काठमाडौं: आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र रहने भएको छ । कोभिड १९ महामारीबाट मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा परेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो ।
यो प्रतिवेदन राष्ट्रिय योजना आयोगले तयार पारेको हो । आयोगले यो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ, तर सार्वजनिक भने गरेको छैन । तर, अध्ययन प्रतिवेदनसमेत समावेश गरी आयोगले तयार पारेको वाषिर्क प्रतिवेदनमा भने अध्ययनको सारांश राखिएको छ ।
उक्त सारांशले आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर शून्यमा झर्ने स्पष्ट पारेको छ । प्रतिवेदन अनुसार २०७६/७७ को कुल गार्हस्थ उत्पादनको वृद्धिदर ०.६ प्रतिशत मात्र रहने छ । कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न २०७६ चैत ११ देखि २०७७ जेठसम्म अवलम्बन गरिएको पूर्ण बन्दाबन्दी र २०७७ असारमा आंशिक आर्थिक गतिविधि खुकुलो पारिएको थियो । त्यसका आधारमा आर्थिक वृद्धिदरमा ठूलो संकुचन देखिएको हो । यसअघि आयोग मातहतकै केन्द्रिय तथ्यांक विभागले सो आवमा २.२७ प्रतिशत वृद्धिदर हुने अनुमान गरिएको थियो ।
गरिबी ४ प्रतिशतले बढ्यो
कोरोनाले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोच हासिल गर्ने सरकारको लक्ष्यमा भने ठूलो प्रभाव पारेको छ । योजना आयोगका अनुसार कोरोनाका कारण ४ प्रतिशतले गरिबी बढेको छ । कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले अपनाएका गतिविधिकै कारण थप १२ लाख जनसंख्या गरिबीको रेखामुनी पर्न गएको अनुमान गरिएको छ ।
कोभिडले २०७९ सालसम्म अतिकम विकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुने लक्ष्य समेत प्रभावित हुने भएको छ ।