१. ‘म’
झिसमिसेको
भालेको डाक हुँ म
भुँईमा उज्यालो नखस्दै
घरभित्रको कसिंगारको दुश्मन– कुचो हुँ म
बिहानीपखको
एक कप मीठो चिया हुँ म
सुर्योदयसँगै
पोषणयुक्त खाजा हुँ म
अफिस/स्कुल समयको
भित्ते घडीको टिकटिक आवाज हुँ
मधुमेह रोगी
बाबाको दबाई हुँ म
प्यारलाइसिसग्रस्त
आमाको लौरो हुँ म
जवानीमा प्रवेश गर्दै गरेको नन्दको
आत्मीय साथी हुँ म
घरभित्र
सबैको ममतामयी आमा हुँ म
छरछिमेक, नातागोताको आँखामा
असल र कुसल बुहारी हुँ म
घरको ढिकुटीको
सह हुँ म
घरको ढोकाको
चाबी हुँ म
घरको
इज्जत हुँ म
करेसाबारीको
सोभा हुँ म
आँगनको
सिमाना हुँ म
परिवारको
मुटु हुँ म
तर
सबै सबै भएर पनि
मेरो लागि चाहिँ
के हुँ म ?
२. ‘प्रतीक्षा’
गाउँमा एकदिन
घरको आगन हुँदै एउटा अजंगको मेसिन आयो
मुन्धुम फलाक्दै
एक्लै ताण्डप नाच्यो
निमेषभरमै आँगनका गारो, कान्ला, भित्ता
साथै आँगनबाट सुरु हुने बाटोको नक्सा सबै बिगारेर गयो
जिन्दगीका एक–एक पानामा जिन्दगी लेखिए पनि
जिन्दगीका एक पन्ना पढ्न नभ्याएका आपाले
घरको आगनको वरिपरिको ढुङ्गाको गारो भत्किदा
भोगाईका प्रत्येक साक्षी भुइँभरी पोखिएको देख्यो
आपाले अझैं छिचोल्न बाँकी थियो ढुङ्गाको अक्षर…
एकदिन अरू बाँच्न बाध्य बनाउने बाटो
जुन बाटो परदेशिएका छोरासम्म पुगेर टुङिन्छ
त्यही बाटो भत्किएको देखेर
फर्केर आउने छोराको प्रतीक्षामा निर्निमेष हेराई भताभुङ्ग भो
आपाको आँखा अगाडि दिउँसै रात प¥यो
कान्लामा उभिएको टाँकीको रूख
टाँकीको फूलमाथी नाचिहिँड्ने जुरेली पनि बेखबर छ आज
भित्तामा अडेसिएर बसेको भुमे ढुङ्गा
ढुङ्गामाथी आफ्नै नाम काड्दै कराउने काग पनि मौन छ आज
खोल्साको डिलमा बाँसझ्याङ्ग
बासँझ्याङ्गको टुप्पोमा लिंगेपिङ्ग खेल्दै हल्ला गरिबस्ने
रूपीको हुल पनि बेपत्ता छ आज
गाउँ रुँगेर बस्ने
माथ्लाघरे कान्छाको मन मात्र फुरुङ्ग छ यतिबेला
सिकुवामै बसेर भाषण छाट्दैछ कान्छा–
“भत्किनु भनेको बिग्रिनु कदापी होइन, भत्किनु भनेको नयाँ बनिनु हो”
गाउँमा एकदिन
आपालाई खोज्दै एम्बुलेन्स आयो
सँगै एउटा रातो बाकस पनि
अनपेक्षित एम्बुलेन्स र बाकस
हिँडेर गएको छोरा त्यही बाटो हिँडेरै आइपुग्नेछ भन्ने
आपाको प्रतीक्षा समाप्त भयो ।
कविता राई गाउँले, भक्तपुर