April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोरोना सङ्क्रमण बढेपछि खोप लगाउन आग्रह, पूर्वी नाकामा कडाइ

2.4K

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरस विरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् । शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ । शनिबार ६४ जना र शुक्रबार ९९ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको सङ्ख्या ३५७ जना पुगेका छन् ।

काठमाडौं उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आईसीयू)र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन् । अहिले काठमाडौंसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाइँदै छ ।

Advertisement

स्वास्थ्य कार्यालय काठमाडौंका सूचना अधिकारी अञ्जना खड्काका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ ।

यस्तै काठमाडौंका स्थानीय तहले पनि आवश्कता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन् । केही दिनअघि गरिएको अनुवांशिक अध्ययानमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेको छ । मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोधसमेत गरेको छ ।

यता, पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ ।

भारतीय भूमिमा एक साताभन्दा बढी समय बसेर नेपाल फर्किने खोप कार्ड नभएका नेपाली नागरिककोसमेत नाकामा स्वाब परीक्षण अनिवार्य गरिएको यहाँस्थित हेल्थ डेस्ककी ल्याब असिस्टेन्ट रक्षा देउजाले बताए ।

उनका अनुसार हेल्थ डेस्कले विगतदेखि नियमित निगरानी गर्दै आएको भए पनि भारत र नेपालमा कोभिड–१९ को नयाँ भेरियन्टका सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि नाकामा सतर्कता उच्च बनाइएको हो ।