March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

क्यासिनो सञ्चालनमा थप कडाइ गर्ने तयारी, २६ क्यासिनोमा सरकारको आँखा

1.4K

काठमाडौं । नेपालमा संचालित क्यासिनोहरु फेरी सरकारको निगरानीमा परेका छन् । सरकारले क्यासिनो सञ्चालनलाई थप कडाइ गर्ने नीति लिएको छ । सरकारले एउटै इजाजतबाट एकभन्दा बढी क्यासिनो चलाउन प्रतिबन्ध लगाउन हाल विद्यमान क्यासिनो सञ्चालनसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाएको छ । एक वर्षभित्रै लागू हुनेगरी सरकारले पर्यटन ऐन २०३५ संशोधनअन्तर्गत यो विधेयक प्रतिनिधिसभामा दर्ता गराएको हो ।

संसदबाट पारित भए लगत्तै नयाँ प्रावधान लागू हुने पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले यस्तो जानकारी गराएका हुन् । विभागका अनुसार संशोधनका लागि प्रस्तावित प्रावधानअनुसार एक वर्षभित्रै क्यासिनो सञ्चालक कम्पनीले एउटाभन्दा बढी चलाउनुपरेमा नयाँ कम्पनी दर्ता गर्नुपर्नेछ ।

मनी लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण)का कारण यसलाई ऐनमा लगिएको हो । पुराना क्यासिनोको हकमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्दै आएका कम्पनीले एक वर्षभित्रै अलग कम्पनी स्थापना गरेर इजाजत लिनुपर्ने व्यवस्था लागू गर्न लागिएको विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार यसअघि प्रशासनिक निर्णयअनुसार २०७० सालभन्दा अगाडि एउटै लाइसेन्सबाट चारवटा क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था थियो । नियमावली र आर्थिक विधेयकले एउटै मात्र चलाउन अनिवार्य गरे पनि मुलुकमा चारवटा कम्पनीले अदालतको स्टे अर्डरबाट एकभन्दा बढी क्यासिनो सञ्चालन गरेका थिए ।

मुलुकमा रक इन्टरनेसनल, ह्याप्पी आवर र सेन्ट्रल मिडियाले एउटै लाइसेन्समार्फत चार–चारवटा क्यासिनो चलाएका छन् । संसदबाट पारित भएको एक वर्षमा यी क्यासिनो सञ्चालकले छुट्टाछुट्टै कम्पनी दर्ता गरेर बाँकी तीनवटा सञ्चालन गर्न पाउने व्यवस्था लागू हुने उनले जानकारी दिए ।

उनका अनुसार रक इन्टरनेसनल साथी (धनगढी), बोधी रेडसन (भैरहवा), रियाज (झापा), सुरज (वीरगन्ज) सिल्भर हेरिटेज, सांग्रिला (लाजिम्पाट), टाइगर प्यालेस (भैरहवा), ह्याप्पी आवर स्विट ड्रिम महेन्द्रनगर, लाकोल (भैरहवा), ढाका (काँकडभिट्टा), स्नेहा (नेपालगन्ज) सेन्ट्रल मिडिया ड्रिमल्यान्ड ओपेरा (महेन्द्रनगर), प्लाटिनम (काठमाडौं), ड्रिमल्यान्ड (भैरहवा), भिस्वा (वीरगन्ज) रहेका छन् ।

यसैगरी, लामो समयदेखि होटल मर्मतसम्भार र बन्द रहेका कारण सेवा बन्द भएका कम्पनीलाई सेवा स्थान्तरणका लागि सरकारले सहज बनाइदिने भएको छ । यसका लागि कारणबस सेवा सञ्चालनबाट वञ्चित क्यासिनोले पर्यटन मन्त्रालयको अनुमति लिएर होटल परिवर्तन गर्न पाउने उनले जानकारी दिए ।

कहिलेकाहीं होटल रिनोभेसनको बेला क्यासिनो सञ्चालनमा बाधा हुन्छ । यो अवस्थामा सेवा सञ्चालन सहज होस् भन्ने हिसाबले यो ऐन लागू गर्न लागिएको विभागले जनाएको छ । सरकारलाई तिनुपर्ने बक्यौता नबुझाएका हारण अहिले काठमाडौं उपत्यकालगायत देशभरका केही ठाउँका क्यासिनो बन्द भएका छन् । जसमध्ये होटल एभरेस्ट, सांग्रिला, याक एन्ड यतीलगायत विभिन्न होटलका क्यासिनोहरू बन्द नै छन् ।

पर्यटन विभागका अनुसार हाल मुलुकमा २८ मध्ये २६ वटा क्यासिनो सञ्चालित छन् । विभागका अनुसार एसएचएल, ह्याप्पी आवर, रक इन्टरनेसनल, याक एन्ड यती, (याडिसनलगायतका होटलमा सञ्चालित क्यासिनोले बक्यौताबापत १ अर्ब ५५ करोड रुपैयाँ तिर्न बाँकी छ ।