काठमाडौं । मध्य मोरक्कोमा ६.८ म्याग्निट्यूडको भूकम्प जाँदा कम्तीमा २९६ जनाको मृत्यु भएको छ । हाइ एट्लस माउन्टेन्स केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा १५३ जना घाइते भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
भुकम्प गएको केन्द्रबिन्दु क्षेत्र माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ । यूएस जिओलोजिकल सर्भेले त्यसको गहिराई १८.५ किलोमिटर रहेको उल्लेख गरेको छ । भुकम्पमा माराकेस र त्यहाँबाट दक्षिणका क्षेत्रमा मानिसहरूले ज्यान गुमाएको बताइएको छ ।
भुकम्प स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा गएको थियो । त्यसको १९ मिनेटपछिको परकम्प ४।९ म्याग्निट्यूडको मापन गरिएको छ ।
सामाजिक सञ्जाल एक्समा राखिएका भिडिओमा भत्किएका भवनहरू, हल्लिरहेका घरहरू र चोकमा जम्मा भग्नावशेषहरू देख्न सकिन्छ । धुलोको मुस्लोहुँदै मानिसहरू हिँडिरहेको र केही मानिसहरू भागिरहेको पनि देख्न सकिन्छ ।
भुकम्पबाट माराकेशको पुरानो शहरका कतिपय भवनहरू ध्वस्त भएका छन् । सामाजिक सञ्जाल एक्सका कैयौँ क्लिपहरूमा भवनहरू भत्किरहेको देख्न सकिन्छ तर ती कहाँका भवनहरू हुन भन्ने पुष्टि भइनसकेको बीबीसीले जनाएको छ ।
अहिले घाइतेहरुको उपचार भइरहेको छ भने परकम्प आउनसक्ने डरले मानिसहरूले आफ्ना घर बाहिर नै बस्ने बसिरहेका छन् ।