April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

अमेरिकी राजदूत र ओलीबीच बाइडेन प्रशासनका प्राथमिकताबारे छलफल

2.2K

काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका प्राथमिकताबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन्। शुक्रबार बालुवाटारमा बाइडेनका प्रमुख प्राथमिकताबारे छलफल भएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

भेटका क्रममा राजदूत बेरीले बाइडेन प्रशासन जलवायु परिवर्तन‚ आणविक प्रसार‚ साइबर युद्ध‚ कोभिड-१९ जस्ता कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहेको बताए।

राजदूत बेरीले नयाँ प्रशासनले विश्वव्यापी संलग्नताको मुख्य उपकरणको रूपमा कूटनीतिलाई प्रयोग गर्ने बताए। राष्ट्रपति बाइडेनले कोभिड-१९ जस्ता साझा चुनौतीहरू समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगमा विश्वास गर्ने उल्लेख गरेका छन्।

Advertisement

राष्ट्रपति बाइडेनले विश्व स्वास्थ्य सङ्गठनमा अमेरिकाको सदस्यता पुनः निरन्तरता दिने बेरीले जानकारी दिएका थिए। उनले अन्तर्राष्ट्रिय संस्थाहरूसँग अमेरिकाको सम्बन्ध पुन:स्थापना र नेपाललगायत विश्वभरका प्रजातन्त्रिक देशहरूसँगको साझेदारी पुनर्जीवित गर्ने समेत उल्लेख गरे।

आफ्नो एक अग्रणी कामका रूपमा राष्ट्रपति बाइडेन पेरिस जलवायु सम्झौतामा पुनः सामेल भएका छन् र उनले अमेरिकालगायतका देशहरूको जलवायु लक्ष्य बढाउने कूटनीतिक कदमको नेतृत्व गर्ने उनले जनाएका छन्। राजदूत बेरीले नेपाल जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेको भन्दै सगरमाथा संवादलाई सफल बनाउन मद्दत गर्ने र जलवायु परिवर्तनका प्रभावलाई मिलेर सम्बोधन गर्ने भनी छलफल गर्ने दूतावासको चाहना भएको उल्लेख गरेका थिए।

बाइडेनले बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा सपथ ग्रहण गरेका थिए।