April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

उखु किसानले अझै पाएनन् भुक्तानी

1.9K

काठमाडौं: सरकारले किसानसँग सम्झौता गर्दै २१ दिनभित्र उखु किसानका सबै भुक्तानी दिने प्रतिबद्धता गरे पनि पूर्णरूपमा भुक्तानी पाउन सकेका छैनन्। उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले तोकिएको समयभित्र किसानले भुक्तानी पूर्णरूपमा नभएको बताए। पाउनुपर्ने ६५ करोडमध्ये ४३ करोड मात्रै भुक्तानी पाएका छन्। किसानले २२ करोड पाउन अझै बाँकी छ।

संघर्ष समितिका सचिव रायले सरकारले दिएको समय माघ ४ गते सकिएकाले माघ ६ गते मंगलबार बैठक बसेर रणनीति तय गर्ने बताए। ‘समय सकियो तर पूर्णरूपमा भुक्तानी पाएका छैनौं’, उनले भने, ‘तर, हामीलाई आन्दोलन गर्ने रहर छैन।’ केही दिनमा पैसा दिइहाले भने आन्दोलन नगर्ने उनले स्पष्ट पारे। ‘पैसा पाए आन्दोलन किन गर्ने रु’, उनले प्रश्न गरे, ‘फेरि २२ करोड भुक्तानी राख्न खोजे आन्दोलन नगरी सुखै छैन।’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको ८० प्रतिशत भुक्तानी भइसकेको जनाएको छ। दुई हप्ताभन्दा बढी समय लगाएर माइतीघरमा आन्दोलन गरेका किसानको सरकारले ग्यारेन्टी गरेर पनि पूर्ण भुक्तानी नगर्दा चिन्तित भएका छन्।

किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले अघिल्लो हप्ता नै उद्योगले भुक्तानीको दायरा घटाउँदै लगेकोमा सबै भुक्तानी नपाउनेमा चिन्ता व्यक्त गर्दै आएका थिए। ‘पछिल्लो समय थोरै मात्रै पैसा दिन थालिएको थियो’, उनले भने, ‘पूर्णरूपमा भुक्तानी नपाउँदा किसान चिन्तित भएका छन्।’

Advertisement

सरकारले किसान र उद्योगीबीच सम्झौता गरी २१ दिनभित्र सबै भुक्तानी दिलाउने प्रतिबद्धता जनाएको थियो। सम्झौता भएको २२औं दिन माघ ४ गते पुगिसकेको छ । तर, उक्त अवधिमा पनि सबै किसानले सबै भुक्तानी पाइसकेका छैनन्।

समितिका संरक्षक मिश्रले कुन किसानले कति पायो भन्ने यकिन तथ्यांक नभएको बताए। ‘कुन किसानले कति क्विन्टल, कतिको दरले खातामा गयो टुंगो छैन।’ सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत उद्योगीसँग तथ्यांक मागेर किसानको खातामा पैसा हालिदिएको थियो। श्रीरामको ६ करोडमध्ये लगभग बक्यौता घटाइसकेको छ।