January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

अर्थमन्त्रीको रोजाइ: प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति पौडेल र नेपालमध्ये एक

1.7K

काठमाडौं । भावी राष्ट्रपति र प्रधानमन्त्री को बन्ने भन्ने विषय पेचिलो बनिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले आगामी राष्ट्रपति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालमध्ये एक हुने बताएका छन् ।

बिहीबार शपथग्रहणपछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै अर्थमन्त्री शर्माले राष्ट्रपतिका बारेमा प्रष्ट पार्दै आगामी सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने बताए ।

उनले प्रधानमन्त्री अध्यक्ष प्रचण्डलाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको बताए । उनले राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै बाहिर आएको चर्चाले अर्थ नराख्ने पनि बताए ।

Advertisement

‘‘अबको सरकारको नेतृत्व मेरो तर्फबाट प्रचण्ड हुनुहुन्छ । अरुको विषयमा गठबन्धनले के भन्छ पछि थाहा हुन्छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने मेरो भनाइ हो । राष्ट्रपति राजनीतिक व्यक्तित्व हुन्छ । वरिष्ठ राजनीतिज्ञ जुन पार्टीमा हुनुहुन्छ त्यही पार्टीबाट राष्ट्रपति हुनुहुन्छ,’ उनले भने, ‘‘राजनीतिक व्यक्तित्व राष्ट्रपति बनाउनुपर्छ भन्ने विषयमा गठबन्धनमा छलफल भएको छ । मैले देखेको दुईजना हुनुहुन्छ । रामचन्द्र पौडेल र माधव नेपाल हुनुहुन्छ ।’

तर (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको प्रतिक्रिया दिएका छन् । शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले २०६४ साल र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्दा आफूले अस्वीकार गरेको बताए । उनले त्यतिबेला उमेर नपुगेकाले आफूले अस्वीकार गरेको बताए ।