काठमाडौं: काठमाडौंबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बस सेवाको सुरूवात भएको छ ।
देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा शुरु गरेको हो । कोभिड–१९ को सङ्क्रमणका कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्न भन्दै देशदर्शनले सोमबार रातिदेखि काठमाडौँ–पोखरा रात्रिकालीन बस सेवा शुरु गरेको हो ।
काठमाडौंको बौद्धबाट साँझ ६ः३० बजे छुट्ने पर्यटकीय बस पोखराबाट भने ७ः३० बजेमात्र काठमाडौंको लागि छुट्नेछ । देशदर्शन बस सेवाले यसअघि नै काठमाडौं–जनकपुर,काठमाडौं–सुनौली र काठमाडौं–लुम्बिनी रात्रिकालीन पर्यटकीय बससेवा सञ्चालन गरिसकेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नुअगाडि शरीरको तापक्रम नाप्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइजरको ब्यवस्था गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको देशदर्शनले जनाएको छ ।
रात्रिकालीन बसको टिकट देशदर्शन बससेवाको वेवसाइट, नेट पे, लक्जरियर्स ट्राभल्स र इसेवामार्फत प्राप्त गर्न सकिने बताइएको छ । अहिले काठमाडौंबाट मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले दिवा तथा रात्रिकालीन बससेवा प्रदान गर्दै आइरहेका छन् ।
हाल काठमाडौंको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् ।