काठमाडौं । काँग्रेस सांसद उदयशमशेर जबराले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र सुधारको प्रयास गरेको बताएका छन् । अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा सोमबार बजेट प्रस्तुत गरेपछि संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै जबराले यस्तो बताएका हुन् ।
सांसद जबराले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । ‘बजेटमा अर्थतन्त्र सुधारका प्रयास भएका छन् ।, उनले भने, ‘कतिपय सुधारका पक्ष पनि छन् । बजेटले वितरणमुखी कार्यक्रम घटाएको छ । धेरै नयाँ कुरा आएका छैनन् । मुख्य कुरा कार्यान्वयनको हो । आर्थिक अनुशासन कायम गर्नुपर्छ ।’
संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा ५–५ करोड विनियोजन गर्ने योजनाले अधुरा योजना पूरा हुने जबराले बताए । ‘सांसद विकास कोषको बजेट सबै पूर्वाधारमा खर्च गर्नुपर्ने भनेको छ । सानो योजनामा बजेट राख्न सकिन्न । पाँच करोडमा बढीमा पाँच योजना राख्न पाउने भनेको छ । वितरणमुखी योजना सांसदले राख्ने भएकाले न्यूनतम एक करोडको योजना राखर्नुपर्ने व्यवस्था छ ।’, सांसद जबराले भने ।
उनले निर्वाचन क्षेत्रमा सडकलगायतका योजना अधुरो र पुनर्निर्माण हुन नसकेर अलपत्र रहेको अवस्थामा यो योजनाले सहयोग मिल्ने साथै स्थानीय तहमा बजेट अभावले गर्दा मर्मत गर्न नसकेको बताए ।