काठमाडौं । पाकिस्तानमा अङ्ग तस्करीमा संलग्न गिरोहका आठजना पक्राउ परेका छन् । प्रहरीका अनुसार फवाद मुख्तार नामक उक्त गिरोहका नाइकेले ३ सय भन्दा बढी मानिसबाट मिर्गौला निकालेर धेरै पैसा दिने बिरामीमा प्रत्यारोपण गराएको आरोप रहेको बीबीसीमा उल्लेख छ ।
मुख्तार आफैँ चिकित्सक भएको सञ्चारमाध्यममा प्रकाशित विवरणहरूमा उल्लेख छ । यसअघि उनी पाँचपटक अवैध रूपमा मिर्गौला निकालेर बेचेको आरोपमा पक्राउ परेका थिए । तर प्रत्येकपटक जमानतमा रिहा भएका थिए ।
सरकारी अधिकारीहरूका अनुसार उनको गिरोहले मिर्गौला निकाल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ । उक्त गिरोह पाकिस्तानको पूर्वी प्रान्त पन्जाबभरि र पाकिस्तान–नियन्त्रित कश्मीरमा पनि सक्रिय रहेको ठानिएको छ ।
मिर्गौला अवैध रूपमा निकालिने र प्रत्यारोपण गर्ने गरिएको पाइएको पन्जाबका मुख्यमन्त्री मोहसिन नक्बीले बताए । उनका अनुसार कतिपय अवस्थामा बिरामी स्वयंलाई प्रत्यारोपणबारे जानकारी हुँदैनथ्यो ।
प्रत्यारोपण गर्दा मुख्तारले आफूलाई शल्यक्रियाको काममा सघाउन गाडी बनाउने काम गर्ने एक मिस्त्री राख्ने गरेको बताइएको छ । ती व्यक्तिको परिचय खुलाइएको छैन । तर उनले अस्पतालबाट बिरामीहरूलाई लोभ्याएर मुख्तारको सम्पर्कमा पु¥याउने गरेका थिए । “हामीले पत्ता लगाएको कुराले हाम्रो मुटु काम्छ । यसबाहेक अरू पनि धेरै प्रत्यारोपण र अवैध शल्यक्रियाहरू भएका छन् । यीबारे चाहिँ हामीले पुष्टि गरेका छौँ,” आइतवार आयोजित एउटा पत्रकार सम्मलेनमा उनले भने ।