काठमाडौँ — मलेसियाले नेपालसहित देशबाट श्रमिक भर्ना गर्नका लागि रोजगारदाताहरूले आवेदन खुला गर्ने भएको छ । मलेसियाका मानव संसाधन मन्त्री सेरी साराभनानले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालसहितका स्रोत मुलुकबाट श्रमिक भर्ना प्रक्रिया छिट्टै खुला गर्ने जनाएका हुन् ।
‘निकट भविष्यमा नै रोजगारदाताहरूले स्रोत देशबाट श्रमिक भर्नाका लागि अनलाइनबाट आवेदन दिने व्यवस्था मिलाएको छु,’ उनले भनेका छन्, ‘रोजगारदाताले आवेदन दिनका लागि बिचौलिया वा तेस्रो पक्षलाई अनावश्यक खर्च नगर्न अनुरोध गर्दछु ।’
विदेशबाट श्रमिक भर्नाका लागि रोजगारदाताले मानव संसाधन मन्त्रालयबाट अनुमति लिएपछि मात्रै म्यानपावर कम्पनीका लागि मागपत्र बनाउन पाइन्छ । रोजगारदाताले कुन देशबाट कति श्रमिक ल्याउने भनेर मन्त्रालयबाट अनुमति लिनुपर्छ । त्यो आवेदन लिने कार्य डेढ वर्षदेखि रोकिएको छ । मलेसियाले २०७६ को चैतको पहिलो सातादेखि नेपालबाट श्रमिक भर्ना गरेको छैन ।
मन्त्री सारभनानले आवश्यक श्रमिक मात्रै माग गर्न अनुरोध गरेका छन् । मलेसियाले गत डिसेम्बर १० तारिख श्रमिकको अभाव भएको भन्दै स्रोत देशबाट कृषि, उत्पादन, सेवा, निर्माण र घरेलु श्रमिकमा श्रमिक आपूर्ति गर्न अनुमति दिने निर्णय गरेको थियो । त्यो निर्णयलाई कार्यान्वयन गर्न १४ डिसेम्बरमा मापदण्ड (एसओपी) बनाएको थियो ।
एसओपीअनुसार मलेसिया पुगेपछि भने श्रमिकहरू सरकारबाट अनुमति प्राप्त क्वारेन्टिनमा सात दिन बस्नुपर्नेछ । श्रमिकहरू क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै प्रवेश गर्न पाइनेछ । मलेसियाले श्रमिकको सबै खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्था मिलाएको छ ।