April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सामाजिक सुरक्षा कोषले योगदानकर्ताका लागि विभिन्न ४ किसिमका सापटी सुविधा दिने

2.1K

काठमाडौं–योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरुका लागि विभिन्न ४ किसिमका सापटी सुविधाहरु अघि सारेको छ। मंसिर १० गतेको  मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ स्वीकृत गरेसँगै योगदानकर्ताले यस्तो सुविधा पाउने भएका हुन्। 

कार्यविधिमा व्यवस्था भएअनुसार योगदानकर्ताले योगदानकर्ताको विशेष सापटी, घर सापटी, शैक्षिक सापटी तथा सामाजिक कार्य शीर्षकमा सापटी लिन सक्नेछन्।

योगदानकर्ता सापटी कुल लगानीको १५ प्रतिशतसम्म पाइने व्यवस्था गरिएको छ। योगदानकर्ता विशेष सापटी योगदानकर्ताको योगदान रकमका आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ। 

Advertisement

घर सापटी ७५ लाख 
घर सापटी सुविधाअन्तर्गत योगदानकर्तालाई ७५ लाख अथवा १५ वर्षको पारिश्रमिक बराबर सापटी दिने व्यवस्था गरिएको छ। त्यस्तै विवाहका लागि ५ लाखसम्म सापटी दिने व्यवस्था गरिएको छ। योगदानकर्ताले घर सापटी सुविधाअन्तर्गत घर निर्माण गर्न, खरिद गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न रकम पाउँनेछन् । घर मर्मतका लागि समेत उक्त रकम पाउने व्यवस्था गरिएको छ। 

सामाजिक कार्य सापटी ५ लाख 
त्यस्तै लगानी कार्यविधि २०७७ ले ‘सामाजिक कार्य सापटी’ शीर्षक अन्तर्गत योगदानकर्ताहरुलाई ५ लाखसम्म सापटी दिने व्यवस्था गरेको छ । यो शीर्षक अन्तर्गतको सापटी योगदानकर्ताले एकाघरको विवाहका लागि समेत लिन पाउने भएका हुन्।

उच्च शिक्षा अध्ययनका लागि ३५ लाखसम्म सापटी 
त्यस्तै योगदानकर्ताले स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययनका लागि ३५ लाखसम्म सापटी लिन पाउने व्यवस्था गरिएको छ। योगदानकर्ता आफैँ वा निजको पति, पत्नी, छोरा, छोरीका लागि सो सापटी लिन सक्छन्।  सापटी सुविधाका लागि कोषमा कम्तिमा ३ वर्ष योगदान गरेको हुनुपर्नेछ । यसमा थप शर्तहरु पनि लागू हुने छन्। 

कोषले योगदानकर्ताको खातामा जम्मा भएको ३१ प्रतिशत रकममध्ये २८ दशमलव ३३ प्रतिशतभित्रबाटै उपदानका लागि छुट्याएर त्यसकै आधारमा सापटी उपलब्ध गराउने व्यवस्था गर्न लागेको हो। सापटी पाउने व्यवस्था कार्यान्वयनका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्याविधिसमेत संसोधन गर्नुपर्ने कोषले जनाएको छ । कार्यविधि संसोधनका लागि प्रकृया अन्तिम चरणमा पुगेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले नेपाल लाईभलाई जानकारी दिए। 

कार्यविधिमा विद्यमान व्यवस्थाअनुसार वृद्धअवस्था योजनाअन्तर्गत हाल योगदानकर्ताको कुल योगदान रकमको २८ दशमलव ३३ प्रतिशत कट्टि गरिँदै आएको छ । यसैलाई बाँडफाँड गरी करिब १० प्रतिशत रकम अवकाश (उपदान) योजनाअन्तर्गत राखि र बाँकी १८ प्रतिशत रकमबाट पेन्सन सुविधा उपलब्ध गराइने गरी व्यवस्था मिलाइने गरी प्रस्ताव गरिएको छ । प्रस्तावित मस्यौदाले अन्तिम रुप भने लिएको छैन।