April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

बेलायतद्धारा नेपाललाई १३ अर्ब ७० करोड ७० लाख वित्तीय अनुदान

1.2K

काठमाडौं । अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा ‘नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी (रेन) कार्यक्रम’ र प्रणाली सुदृढीकरणमार्फत लैङ्गिक र मानव विकासका परिणामहरू वृद्धि गर्न ‘सामर्थ’ कार्यक्रममा समझदारी भएको हो ।

नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी कार्यक्रमका लागि ३८.५ स्टर्लिङ पाउण्ड मिलियन र सामर्थ कार्यक्रमका लागि ३८.८ स्टर्लिङ पाउण्ड मिलियन (कुल ७७.३ मिलियन) बेलायत सरकारबाट वित्तीय अनुदान सहयोग उपलब्ध गराउने गरी सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थात् १३ अर्ब ७० करोड ७० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने सहमति भएको हो ।

नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र बेलायत सरकारका तर्फबाट बेलायती राजदूतावास काठमाडौंका विकास निर्देशक तथा उपराजदूत पिप्पा बर्डले हस्ताक्षर गरेका हुन् ।

Advertisement

जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित बनेका क्षेत्रका स्थानीय सरकार र समुदायको क्षमता अभिवृद्धि गर्नुका साथै कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा मानव पुँजी निर्माण र सेवा प्रवाहमा सुधार ल्याउने लक्ष्यका साथ दुवै कार्यक्रमका लागि सहयोग उपलब्ध भएको अर्थ मन्त्रालयले जनाएको छ ।