मनोज पण्डित नेपाली चलचित्र उद्योगमा परिचित नाम हो । उनी फरक विषयवस्तुमा फिल्म बनाउन रुचाउने निर्देशक हुन् । उनले आफूले बनाएका चलचित्रमा निर्देशन सहित कथा, पटकथा र संवाद पनि लेख्छ्न् । राजनीतिक विषयवस्तुमा बनाइएको दासढुङ्गा र वधशाला उनको उच्चस्तरीय फिल्म हुन् भने यसका अलावा उनले लक्ष्य,छाया,खाग ए एक जस्ता चलचित्र बनाएका छन् । संवेदनशील विषयमा बनेको ‘ग्रेटर नेपाल’ वृत्तचित्र पनि उनको उल्लेखनीय काम हो । उनै फिल्मकार मनोज अहिले प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवार भएर काभ्रेपलान्चोकको क्षेत्र नं २ बाट उठेका छन् । उनीसँग यहि चुनावी माहोलमा रहेर उनका विचारहरू खोतल्न गफगाफ गरेका छौँ ।
फिल्म बनाउने मान्छे देश बनाउन आएछ भनेर भन्छन्, के फिल्म बनाउनु पनि देश बनाउने एउटा प्रक्रिया हो ?
फिल्म बनाउनु र देश बनाउनु फरक कुरा हुन् । देश अहिलेको अवस्थामा नागरिकको हैसियतले यति धेरै समस्याग्रस्त भइसक्यो कि अब कथा मात्र भनेर पुग्दैन । अब देशको कथा बनाउने समय आएको छ । सिनेमा भित्रको कथामा समस्या हुन्छ, नायकले संघर्ष गर्छ भनेर एउटा परिकल्पनाको संसार बनाउने हो । अहिले हामी समस्याग्रस्त भएको कारण ससानो भूमिका भएपनि निभाउन पर्ने अवस्था छ । यो आवश्यकताले निर्धारण गरेको हो, रहरले होइन । रहर त सिनेमा बनाउने प्रक्रियामै रोमाञ्चकता हुन्छ । देश बनाउने चुनौती छ । यहि चुनौतीको कारणले देश बनाउने प्रक्रियामा आएको हुँ ।
गोकुल बास्कोटाको प्रतिष्पर्धिको रुपमा चुनावी मैदानमा उत्रनु भएको छ । गोकुल बास्कोटाको ‘७० करोड’ अडियो टेप सार्वजनिक भएपनि कार्वाही भने भएन । उनै बास्कोटाविरुद्ध उम्मेदवारी दिनुभएको छ, यहाँको यो लडाइँ कत्तिको अप्ठ्यारो देख्नुभएको छ ?
यो देशमा शक्तिशाली मान्छेहरूलाई कार्वाही हुँदैन । उनीहरूसँग सबै स्रोत र साधन भएकाले शक्तिलाई आफ्नो मुठ्ठीमा राखिरहे । यो संरचना भित्र, यो दलीय जञ्जालमा कुनै पनि काम गर्न अत्यन्तै चुनौतीपूर्ण छ तर प्रयत्न गर्नु छ । त्यो ट्र्यापलाई भत्काउन जरुरी छ । दलीय व्यवस्था लोकतन्त्रको सौन्दर्य भएपनि यहि संरचना दलका प्रतिनिधिहरूको नियत सत्तामा मात्र केन्द्रित भएपछि हानिकारक पनि बन्दै गएको छ । अहिले हामी दलीय दलदलमा यसरी फसिसकेका छौँ कि त्यसबाट बाहिर आउन समग्र सिङ्गो समाजले पहल गर्नुपर्ने देखिन्छ ।
यहाँले चुनावको मिति घोषणा हुने बित्तिकै उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो । यो ५–६ महिनामा आफ्नो क्षेत्रलाई ग्राउन्डमा पुगेर कत्तिको अध्यन गर्नुभयो ? र, तपाईंकोको क्षेत्रको आवश्यकता के हो ?
सिमित स्रोत र साधनका वाबजुद पनि म काभ्रेपलान्चोकको धेरै ठाउँमा पुगेँ । काभ्रेपलान्चोक मात्र होइन सिङ्गो देश जञ्जालमा फसेको छ । यो ट्र्यापबाट मुक्त हुनु मुख्य आवश्यकता हो । यो ट्र्यापले के गर्छ भने सिमित समूहलाई शक्ति प्रदान गर्छ । सम्पूर्ण स्रोत साधनमा उनीहरूको मात्र हालीमुहाली चल्छ । त्यसैको आधारमा टेकेर भ्रष्टाचार र अराजकता फैलाउँछन् । यसको परिणाम स्वरुप राज्यको स्रोतसाधन, नीति–नियम, सेवा–सुविधा आम मान्छेको पहुँचमा पुग्दैनन् । कम्तिमा लोकतन्त्रले हाम्रो राज्यलाई यहाँसम्म ल्याएको छ, यसको प्रभावकारीतालाई सन्तुलन गर्दै अगाडि बढिदिएको भए सामान्य मान्छेले पनि त्यसको लाभ लिन सक्थे । सन्तुलन नभएका कारण यहि दलीय संरचनाले भताभुङ्ग भएकाले मूख्य आवश्यकता चाहिँ त्यसबाट मुक्त हुनु हो ।
आम मान्छेले सहि समयमा आफ्नो आवश्यकताको संवोधन भएको महसुस गर्न पाएको छैन । अहिले सहज ढंगले बाँच्नका लागि अत्यन्तै शक्तिशाली हुनुपर्ने, शक्तिशाली समुहको आश्रय लिनुपर्ने, स्रोत साधन धेरै हुनुपर्ने छ । राज्यको छाहारी आम मान्छेले पाउनु पर्ने हो, अभिभावकत्व पाउनु पर्ने हो तर समान्य मान्छेले त्यो पाउन सकेका छैनन् । त्यहीँ नै मुख्य आवश्यकता हो ।
यदि तपाईंले जित्नुभएमा आफ्नो क्षेत्रको लागि आफूले गर्ने कामहरु बुँदागत रुपमा भन्नुपर्दा ?
-राज्यको प्रभावकारीता आममान्छेसम्म पु¥याउने ।
-ठेक्कापट्टाद्वारा गरिने लुटतन्त्रलाई रोक्ने ।
-आइटी पार्कलाई फिर्ता ल्याउने ।
-ऐतिहासिक ठाउँ बनेपा सातगाउँलाई पुनर्स्थापना गर्ने ।
-कोशीपारीलाई धुलिखेलसँग नजिकको दुरीद्वारा जोड्न पहल गर्ने ।
एउटा वेबसिरिज थियो ‘पञ्चायत’, त्यसमा चुनाव प्रचारप्रसार गर्न महायज्ञलाई रोजिन्छ । यहाँले पनि अहिले यहि गर्दै हुनुहुन्छ, यसको आवश्यकता किन ?
महायज्ञ चुनाव प्रचारप्रसारको लागि होइन । मेरो बुवाले आफ्नै पहलमा सद्गावको लागि गर्नुभएको हो । बुवाको विश्वास अनुसार यस्तो बेला प्रकृतिले पनि भूमिका खेल्नुपर्छ भन्ने मान्यताको साथ आयोजना गरिएको हो । यसलाई चुनाव प्रचारप्रसारसँग नजोडिकन् मानव कल्याण र देशको भ्रष्टाचार विरोधी अभियानसँग जोडेर सामुहिक हितका लागि गरिएको हो ।
अझैंपनि गोकुलहरू उम्मेदवार बनिरहेका छन्, यसमा तपाइँको भनाइ के छ ?
यो समाज पार्टीको कार्यकर्ताको मुठ्ठीमा छ । सञ्जाल छ । उनीहरू माथी लगानी हुन्छ । लुट मचाउन गोकुल जस्ता मान्छेलाई जिताउन आवश्यक छ । तर, अहिले गोकुलहरू सम्मानका साथ हिँडिरहेका छैनन् । आममान्छेले सम्मान गर्दैन पार्टीका मान्छेले बोकेर हिँडिरहेका मात्र हुन् । खुल्लमखुल्ला आम मान्छेसँग साक्षात्कार गर्न सक्ने अवस्था छैन् ।
स्थानीय तहमा स्वतन्त्रबाट निर्वाचित भएकाहरुको प्रभाव राम्रै छ । प्रतिनिधि सभामा भने स्वतन्त्र मान्छे एक्लै गएर के गर्छ भन्ने प्रश्नहरू उठ्ने गर्छन्, यसमा तपाईंको भनाइ के छ ?
हो, अहिले स्वतन्त्र उम्मेदवारले एक्लै गरेर के हुन्छ भन्ने प्रश्न छ । स्वतन्त्र मात्र होइन इमानदार मान्छे संसदमा पुग्यो भने के हुन्छ भन्ने मुख्य कुरा हो । स्वतन्त्र भनेको लोभ लालचभन्दा माथी उठेर आएकाले यसको प्रभाव सकारात्मक हुनसक्छ । देशैभरबाट स्वतन्त्र उम्मेदवार आए भने त नेपालको संसद सुधारको मार्गमा हिँड्ने छ । म स्वतन्त्र उम्मेदवारको आँखाबाट मात्र हेर्दिन इमानदार मान्छेको आँखाबाट पनि हेर्छु ।
भोट त पैसाले किन्ने हो भन्दा रहेछन् नि ?
मान्छेको गुनासो यहि छ । तपाईं सामान्य स्कुटरमा आउनुहुन्छ, तपाईंसँग केही छैन । मतदातालाई केही दिनुहुन्न । जाँडरक्सी खुवाउनुहुन्न । अन्य पार्टी लाखौं खर्च गरेर स्वयंसेवक लिएर हिँडिरहेका छन् । म यो कुरासँग सहमत छु । अब नेपाली जनताले सुकुटी र क्वार्टरमा भोट बेँच्ने छैनन् । भोट सहि व्यक्तिलेलाई दिने प्रयत्न हुन थालेको छ । त्यही भएर मैले गीत लेखे, ‘साग बेचौँ, स्याउ बेचौँ, सुन्तला बेचौँ– भोट नबेचौँ’ भनेर । गाउँगाउँमा यसपाली हामी जसले जे दिन आएपनि नलिने भनेका छन् । त्यही अनुरूप भयो भने त काभ्रेपलान्चोक बदलिन समय लाग्दैन । यद्यपि संका गर्ने ठाउँ छन् । चुनौती छ ।
जनतालाई आफ्नो अमूल्य मतदानलाई कसरी सदुपयोग गर्न आव्हान गर्नुहुन्छ ?
वास्तवमा देश जुन अवस्थामा पुगेको छ, यसको जिम्मेवार हामी सबै हौँ । नेतृत्वमा जाने, जान खोज्ने राजनीतिज्ञ, मत हाल्ने मतदाता, मिडिया आदि सबै जिम्मेवार छौँ । अहिलेको अवस्था निम्तिनु विशेष जालो र संरचनाको ठूलो हात छ । आफ्नै समाज बिगार्न यस्ता नियत किन स्थापित भइरहेका छन् ? समाजलाई डरले स्थापित गरिरहेको छ । हरेक व्यक्ति डरको उकुसमुकुस छ । राजनीति हिंसात्मक सोचका आधारमा सञ्चालित छ । यहि सोचबाट मुक्त हुनपर्ने आवश्यकता हो । हामी एकाअर्कालाई गाली गर्छौ तर परिकल्पनाको सोच छैन । सिर्जनाको लागि मत दिनुहोला निर्माणको लागि भोट दिनुहोला ।
यदि तपाई निर्वाचित भए आउने दिनको कामले तपाईंको परिचय दिनेछ, तर हार्नुभयो भने के गर्नुहुन्छ ?
मेरो मूल मन्त्र के छ भने म हरेक मतलाई सम्मान गर्नेछु । हरेक मतको अर्थ मलाई काम गर्ने जिम्मेवारीको आव्हान ठान्छु । जुनसुकै परिणाम आओस् म अब काभ्रेपलान्चोकको हितको लागि काम गर्ने अठोट गरेको छु । हिजो म कथामा सिमित थिए अब म प्रत्यक्ष राजनीतिज्ञको भूमिका निभाउने छु । विजयी भए भने त गजव ! नै हुनेछ तर त्यसो नभएमा पनि निरन्तर राजनीतिक समस्यामा काम गर्न मलाई कसैले रोक्न सक्ने छैन् । आममान्छेको चाहना अनुसार राजनीतिक अभिभावकत्वको परिपूर्ति गरिरहने छु ।
जनताहरु वैकल्पिक पार्टीको आवश्यकता देखिएको बताउन थालेका छन्, स्वतन्त्र उठ्नेहरू संगठित भए राम्रो हुने होइन र ?
वैकल्पिक पार्टीहरू बनिरहेका छन् । साच्चिकै स्वतन्त्र उम्मेदवार उठ्नु, काम गर्नु वा स्वतन्त्र भएर कत्तिको काम गर्न सकिन्छ भन्ने कुरा अझै पनि स्थापित हुन बाँकी नै छ । यसलाई स्थापित गर्नुपर्ने छ । अनि बल्ल जनताले बुझ्ने छन् इमानदार स्वतन्त्र उम्मेदवारले धेरै काम गर्न सक्छ भन्ने कुरा । त्यो स्थापित नभएकाले पार्टीको विकल्प पार्टी हो भन्ने अवधारणा बनेको हो ।
अन्त्यमा, तपाईंको क्षेत्रका मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?
मेरो क्षेत्रको मतदाताहरूलाई यसपालि काभ्रेपलान्चोकमा विकल्प छ भन्न चाहन्छु । विचारहरू राखिसकेको छु । विचार र नियत हेरेर कसैलाई छनोट गर्नुहोला । छनोटले अब आउने धेरै वर्षसम्म प्रभाव पार्छ । मेरो भोट कतै खेर जाला कि भन्ने दृष्टिकोण नराख्नु होला । तपाईंको भोट नितान्त तपाईंको अभिव्यक्ति हो । जीत र हार पछिको परिणामा हो । मत हाल्दा आत्मसमानलाई धरौटी नराख्नुहोला । मत भनेको आत्मसम्मान हो, यसलाई उच्च स्थानमा राखेर मत प्रकट गर्नुहुन आग्रह छ ।