न्युयाेर्क । अमेरिकामा पूर्व राष्ट्रपतिहरू र प्रथम महिलाहरूको आधिकारिक व्हाइट हाउस तस्विर नयाँ राष्ट्रपतिले अनावरण गर्दै आएको परम्परा रहेको छ । तर डोनाल्ड जे ट्रम्प सत्तामा हुँदा बराक ओबामा र मिशेल ओबामाको तस्विर अनावरण समारोह आयोजना गरिएन ।
ओबामाको आधिकारिक तस्विर अन्ततः बुधवार ह्वाइट हाउसको पूर्वी कोठामा ट्रम्पपछिका राष्ट्रपति बाइडेनद्वारा अनावरण गरिएको छ । उक्त समारोहमा बोल्दै ओबामाले अत्यन्तै खुशी लागेको र आफ्नो प्रशासनका धेरै सदस्यहरूसँग पुनर्मिलन जस्तो महसुस भएको बताएका छन् ।
व्हाइट हाउस हिस्टोरिकल एसोसिएसनको पहलमा बनाइएका तस्वीरहरु र कलाकारहरूको पहिचान गोप्य राखिएको थियो । पूर्व राष्ट्रपति बराक ओबामाको तस्विर रोबर्ट म्याककर्डीले र पूर्व प्रथम महिला मिशेल ओबामाको तस्वीर शेरोन स्प्रंगले बनाएको जनाइएको छ ।
ओबामाले कलाकारहरूको प्रशंसा गरेका छन् । मिशेलको बारेमा मनपर्ने सबै कुराहरू तस्वीरमा राखेकोमा शेरोन स्प्रङलाई धन्यवाद दिए भने आफ्नो तस्वीर बनाउने धेरै गाह्रो विषय रोजेकोमा रोबर्ट म्याककर्डीलाई धन्यवाद दिए ।