April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आगलागीबाट एक करोड बढीको क्षति

2.3K

विराटनगर – मोरङको सुनवर्षी नगरपालिका–२ अमरदहमा मंगलबार बिहान भएको आगलागीमा परेर एउटा किराना पसल र पसलको सामान स्टोर गरेर राखिएको गोदाम ध्वस्त भएको छ। आगोले पारस साहले सञ्चालन गरेको पसल र गोदाममा पूर्ण रुपमा क्षति पुर्‍याएको हो। 

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसहितको किराना पसल र सामान स्टोर गरेर राखिएको गोदाममा बिहान २ बजेतिर आगो लाग्न सुरु भएको थियो। आगो नियन्त्रणका लागि तत्कालै इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक अनमोल खड्काको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। ठूलो संख्यामा सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो। 

नेपाल तथा सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विभिन्न ठाउँबाट आइपुगेका पाँचवटा दमकलाई आगो नियन्त्रणमा लिन छ घण्टाभन्दा बढी समय लागेको थियो। सबैको प्रयासपछि बिहान ८ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको हो। आगो नियन्त्रणमा लिननै समय लागेपछि पसल र गोदाममा रहेका केही पनि सामान रहेनन्। 

Advertisement

आगलागीको कारण खुल्न नसकेको र विद्युत सर्ट भएर घटना भएको हुनसक्ने अनुमान गरिएको एसपी खड्काले बताए। उनका अनुसार आगोले पसल र गोदाम सञ्चालन गरेको घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने सबै सामान कामै नलाग्ने गरी जलेर नष्ट भएका छन्।