April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

समाज परिवर्तनको बाधक जात व्यवस्था हो: आहुति

2.8K

काठमाडौ । लेखक तथा राजनितिक विश्लेषक आहुतिले हाम्रो समाज परिवर्तनको बाधक जात व्यवस्था भएको बताएका छन् । राजधानीमा आयोजित डा नवराज लम्सालद्वारा लिखित महाकाव्य ‘अग्नि’ लोकार्पण समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

पुस्तकमाथि टिप्पणी गर्दै आहुतिले नेपाली समाजमा रहेको विकृति, विसङ्गति र जात व्यवस्था परिवर्तनका लागि ’अग्नि’ महाकाव्य एउटा बहस गर्ने मोड हुने बताए । उनले भने, “दलित समुदाय नेपाली इतिहासको प्रथम प्राविधिक वा वैज्ञानिक रहे पनि जात व्यवस्थाले त्यसको सही मूल्याङ्कन भएको छैन । त्यसका लागि जात प्रथाको नै उन्मूलन हुनुपर्छ ।”

साहित्यकार तथा रेडियोकर्मी डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’ राजधानीमा आयोजित एक कार्यक्रममा राजनीतिक विश्लेषक एवम् लेखक आहुति, साहित्यकारद्वय डा. रामप्रसाद ज्ञवाली र डा. गीता त्रिपाठीसँगै डा. लम्सालकी ६ वर्षीया नातिनी आयराले संयुक्त रुपमा सो पुस्तकको लोकार्पण गरिएको हो ।

Advertisement

अर्का वक्ता साहित्यकार डा. रामप्रसाद ज्ञवालीले ५० को दशकयता नेपाली साहित्यमा लेखिएका दर्जनौँ महाकाव्यका बीचमा ’अग्नि’को विषयवस्तु परिवर्तन उन्मुख समाजको पात्र र चरित्र भएकोले सबैले पढ्नुपर्ने र समाज परिवर्तनका लागि एउटा मानक कृति हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी साहित्यकार डा. गीता त्रिपाठीले अग्नि महाकाव्यमार्फत नेपाली समाजको चरित्र, उत्पीडन र विभेदको कथा मौलिक ढङ्गले प्रस्तुत गरेकाले महाकाव्य जगतमा यसको स्थान विशिष्ट हुने भन्दै लेखकको शैली–शिल्पको प्रशंसा गरिन् ।

रेडियोकर्म र साहित्य सृजनामा लागेका डा. नवराज लम्सालका यस अघि २ वटा महाकाव्य, ३ वटा कविता सङ्ग्रह र २ वटा गीत सङ्ग्रह प्रकाशित छन् । विशेषगरी जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई महाकाव्यमार्फत उजागर गर्ने कोसिस गरिएको ‘अग्नि’ महाकाव्यलाई बुकहिलले बजारमा ल्याएको हो ।