काठमाडौं । नेपाली अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको चियामा पछिल्ला केही दिन संत्रासको वातावरण छाएको छ । नेपालमा उत्पादित चिया भारत सरकारले निर्यातमा रोक लगाउने चर्चा शुरु भएपछि उद्योगी तथा व्यवसायीहरुमा हलचल मच्चिएको छ । उनीहरु निर्यात सहज गराउन सरकारसँग हारगुहार गरिरहेका छन् ।
नेपालले भारतमा वार्षिक ५ अर्ब रुपैंयाँ बराबरको सवा एक करोड किलो चिया निर्यात गर्दै आएको छ । तर अब चिया निर्यात रोकिए दर्जनौं उद्योगहरु बन्द हुने र हजारौंको रोजगारी गुम्ने खतरा देखिएको छ । यद्यपी, निर्यात रोक्नेबारे निर्णय भइसकेको छैन ।
व्यवसायीहरुले भारतको राज्यसभा र लोकसभामा पेश भएको नेपाली चियाको निर्यातलाई प्रभावित पार्ने नीतिलाई तत्काल रोक्न पहलका लागि सरकारसमक्ष माग गरिसकेका छन् । उद्योगी उत्तमकुमार श्रेष्ठले नेपाल मामिलासँग भने,‘भारतीय बजारमा शतप्रतिशत छुट भइ निर्यात हुँदै आइरहेको नेपाली चियामा अहिले बिना कुनैपनि जानकारी भारतीय चिया निकायले बाणिज्य सन्धिविपरित निर्यात रोक्न खोजेको छ । यो विल्कुलै गलत छ । हामीले प्रधानमन्त्री शेरबहादुर देउवादेखि सबै निकायमा जानकारी दिइसकेका छौं । यदि भारतले निर्यात रोक्न कदम चाले नेपालका सबै कारखाना बन्द गरे हुन्छ ।’
विश्व बजारमा लोकप्रिय इलामको चियालाई गुणस्तरहिन चियाको संज्ञा दिई विभिन्न बहाना बनाउँदै करको दायरामा ल्याउने प्रस्ताव भारतको राज्यसभा र लोकसभामा पेश गरेको भन्दै व्यवसायीहरुले आपत्ति प्रकट गरेका छन् । नेपाल सरकारको उच्च राजनीतिक संवादमार्फत कुटनीतिक पहल गरी समस्याको समाधान गर्न उनीहरुको माग छ ।
सुर्योदय टि प्रोडक्सन एसोसिएसनका कोषाध्यक्ष महेश अर्याल भन्छन्,‘ चिया भारत निर्यात नभएमा १५० भन्दा बढी उद्योग बन्द हुन्छन् । राष्ट्रको ठुलो लगानी धरासयी हुन्छ । चिया खेतीमा आश्रित २६ हजार कृषकहरु आयविहिन हुन्छन र ८० हजार चिया मजदुर बेरोजगार हुन्छन् । त्यसैले सरकारले बेलैमा कदम चाल्नैपर्छ ।’
भारतीय संसदको एक समितिले नेपालमा उत्पादन हुने चिया सस्तो र गुणस्तरहीन भएको भन्दै नेपाली चियाको आयात रोक्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । भारतका दुई वटा सदनका ३० जना सांसद सहभागी एक समितिले सरकारलाई प्रतिवेदन बुझाएको हो । सांसद विजयसाई रेड्डीले नेतृत्व गरेको समितिको प्रतिवेदनको सम्पूर्ण विषय र निर्देशन नेपाली चिया रोक्नमा केन्द्रित देखिएको छ । साथै प्रतिवेदनमा उत्पत्तिको प्रमाणपत्रमा कडाइ गरिने पनि उल्लेख गरिएको छ ।
तर नेपालमा चियाका बोट नयाँ र जमिन पनि नयाँ भएकाले भारतको भन्दा नेपालको चियाको गुणस्तर राम्रो रहेको नेपाली चियाबारे जानकार पुनम राईको भनाइ छ । ‘नेपालको चिया गुणस्तरहीन भएको भन्ने भारतसँग प्रमाण नै छ्रैन । क्वारेन्टाइन नियम पालना गरिएको छ । कोलकाताको केन्द्रीय खाद्य प्रयोगशालाबाट परीक्षण स्वीकृति प्रमाणपत्र समेत समावेश छ। त्यसैले गुणस्तरहीन भन्ने आधार के ?’, उनले भने ।
भारतको कदम
लोकसभा र राज्य सभामा पेश गरिएको नेपाली चिया सम्बन्धी प्रतिवेदन नेपालको चिया ‘जिओग्राफिकल इन्डिकेसन’ (जीआई)मा दर्ता नरहेको भारतको भनाइ छ ।
यसरी जीआईमा समेत दर्ता नभएको चिया मिसाएर भारतीय चिया निर्यात गर्दा समग्र देशको गुणस्तर खस्किएको उनीहरूको दाबी छ। प्रतिवेदनमा लेखिएको छ, ‘छिमेकी मुलुक विशेषगरी नेपालबाट गुणस्तरहीन चिया बढेको छ। भारतको चिया उद्योगलाई खतरामा पार्ने देखिन्छ। नेपालबाट कम गुणस्तरको चिया आयात गरी बिक्री भइरहेको छ। प्रिमियम दार्जिलिङ चियाको रूपमा पुनः निकासी गरिएको छ, जसले भारतको विश्वव्यापी ब्रान्ड छवि र घरेलु चियाको मूल्यलाई पनि असर गरिरहेको छ। चिया उद्योग पश्चिमको दार्जीलिङ जिल्लाको अर्थतन्त्रको मेरुदण्ड हो। बंगाल र दार्जीलिङ चियाको दोहोरोपनको वृद्धिले चिया उत्पादन र यस क्षेत्रका साना चिया उत्पादकको जीविकोपार्जनमा असर पारेको छ। यसबाहेक नक्कली दार्जीलिङ चियाले नेपालको दृष्टिकोणलाई कमजोर बनाउँछ। त्यसैले समितिले विभागलाई बलियो बनाउन छिमेकी देशहरूबाट विशेष गरी नेपालबाट कम गुणस्तर र सस्तो चियाको आयातलाई रोक्न सतर्क उपाय सिफारिस गर्छ।’
त्यस्तै दुई वर्षअघि नै भारतीय टी बोर्डले नेपालबाट ठूलो मात्रामा गुणस्तरहीन चिया भारततर्फ निर्यात भइरहेकाले ‘अन्धाधुन्ध चियाको आयात र नेपालबाट अवैध निकासी’ रोक्नका लागि नियमहरू लागू गर्न भन्दै केन्द्रीय वाणिज्य मन्त्रालयलाई पत्राचार गरेको थियो। बोर्डले नेपालको सीमावर्ती क्षेत्रबाट निर्यात भएको गुणस्तरहीन हरियो पत्तीलाई प्रशोधन गरेर दार्जीलिङ टी को नामबाट विश्व बजारमा विक्री गरेपछि विश्वसनीयता गुम्दै गएको समेत आरोप लगाउँदै आएको छ।
अनेक बखेडा
भारतले नेपाली चिया निर्यातमा अनेक बखेडा निकाल्ने गरेको छ। कहिले गुणस्तरीयतामा प्रश्न त कहिले चियाका उच्च मात्रामा पेस्टिसाइड भेटिएको भन्दै सीमा नाकाबाट फर्काउँदै आएको छ। भारतले गत वर्ष मात्रै नेपाल र केन्याबाट सस्तो चिया आयात भएको भन्दै चिया बन्द गरेको थियो। बोर्डले चिया आयातकर्ताले देशमा सस्तो चिया पैठारी गरेको पाइए आयात लाइसेन्स खारेज गर्ने धम्की दिएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशन गरेका थिए।
आयातकर्ताले पालना गर्नुपर्ने केही नियम र बन्देज समेत लगाएको छ। लकडाउनअघि नै दार्जीलिङकी पश्चिम बंगाल राज्यसभा सांसद शान्ता क्षेत्रीले नेपाली चिया गुणस्तरहीन र स्वास्थ्यका दृष्टिले अखाद्य भएको भन्दै तत्काल आयात रोक्न संसद्मा माग गरेकी थिइन्। त्यसअघि दार्जीलिङ टी एसोसिएशनले तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी दार्जीलिङ भ्रमणमा आएका वेला ज्ञापनपत्र मार्फत नेपाली चियाको आयात रोक्न आग्रह गरेको थियो।
नेपालको प्रयास
निर्यात रोक्न खोजेकाप्रति नेपाल सरकारले चासो दिइरहेको छ तर आधिकारिक रुपमा भारतसँग कुनै प्रत्राचार वा संवादको पहल गरेको छैन । गत साउन ५ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत नेपाली चियाको बारेमा चासो व्यक्त गर्दै उद्योगीहरुको टोलीलाई प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गराएका थिए । उनले नेपाली चियाको बजार युरोप र अमेरिकाको बजारमा खोज्न संसद्मा ध्यानाकर्षण समेत गराएका थिए । उद्योग मन्त्रालय, अर्थ मन्त्रालयमा पनि उद्योगीहरुले समस्याबारे जानकारी गराइसकेका छन् । तर नेपाल सरकारको चियाको बारेमा ठोस कदम चाल्न सकेको छैन ।
‘