काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आगामी १० वर्षमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्डह्यान्डलिङ सेवा विस्तार तथा गुणस्तरीय सेवा प्रदान गर्नका लागि सवा २७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।
निगम व्यवस्थापनले सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा निर्माणको चरणमा रहेका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २७ अर्ब ३३ करोड रुपैयाँ लगानी गर्ने प्रारम्भिक योजना अगाडि सारेको छ।
निगमले अहिले नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा त्रिभुवन विमानस्थलमा ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालन गर्दै आएको छ। केही दिनअघि मात्रै प्राधिकरणले निगमलाई गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्डह्यान्डलिङ दिने निर्णय गरेको थियो। त्यसका लागि आवश्यक पूर्वाधार तयारी गर्न प्राधिकरणले निगमलाई पत्र पठाइसकेको छ।
प्राधिकरणको पत्र पाएसँगै निगम व्यवस्थापनले गौतम बुद्ध र पोखरामा नयाँ संरचना बनाउन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा विस्तार गर्न योजना बनाएको हो।
निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा विस्तार तथा गुणस्तरीय सेवा प्रदान गर्नका लागि सन् २०२१ देखि २०३० सम्म १७ अर्ब १७ करोड लगानी गर्ने योजना बनाएको छ।
यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डह्यान्डलिङको पूर्वाधार तयार गर्दै सेवा सञ्चालनका लागि २०३० सम्म ६ अर्ब ११ करोड लगानी गर्ने निगमको योजना छ। साथै निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि २०३० सम्म ४ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने गरी योजना अगाडि सारेको छ।
सुरुवाती चरणमा गौतम बुद्ध र पोखरामा पौने एक अर्ब लगानी
निगमले निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सुरुवाती चरणमा पौने १ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरेको छ।
निगमका अनुसार पहिलो चरणमा पोखरामा भन्दा भैरहवामा ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्न बढी लगानी लाग्ने आँकलन गरिएकाे छ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले अहिले लागतको सामान्य अनुमान गरिएकाे बताए। अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा पहिलो चरणमा ७२ करोड लगानी लाग्ने अनुमान गरिएको उनले जानकारी दिए।
‘भैरहवा विमानस्थलमा लागत धेरै आवश्यक हुने देखिएको छ। भैरहवा विमानस्थलमा टर्मिनलबाट जहाजमा जाने पुल (एरोब्रिज) नभएकाले र्याम्प बस आवश्यक हुन्छ,’ पौडेलले भने, ‘यस्ता बस कम्तिमा २ देखि ३ वटा आवश्यक पर्छ भने ती बस खरिदमा प्रतिथान ५ करोड रुपैयाँका दरले पनि १५ करोड रुपैयाँसम्म लाग्न सक्छ। अरु उपकरणको हकमा भने पोखरा र भैरहवामा उस्तै लागत अनुमान भएको छ।’
भैरहवा विमानस्थलमा पहिलो वर्ष ४३ करोड र पोखरा विमानस्थलमा २९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।
३ विमानस्थलको ग्राउन्डह्यान्डलिङ सेवामा कुन वर्ष कति लगानी?
२०२१ –१ अर्ब ९४ करोड
२०२२ –२ अर्ब ९ करोड
२०२३ –२ अर्ब २४ करोड
२०२४ –२ अर्ब ४१ करोड
२०२५ –२ अर्ब ५८ करोड
२०२६ –२ अर्ब ७७ करोड
२०२७ –२ अर्ब ९८ करोड
२०२८ – ३ अर्ब २० करोड
२०२९ –३ अर्ब ४३ करोड
२०३० –३ अर्ब ६९ करोड
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा
२०२१ –४३ करोड
२०२२ ४७ करोड
२०२३ –५० करोड
२०२४ –५४ करोड
२०२५ –५८ करोड
२०२६ – ६२ करोड
२०२७ –६७ करोड
२०२८ – ७१ करोड
२०२९ –७७ करोड
२०३० –८२ करोड
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा
२०२१ – २९ करोड
२०२२ ३१ करोड
२०२३ –३३ करोड
२०२४ –३६ करोड
२०२५ – ३८ करोड
२०२६ –४१ करोड
२०२७ –४४ करोड
२०२८ – ४७ करोड
२०२९ –५१ करोड
२०३० –५५ करोड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
२०२१ – १ अर्ब २२ करोड
२०२२ –१ अर्ब ३१ करोड
२०२३ – १ अर्ब ४१करोड
२०२४ –१ अर्ब ५१ करोड
२०२५ –१ अर्ब ६२ करोड
२०२६ – १ अर्ब ७४ करोड
२०२७ –१ अर्ब ८७ करोड
२०२८ – २ अर्ब १ करोड
२०२९ –२ अर्ब १६ करोड
२०३० –२ अर्ब ३२ करोड
निगमले अहिले ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वार्षिक ४ देखि ५ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ। यसरी भएको आम्दानीमा निगमलाई ५० देखि ६० प्रतिशत नाफा रहेको छ।
तर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थमा भने निगमलाई ग्राउन्डह्यान्डलिङ सेवाबाट नाफा हुने अवस्था रहँदैन। तर, पनि निगमले भविष्यलाई हेरर त्यहाँ सेवा सञ्चालनको तयारी गरेको हो।nepallive