काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।
पर्यटन र होटल व्यवसायका प्रतिनिधिसहित अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरू ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए।
बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमहरूको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या साधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिई अघि बढ्न र कठिनाइ परे सहजीकरण र सहयोग गर्ने उल्लेख गरे।
कोभिड-१९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने विश्वास गर्दै अर्थमन्त्रीले भने, ‘पर्यटन र होटल क्षेत्रमा परेको अप्ठायाराप्रति संवेदनशील छौं। तपाईँहरू अघि बढ्नुहोस्, सरकार साथमा छ।’ उनले पर्यटन व्यवसायको क्षेत्रमा विद्युत डिमाण्ड शुल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल गर्ने बताए।
संस्कृति पर्यटन तथा नागरिक उउड्यान मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखा परेका समस्या समाधानका लागि मन्त्रालयले सम्बन्धित क्षेत्रसँग छलफल गरेको जानकारी दिँदै कोभिड-१९ गर्दा सरकारलाई परेको अप्ठारालाई पनि निजी क्षेत्रले बुझिदिन आग्रह गरे।