काठमाडौं । दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको प्लाष्टिक दाना कारखानामा आगालागी हुँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ । मंगलबार बिहान भएको आगलागीमा परी धेरैजना घाइते भएका भारतीय समाचारहरुले उल्लेख गरेका छन् ।
समाचार अनुसार मंगलबार बिहान ९ः३५ बजे कारखानामा आगलागी भएको हो । घटनामा मृत्यु भएका दुई जनाको पहिचान भैरहेको छ । प्रहरी स्रोतका अनुसार घटनास्थलबाट २० जनाको उद्धार गरिएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
तीन सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो कारखाना नरेला औद्योगिक क्षेत्रको ई–ब्लकमा रहेको छ । तीनतले ब्लकको दोस्रो र तेस्रो तल्लामा आगो लागेको हो । आगलागीको कारण भने खुल्न सकेको छैन । दमकलले बिहान ९ः३५ बजे दुर्घटनाको जानकारी पाएको थियो । घटनास्थलमा उद्धार कार्य जारी छ । १५ वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।