काठमाडौं । ब्राजिलका मजादुगर पेलेको निधन भएको छ । नाङ्गो खुट्टाबाट उठेर आधुनिक इतिहासको सबैभन्दा महान् र चर्चित खेलाडीमध्ये एक बनेका ब्राजिलियन फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।
पेले मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए । साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार गराइरहेकामा बिहीबार दिउँसो ३ः२७ मा उनको मृत्यु भएको बताएको छ ।
पेलेको वास्तविक नाम एडसरन एरेन्टस डो नासिमेन्टो हो । १७ वर्षको उमेरमै फुटबल स्टार बनेका पेलेले २१ वर्ष लामो फुटबल करियरमा १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीनपटक विश्वकप जितेका छन् ।
१९५८, १९६२ र १९७० मा विश्वकप उपाधि जितेको ब्राजिलको टोलीमा पेले सहभागी थिए । उनी सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानितसमेत भएका थिए । उनले १९५८ मा ब्राजिललाई वर्ल्डकपको उपाधि दिलाउन अहम् भूमिका निर्वाह गरेका थिए । क्वाटर फाइनलमा वेल्सविरुद्ध जितका लागि एकमात्र निर्णायक गोल उनैले गरेका थिए । सेमिफाइनलमा फ्रान्सविरुद्ध पेलेले ह्याट्रिक गरे र फाइनलमा स्वीडेनविरुद्ध उनले दुई गोल जितेर विश्वकपको उपाधि दिलाए ।
पेलेको निधनमा विश्वभरबाट शोक व्यक्त भइरहेको छ । कतार वर्ल्ड कपको विजेता अर्जेन्टिनी फुटबलर मेसी, क्रिष्टियानो रोनाल्डो, नेयमार लगायतले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् ।