तेहरान । नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नर्गेस मोहम्मदीलाई इरानको एक अदालतले छ वर्षको जेल सजाय सुनाएको छ ।
वकिल मुस्तफा निलीले भनेका छन्, “सरकारविरोधी प्रदर्शनमा भेला गर्ने र अपराध गर्ने अभियानमा सहभागी भएको आरोपमा छ वर्षको जेल सजाय सुनाइएको छ ।’’
मोहम्मदीलाई प्रचार गतिविधिको लागि डेढ वर्षको थप जेल सजाय पनि सुनाइएको छ र उनलाई दुई वर्षको लागि दक्षिण खोरासानको पूर्वी प्रान्तको खोस्फ शहरमा जानबाट प्रतिबन्ध लगाइएको छ ।
इरानी कानुनअनुसार जेल सजाय र यो प्रतिबनध सँगै लागु हुनेछन् । निलीले मोहम्मदीको स्वास्थ्य समस्याका कारण उनलाई अस्थायी रूपमा ‘उपचार प्राप्त गर्न जमानतमा रिहाइ’ गर्न सकिने आशा व्यक्त गरे ।
उनले जारी गरिएको फैसला अन्तिम नभएको र पुनरावेदन गर्न सकिने बताए ।
विगत २५ वर्षमा ५३ वर्षीया मोहम्मदीलाई इरानको मृत्युदण्डको प्रयोग र महिलाहरूको लागि अनिवार्य ड्रेस कोडको विरुद्ध मुखर अभियान चलाएको आरोपमा बारम्बार मुद्दा चलाइएको छ र पटक–पटक जेल चलान गरिएको छ । उनको सक्रियताको सम्मानस्वरूप सन् २०२३ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।




