June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

अमेरिकी कर्मचारीलाई टिकटक नचलाउन सरकारको आदेश

२०७९ फाल्गुन १६

3.1K

काठमाडाैं । अमेरिकी सरकारले एक महिनाभित्र सरकारी कर्मचारीहरूलाई आफ्नो फोनबाट टिकटक हटाउन आदेश दिएको छ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सबै सरकारी निकायहरूलाई कर्मचारीको फोनबाट टिकटक एप ३० दिनभित्र हटाउन आदेश दिएको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ।

सुरक्षा संवेदनशीलताको कारण देखाउँदै चिनियाँ कम्पनी बाइट डान्सको एप टिकटक हटाउन सरकारी कर्मचारीलाई अमेरिकी सरकारले आदेश दिएको हो। यसअघि युरोपियन युनियन र क्यानडामा त्यहाँका सरकारी कर्मचारीलाई दिइने फोनबाट टिकटक हटाउन आदेश दिइएको थियो।

Advertisement

टिकटकलाई कर्मचारीको फोनबाट हटाउन आदेश जारी गरेपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विदेशी कम्पनीहरूलाई दबाउन अमेरिकाले सरकारी शक्ति प्रयोग गरिरहेको आरोप लगाएका छन्।

चीनले भिडियो एप टिकटकको मामिलामा अमेरिकाले उग्र प्रतिक्रिया जनाएको आरोपसमेत लगाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले ‘अमेरिकी सरकारले बजार अर्थतन्त्रको सिद्धान्त र प्रतिस्पर्धाका नियमहरूलाई सम्मान नगरेको र विदेशी कम्पनीहरूलाई दमन गर्न खोजेको’ बताएका छन्।

सबैभन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सन् २०२० मा चीनसँग सीमा विवाद चर्किएपछि सुरक्षाको कारण जनाउँदै टिकटकलाई भारतभरि नै प्रतिबन्धित गरेको थियो। त्यसपछि भारतका प्रविधि कम्पनीले नै टिकटकजस्तै अरु एप बनाएका थिए।