एजेन्सी । टर्कीमा सोमबार बिहान गएको ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या निरन्तर रूपमा बढिरहेको छ ।
अहिलेसम्म सिरियामा ९० र टर्कीमा ५३ गरी १ सय ४३ जना भन्दा बढीको मृत्यु भएको पुष्टि भएको हो । टर्कीको मलत्या शहरमा २३ जना, सानल्युर्फामा १७ जना, दियारबाकिरमा ६ जना र ओस्मानियामा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
त्यस्तै सिरियामा ९० जनाको मृत्यु भएको पुष्टि भएको छ । दुवै देशमा भौतिक संरचनामा ब्यापक रूपमा क्षति पुगेकाले भत्किएका संरचनामा सयौं च्यापिएको अनुमान गरिएको छ । मानिसहरु सुतिरहेको बेला भूकम्प गएकाले मृतक संख्या अनुमान भन्दा बढी हुन सक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् ।
स्थानीय समय अनुसार सोमबार बिहान ४ बजेर १७ मिनेट जाँदा दक्षिणी टर्कीको गजियटेप प्रान्तको नुर्दगी भन्ने स्थानमा शक्तिशाली भूकम्प गएको थियो । पहिलो झड्का लगत्तै ६ रेक्टर स्केल भन्दा माथिका थुप्रै पराकम्पको महसुश भएको टर्कीको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अमेरिकी भू(गर्भ विभागले १७ दशमलव ९ किलोमिटर गहिराइबाट भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का जोर्डन, साइप्रस, ग्रीस, लेबनान, इराक, इरान, जर्जिया, बेलायत र अमेरिकासम्म महसुश भएको जनाइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँंकी रहेको छ । यसैबीच, टर्की सरकारले भूकम्पपछिको उद्धार र ब्यवस्थापनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।
शक्तिशाली भूकम्प जाँदा भएको मानवीय क्षतिको विवरण आउने क्रम जारी रहेका बेला गैर आवसीय नेपाली संघले आफ्नो धारणा सार्वजनिक गरेको छ । टर्कीका इस्तानबुल, अँगारा, इज्मिर, अन्तलिया, बर्दुम लगायतका स्थानमा २ हजार देखि २५ सय नेपालीको बसोबास रहेको एनआरएनए टर्कीले जनाएको छ ।
एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ र महासचिव विनोद पौडेलले एक सन्देशमार्फत नेपालीहरुलाई सहजीकरण गर्ने सार्वजनिक सूचना जारी पनि गरेका छन् । उनीहरुका अनुसार भूकम्पको केन्द्रविन्दु सिरियन बोर्डरस्थित गाजनतेपमा थोरै संख्यामा नेपाली रहेको र तीमध्ये केही नेपाली हाम्रो सीधा सम्पर्कमा आई भूकम्पमा हालसम्म कुनैपनि नेपाली नपरेको र आफूहरु सुरक्षित रहेको जानकारी गराएका छन् ।
सन्देशमा एनआरएनएले भनेको छ,‘सम्पूर्ण नेपालीलाई सुरक्षित रहन हामी अनुरोध गर्दछौँ । यदि भूकम्पका कारण कोही नेपाली प्रभावित भएको वा समस्या परेको भए तुरुन्त गैरआवासीय नेपाली संघ (एनआरएनए)टर्कीका अध्यक्ष उज्जन कुमार घिसिङ, महासचिव विनोद पौडेल वा गैरआवासीय नेपाली संघको सचिवालयमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछु ।’
टर्कीको दक्षिणी भागको सिरियन सीमानजिक ७ दशमलव ८ म्याग्निच्यूटको शक्तिशाली भूकम्प जाँदा भएको मानवीय क्षतिको विवरण आउने क्रम जारी छ ।
टर्कीका इस्तानबुल, अँगारा, इज्मिर, अन्तलिया, बर्दुम लगायतका स्थानमा २ हजार देखि २५ सय नेपालीको बसोबास रहेको छ ।
भूकम्पको केन्द्रविन्दु सिरियन बोर्डरस्थित गाजनतेपमा भने थोरै संख्यामा नेपाली रहेका छन् । तीमध्ये केही नेपाली हाम्रो सीधा सम्पर्कमा आई भूकम्पमा हालसम्म कुनैपनि नेपाली नपरेको र आफूहरु सुरक्षित रहेको जानकारी गराउनु भएको छ । थप विवरणका लागि हामी उहाँहरुसँग सम्पर्कमै छौँ ।
यसका साथै, त्यहाँस्थित सम्पूर्ण नेपालीलाई सुरक्षित रहन हामी अनुरोध गर्दछौँ । यदि भूकम्पका कारण कोही नेपाली प्रभावित भएको वा समस्या परेको भए तुरुन्त गैरआवासीय नेपाली संघ (एनआरएनए)टर्कीका अध्यक्ष उज्जन कुमार घिसिङ, महासचिव विनोद पौडेल वा गैरआवासीय नेपाली संघको सचिवालयमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछु ।
सम्पर्कका लागि :
एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ: 00-905522778593
महासचिव विनोद पौडेल : 00-905372777196
गैरआवासीय नेपाली संघ सचिवालय : 977-014411530
गैरआवासीय नेपाली संघ ।