April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेप्सेमा, ५ अर्ब ५२ करोडको कारोबार

2.6K

काठमाडौं: साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिनको कारोबारमा बिक्री चाप बढेपछि सामान्य करेक्सनपछि अन्तिम समयमा नेप्से सामान्य अंक बढेर बन्द भएको हो।

सोमबार प्रि ओपन सेसनमा साढे २८ अंक बढेको नेप्से २२६६।४५ विन्दुसम्म पुगेको थियो। यद्यपि, बजार उच्च दरले बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा बुक गर्दा बिक्री चाप बढ्न गइ आइतबार २२३५।७३ विन्दुमा बन्द भएको नेप्से, २२२९।२४ विन्दुसम्म झरेको थियो। यसलाई जानकारहरु सामान्य इन्ट्रा डे करेक्सन भएको बताउँछन्।

नेप्से सूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। आइतबार ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन साढे ५ अर्बको शेयर कारोबार भएको छ। यस दिन २०८ कम्पनीको ४८ हजार ५३ पटकको कारोबारमा ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको हो।

Advertisement

४ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार

नेप्से सामान्य अंक बढेपनि यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन आरम्भ चौतारी लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको मल्टीपर्पस फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक ५।९५ प्रतिशत घटेको छ।

७ उपसमूहको परिसूचक बढ्यो

सोमबार कारोबारमा आएको १२ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार, होटल, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त उपसमूहको परिसूचक घटेका छन्।

वाणिज्य बैंकहरुको सर्वाधिक कारोबार

यस दिन पनि वाणिज्य बैंकहरुको सबैभन्दा धेरै शेयर कारोबार भएको छ। कारोबार रकमका आधारमा शीर्ष १० कम्पनीहरुमध्ये ८ वटा वाणिज्य बैंकहरु नै रहेका छन्। यस दिन सिद्धार्थ बैंकको सर्वाधिक ४२ करोड ६२ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण यस बैंकको सर्वाधिक कारोबार भएको हो। त्यसैगरी, प्रभु बैंकको यस दिन २५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।