April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सत्तारुढ दलकै सांसदले भने, ‘यो बजेट पारित हुँदैन’

1.4K

काठमाडौं । सत्तारुढ दलका सांसद राजेन्द्र पाण्डेले बजेट पारित हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सत्तारुढ दलहरूमध्ये चौथो ठूलो दल एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका सांसद राजेन्द्र पाण्डेले बजेट विनियोजन सही तरिकाले नभएकाले बजेट पारित हुन नसक्ने बताएका हुन् ।

उनले बजेटमा योजना कसले राखेका हुन् भन्ने प्रश्नको जवाफ नदिएसम्म एकीकृत समाजवादीका सांसदहरूले बजेटको पक्षमा भोट नहाल्ने बताए । उनले भने ‘कम्प्युटर टाइप गर्नेले योजना हाल्न सक्छ तर निर्वाचित प्रतिनिधिले भन्या योजना हुँदैन । यो परिपाटीलाई अन्त्य नगरेसम्म बजेटको समर्थन गर्नै सकिँदैन ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले बजेटको समर्थन गरेपनि आफू र अन्य सांसदहरूले बजेटको समर्थन गर्न नसक्ने पाण्डेले बताए ।
‘म यहीँबाट भन्न चाहन्छु, मैले मेरो पार्टीको अध्यक्षलाई पनि राखेर भन्या छु- तपाईं भोट हाल्नुहुन्छ भने हाल्नुस् तर मसहितको मेरो दलका अरु साथीहरूले भोट हाल्नेवाला छैनन् । यो अन्यायलाई सहेर बस्नेवाला छैनन् । परिपाटी बदल्ने कि नबदल्ने ? ऊर्जा, परराष्ट्र र सूचना मन्त्रीलाई बाहिर लगेर बजेटप्रति सन्तुष्टि छ कि छैन भन्दा छैन भन्नुहुन्छ । प्रधानमन्त्रीलाई गएर सोध्यौं भने मलाई पनि चित्त बुझ्या छैन भन्नुहुन्छ । अर्थमन्त्रीलाई सोध्यौं भने उहाँले पनि मलाई चित्त बुझ्या छैन भन्नुहुन्छ । बजेट बनायो कसले ? यसको उत्तर यसै संसद्‍मा, यो बजेट पारित गर्नुभन्दा पूर्व खोजेर मात्रै टुंगो गर्नुपर्छ अन्यथा यो बजेट पास हुँदैन ।’, उनले भने ।

Advertisement