March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

इजरायलको आक्रमणमा २४ जनाको मृत्यु

2.1K

लन्डन । इजराइलको आक्रमणमा गाजामा हालसम्म २४ प्यालेस्टिनीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा पीआईजेका नेता तैसिर जबरीसहित ६ जना बालबालिका र धेरै लडाकु रहेका छन् ।

प्यालेस्टिनी प्रशासनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार इजरायली सेनाले प्यालेस्टिनी सशस्त्र समूह इस्लामिक जिहाद (पीआईजे) का लडाकुहरूलाई निशाना बनाएको छ । आक्रमणको जवाफमा शुक्रबारदेखि इजरायलमा करिब ३०० रकेट र मोर्टार प्रहार गरिएको छ । तीमध्ये करिब ७० वटा इजरायलसम्म नपुगिकन गाजा पट्टीमा नै खसे ।

इजरायलले पीआईजेको धम्कीलाई ध्यानमा राखेर यो अभियान सुरु गरेको जनाएको छ । मे २०२१ मा ११ दिनको लडाइँपछिको इजरायल र गाजाबीचको यो सबैभन्दा गम्भीर भिडन्त हो । मे महिनामा २०० प्यालेस्टिनी र इजराइलका दर्जनौँको मृत्यु भएको थियो ।

Advertisement

इजरायली सेनाले ‘ब्रेकिङ डन’ नामको यो अपरेशन एक सातासम्म चल्न सक्ने चेतावनी दिएको छ ।

इजरायलका अनुसार गाजामा हवाई हमला गर्नुका साथै कब्जा गरिएको वेस्ट बैंकबाट छापा मारेर पीआईजेका करिब १९ सदस्यलाई पक्राउ गरिएको छ ।

टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै इजरायलका प्रधानमन्त्री लेपिडले भने, ‘इजरायलले आतंकवादविरुद्ध सशक्त अभियान सुरु गरेको छ । यस्तो नगरिएको भए खतराले छिट्टै नै ढोका ढक्ढकाउन आइसक्थ्यो ।’