समेटेको उल्लेख गरेका थिए ।
जनसाँस्कृतिक महासङ्घ नेपालका अध्यक्ष मात्रिका पोखरेलले मान्छे अहिले मुलुकमा बनावटी कामलाई प्रचार गरिरहेको सन्दर्भमा तत्कालिन समयमा भएका यथार्थ कुरा जनतासामु पुग्न नसकेको पुस्तकमा समावेश आलेखहरुले स्पष्ट पारेको बताए ।
उनले उपलब्धिलाई संस्थागत गर्न नसकिएको जिकिरसहित पुस्तकको नाम जस्तै सामग्रीहरु पुस्तकमा समेटिएको पनि बताए । विशेष गरी अध्यक्ष प्रचण्ड दुईपटक प्रधानमन्त्री हुँदा बोलेका विचारहरुको सङ्गालोका रुपमा किताब आएको र त्यसले समग्र आन्दोलन र त्यसले ल्याएको उपलब्धि बोलेको उनको भनाइ थियो ।
पुस्तकमाथि विचार राख्दै समालोचक तेजविलास अधिकारीले महत्वपूर्ण आधार स्थापना गरेर उपलब्धिलाई सैद्धान्तिक र कार्यनीतिगत कोणबाट अगाडि बढाउने व्यक्ति अध्यक्ष प्रचण्ड हो भन्ने कुरा ६० वटा लेखले स्पष्ट पारेको बताए ।
उनका अनुसार पुस्तकमा प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदाका १५ र दोस्रो सरकारको नेतृत्व गर्दा सम्बोधन गरिएका भाषणका ४६ आलेख समावेश छन् । उहाँले त्यसमा १० वर्षे जनयुद्ध, त्यसपछिका सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र, समावेशिकरणका लागि भएको अन्तरसङ्घर्ष र उपलब्धिलाई पुस्तकमा समावेश गरिएको सुनाए ।
“आन्तरिक र बाह्य शक्तिबीचको खिचातानीले समीकरण अदलबदल हुने स्थिति आयो, त्यो कुरा यहाँ पाइन्छ”, उनले थपे, त्यसका अलावा हलिया प्रथा हटाउनेदेखि कृषि, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालय खोल्ने, सातै प्रदेशमा कृषि क्याम्पस खुलाउने, राजस्व वृद्धि र कृषि विकासमा गरिएका प्रयत्न के–के रहे भन्ने कुरा स्पष्ट पाइन्छ ।”
पुस्तकमा सीमित उपलब्धिहरु बुँदागत रुपमै समावेश गरिएको छ । आज मुलुकमा जे काम भइरहेको छ, चर्चा भइरहेको छ, त्यो कुरालाई यो पुस्तकमा राम्रोसँग उल्लेख गरिएको छ । उनले पहिले नै स्थापित गरिसकेको र आज हामीले एजेण्डा खोजिरहँदा ती एजेण्डा त्यहीँ रहेको पनि बताए ।
“पुस्तक केवलमा भाषणको लेख मात्रै छैन, इतिहासलाई हेरेर वर्तमानलाई कसरी सुधार गर्ने भन्ने विषय पनि मजाले पाउन सकिन्छ” समालोचक अधिकारीले थपे ।
अर्का समालोचक प्रा.डा. धनप्रसाद सुवेदीले पुस्तकलाई भाषणको सङ्ग्रहको रुमपा मात्रै लिनु गलत हुने भनाइ राखे । उनले पुस्तकमा जनयुद्ध, शान्ति प्रक्रिया, संविधान निर्माण र त्यसक्रममा देखा परेका जटिलता एवं अन्तरसङ्घर्ष पाउन सकिने बताए ।
सुवेदीका अनुसार शुरुको ‘फेज’मा अध्यक्ष प्रचण्डका तीव्र आवेगसहितको अभिव्यक्ति मिसिएको देखिन्छ भने त्यसपछि अगाडि बढ्न खोज्दा देशीविदेशी शक्तिबाट यथास्थितिमा रोक्ने प्रयत्न भएको आलेखबाट थाहा हुन्छ । पुस्तकमा समाजवादका भ्रुणहरु यथेष्ट रहेका पनि उनले औँल्याए ।
सुवेदीले भने, “शिक्षा, स्वास्थ्य, महिला, आदिवासी जनतजाति, पिछडिएका वर्ग, समुदायका बारेमा माओवादीको धारणा प्रचण्डमार्फत् पुस्तकाकारको रुपमा आएको छ, इतिहास, समाजवाद, र साहित्य पनि सँगसँगै मिसिएर आएको छ ।”
पुस्तक ५०० वर्ष पछाडिका पाठकले पढ्यो भने जनयुद्धदेखिका राजनीतिक आन्दोलनका प्रतिविम्ब पाउन सकिने खालको भएकाले एउटा इतिहास बोकेको उनको विष्लेषण छ । “नयाँ युगको पदचाप पढिरहँदा भन्न सजिलो छ, गर्न गाह्रो छ भन्ने कुरालाई स्थापित गरिदिएको छ, प्रचण्डले केही गरेन भन्ने छ, त्यसकुरालाई पुष्टि गर्ने प्रयास पुस्तकमा गरिएको छ र उहाँले पनि अनूभूत गर्नुभएको छ, उहाँले अगाडि थप्दै भन्नुभयो, केही गरेन भन्नेहरुले चाहिँ के गरे त ?”
उनका अनुसार पुस्तकमार्फत् भविष्यको चित्रण ठ्याक्कै नआए पनि अग्रगामी दूरदृष्टि देखाउन खोजेकाले नाम सार्थक रहेको छ ।
पत्रकार तथा समीक्षक भवानी बरालले पत्रकारका लागि किताव सूचनाको श्रोत नै भएको र भित्रका एउटा एउटा विषय खोजेर गहिरो आलेख बनाउन सकिने उल्लेख गरे । कृतिका आएका विषय प्रचण्डले बोलेको कुरा होइन, त्यतिबेलाको सरकारको भनाइ हो भन्दै बरालले समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्र, लोकतन्त्रको संस्थागत गर्ने सन्दर्भमा उनको प्रयास झल्किएको छ ।
उनले अहिले ३३ प्रतिशत महिला सहभागिता भइरहेका बेला पुस्तकमा नै ४० प्रतिशत महिला सहभागिताको कुरा उठाइएको छ । पुस्तकमा उठान भएको आदिवासी, जनजाति तथा अन्य वर्ग, समुदायको प्रतिनिधित्वको कुरालाई अहिले पनि पत्रकारले जुनसुकै तरिकाले पनि उठान गर्नसक्ने बताए ।
प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जुगल’ले यसलाई पुस्तकाकारको रुपमा ल्याउने क्रममा संयोगवश आफू पनि सचिवालयमा रहेको स्मरण गर्दैै विहङ्गम ढङ्गले शुरुवात नगरिए पनि पछि एउटा दस्तावेजकै रुपमा आएकोमा खुसी व्यक्त गरे । “मुलुकमा ठुला ठुला परिवर्तन भए, कुनै दस्तावेज नै छैन, उपलब्धि छैन भनेजस्तै भयो त्यसैले एउटा प्रयास गरिएको हो”, सापकोटाले भन्नुभयो, “त्यसलाई संस्थागत गर्ने काम भएको छ ।”
एउटा पुस्तक ‘गणतन्त्रको दशक’ संसदमा बोलेका विचारहरुको सङ्गालोका रुपमा आएको र नयाँ युगको पदचाप भने सरकारमा सहभागी हुँदा बोलेका विचारहरु समेटिएको जानकारी गराउँदै उनले अझै धेरै कुराहरु छुटेको हुँदा यस्तै परिचर्चाबाट पुस्तकलाई थप समृद्ध पार्दै लैजाने बताए ।
उनले सामग्री सङ्कलनका क्रममा संसदलगायत सरकारी निकायमा कडा चुनौती झेल्नुपरेको सन्दर्भ जोड्दै अध्यक्ष प्रचण्डले बोलेका कतिपय विचारको अभिलेखहरु नै संरक्षण नगरिएकाले सामग्री सङ्कलनमा पनि कष्ट झेल्नुपरेको सुनाए । उनका अनुसार कतिपय दस्तावेज नै नामेट बनाएको छ । भाषणका क्रममा पनि अध्यक्ष प्रचण्ड आफै टिपोट गरेर लैजाने गरेको जानकारी गराउँदै उनले पुस्तकका धेरै आलेख पनि उनी आफैले सङ्कलन गरेको बताए ।