April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

अमेरिकामा अन्धाधुन्ध गोलाबारी हुँदा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६० भन्दा बढी घाइते

1.4K

मेइन । अमेरिकाको मेइनमा एक व्यक्तिले अन्धाधुन्ध गोलाबारी गर्दा मृत्यु हुनेको संख्या २२ पुगेको छ भने ६० जनाभन्दा धेरै घाइते भएका छन् ।

लेविस्टनमा स्थानीय समयअनुसार साँझ ७ बजेबाट गोलाबारी सुरु भएको थियो । कम्तीमा तीन ठाउँमा गोलाबारी भएको बताइएको छ । सबैभन्दा पहिले बालबालिकाको कार्यक्रम आयोजना भइरहेको एक बलिङ एलीमा गोली प्रहार गरिएको रिपोर्ट प्रहरी कहाँ पुगेको थियो ।

त्यसको लगत्तै एउटा बार एन्ड ग्रिलमा गोली चलेको खबर आएको थियो । त्यस्तै वालमार्ट डिस्ट्रब्युसन सेन्टरमा ८ बजेपछि गोली चलेको खबर आएको थियो । त्यसपछि ९ बजे गोलाबारीको अर्को घटना रिपोर्ट गरिएको थियो ।

Advertisement

सिटी काउन्सिलर रोबर्ट म्याकार्थीले मृत्यु हुनेको सङ्ख्या १६ बाट बढेर २२ पुगेको जानकारी दिए । प्रहरी अधिकारीहरूले मानिसहरूलाई घरभित्र बस्न र ढोका लगाउन आग्रह गरेका छन् । लेविस्टनमा करिब ३९ हजार मानिसको बसोबास रहेको छ । 

लेविस्टन प्रहरीले आफ्नो फेसबुक पेजमा सन्दिग्धको तस्बिर सार्वजनिक गरेको छ । उनको नाम रोबर्ट कार्ड भएको बताइएको छ । उनले अमेरिकी सेनाको रिजर्भ ट्रेनिङ सेन्टरमा हतियारको प्रशिक्षण लिएको र उनीमा मानसिक समस्या रहेको प्रहरीको भनाई छ । ४० वर्षीय कार्डले दुई महिना मानसिक अस्पतालमा बिताएको पनि बताइएको छ ।