काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको घरमा छापा मारिएपछि ट्रम्पले अमेरिकी सरकारविरुद्ध मुद्दा हालेका छन् । ट्रम्पले केही साता अघि सङ्घीय जाँच ब्युरो एफबीआईले उनको निवासबाट कब्जा गरेर लगेका फाइलहरूको न्याय मन्त्रालयद्वारा जारी अनुसन्धान रोक्न न्यायाधीशसमक्ष अनुरोध गरेका हुन् ।
एफबीआईका अधिकारीहरूले फ्लोरिडास्थित उनको मारा लागो निवासमा छापा मारेर ११ सेट गोप्य फाइलहरू लगेको बताइएको थियो । ट्रम्पको टोलीले मुद्दामा ती दस्तावेजहरूको सुपरीवेक्षण गर्न स्वतन्त्र वकिल नियुक्त गरिनुपर्ने बताएका छन् ।
ट्रम्पमाथि उनले संवेदनशील दस्तावेजहरूको गलत व्यवस्थापन गरेका आरोपमा अनुसन्धान भइरहेको बीबीसीले उल्लेख गरेको छ ।
सोमवार उनका वकिलहरूले ‘स्पेशल मास्टर’ भनिने तटस्थ वकिलको माग गरे, जसले ती कब्जा गरेर लगिएका दस्तावेजहरू ट्रम्प राष्ट्रपति भएका बेला उनलाई प्राप्त कार्यकारी विशेषाधिकारबमोजिम थिए कि भनेर हेर्नेछन् ।
न्याय मन्त्रालयका अधिकारीहरूले भने एक संक्षिप्त विज्ञप्ति जारी गर्दै ट्रम्पले हालेको मुद्दाबारे अभियोजनकर्ताहरू जानकार रहेको र त्यसबारे अदालतमै जबाफ दिने जनाएको छ ।