झापा: सरकारले तोकेको समर्थन मुल्य अनुसार झापाका केही कृषि सहकारी संस्थाले किसानको धान खरिद गरेका छन् । शुरुमा धानको मुल्यमा अति गिरावट आएको कारण खरिद गर्ने कि नगर्ने भनेर अल्मलमा परेका सहकारीले पछिल्लो समय धमाधम धान खरिद गर्न थाले पछि किसानहरु खुशी भएका छन् ।
विगत केही बर्ष अघिसम्म झापाका अधिकांश किसानले प्रति मन ८ देखि ९ सय रुपयाँमा व्यापरीलाई धान विक्री गर्दै आएका थिए । तर यो बर्ष गौरादह क्षेत्रका किसानले सरकारले तोकेको मुल्य अनुसार १ हजार ५० देखि ११ सय सय ५० रुपयाँसम्म धान विक्री गर्न पाउदाँ उनीहरु खुशी बनेका छन् ।
जिल्लामा झण्डै ३ लाख ९० हजार मेट्रिक टन धान फलेको यो बर्ष ९ वटा सहकारी संस्था मार्फत २८ हजार मेट्रिक टन धान किन्ने सम्झौता मंसीर महिनामै गरिएको हो । तथापि पूर्णरुपमा कार्यान्वयन हुन नसके पनि राम्रो कार्याक्रमको थालनी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन कार्यन्वयन इकाले जनाएको छ ।
सरकारले मोटा र मध्यम गरी प्रति क्वीन्टल २ हजार ७ सय ३५ र २ हजार ८ सय ८५ रुपयाँ समर्थन मुल्य तोकेको छ । सरकारले तोकेको मुल्यमा पछिल्लो समयमा महारानी झोडा साना किसान कृषि सहकारी संस्थाले गौरादह क्षेत्रका किसानको १ हजार मेट्रिकट टन धान समर्थन मुल्यमा खरिद गरेको छ ।
किसानलाई राहत पुगोस् भनी यो बर्ष सरकारले समर्थन मुल्य खरिद तथा कार्यान्वयन निर्देशिका २०७७ ल्याएको छ । तर जिल्लामा निश्चित सहकारीले मात्र धान खरिद गर्ने सम्झौता गरेकाले थोरै किसानले समर्थन मुल्य पाए पनि धेरै किसान यसबाट बन्चित हुन परेको उनीहरुले गुनासो पोखेका छन् ।