लन्डन । इजरेलले गाजामा बसिरहेका मानिसहरूलाई शनिवार हमासले आफू विरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाही अघि बढाइरहेको भन्दै घर छाड्न चेतावनी दिएको छ । हमासका निशानाहरू ध्वस्त पार्ने चेतावनी इजरेलले दिएपछि गाजाका मानिसहरू सुरक्षित रहने प्रयास गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।
दक्षिण इजरेलमा साइरनका आवाजहरू सुनिएका छन् । हमासले आफूले इजरेलको एसकलोन शहरमा एक सयवटा रकेट प्रहार गरेको जनाएको छ । इजरेली सेनाले देशभित्रका कैयौँ ठाउँमा लडाइँ चलिरहेको बताएको छ ।
इजरेलले हमासको आक्रमणमा ३०० भन्दा बढी मानिस मारिएको जनाएको छ । गाजामा ज्यान गुमाउनेको सङ्ख्या २३० भन्दा बढी पुगेको छ ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै गाजामा इजरेलले विद्युत, इन्धन र सामानहरूको आपूर्ति बन्द गर्ने जनाइएको छ ।
इजरेली अधिकारीहरूले बिजुली काटिदिएपछि शनिवार राति नै गाजा अन्धकार बनेको थियो ।