काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताएकी छन् ।
मंगलवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले विद्युत निर्यातले देशको अर्थतन्त्रलाई उकास्ने बताएकी हुन् ।
मन्त्री भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताइन । उनले मुलुक भित्रकै जलस्रोतबाट विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण काम भएको बताइन ।
मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको बताइन । उनले पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेपनि विद्युतीय यातायातको सोचे जस्तो विकास नभएको बताइन ।
उनले विद्युत खपत बढाउने तथा बढी भएको विद्युत निर्यातमार्फत मुलुकको व्यापार घाटा कम गर्न योगदान गर्ने बताइन ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताए । उनले चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका हुन् । उनले निजी क्षेत्रका चार्जिङ स्टेशनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले प्राधिकरणले तोकेबमोजिम हुनुपर्ने बताए । कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउने तयारीमा लागेको बताए ।
उनले देशका विभिन्न क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई पनि सहमति दिने बताए । घिसिङले निजी क्षेत्रले बनाएका स्टेसनमा प्राधिकरणले भन्दा २० प्रतिशत थप गरेर शुल्क लिन पाउने पनि बताए । उनले रत्नपार्कको चार्जिङ स्टेशन १२० किलोवाट डिसि क्षमता रहेको बताए ।
उनले विद्युतीय सवारी एक घण्टाभित्र चार्ज पूर्ण गर्न सकिने बताए । उनले चार्जिङ स्टेसनमा विद्युतीय सवारी चार्ज गर्दा औसत प्रति किलोमिटरमा ७० पैसा लाग्ने बताए । घिसिङले माइक्रोबसमा ९० पैसा र ठूला बसहरुमा १ रुपैयाँ २० पैसा लाग्ने बताए ।