April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बियरको बोतलको सट्टा कार्टुनमा अन्त:शुल्क स्टिकर टाँस्ने सरकारको निर्णय

2.6K

काठमाडौं- आन्तरिक राजस्व विभागले अन्त:शुल्क स्टिकरको भण्डारण रित्तिन लागेपछि बियरको बोतलको सट्टा कार्टुन (बाक्सा)मा स्टिकर टाँस्ने निर्णय गरेको छ। विभागले सबै कर कार्यालयलाई परिपत्र गर्दै ३३० मिलिलिटर क्षमताको बियरको बोतलको सट्टा कार्टुनको तल र माथि स्टिकर टाँस्ने गरी उत्पादकलाई स्टिकर उपलब्ध गराउन निर्देशन दिएको हो। 

विभाग स्रोतले उपलब्ध गराएको पत्रअनुसार अबदेखि ३३० मिलिलिटर क्षमताका बियरको बाक्साको माथिल्लो भागमा एउटा र तल्लो भागमा एउटा स्टिकर टाँस गरिनेछ। बियरको ७५० मिलिलिटरको बोतल र ५०० मिलिलिटरको क्यानमा भने यसअघि जस्तै प्रत्येक बोतलमा नै स्टिकर टाँसिनेछ।

सरकारले ३ वर्षअघिबाट बियरको बोतलमा अन्त:शुल्कको स्टिकर टाँस्न थालेको थियो। त्यसअघि अन्य मदिराको बोतलमा स्टिकर टाँस गरिए पनि बियरमा भने कार्टुनमा मात्रै टाँसिएको थियो। सरकारले त्यतिबेला बियरको बोतलमा स्टिकर टाँस्ने निर्णय गर्दा उत्पादकहरूले सुरुमा विरोध गरे पनि पछि भने कार्यान्वयन गरेका थिए। 

Advertisement

आन्तरिक राजस्व विभागले पछिल्लोपटक सन् २०१६ मा इन्डोनेसियाको पेरुम पेरुरी कम्पनीसँग अन्त:शुल्क स्टिकर खरिद गरेको थियो। यो स्टिकरको भण्डारण सकिने अवस्थामा पुगेको र नयाँ छपाइ पनि गर्न नसकिएका कारण बियरको बोतलको सट्टा कार्टुनमा स्टिकर टाँस्ने निर्णय भएको विभाग स्रोतले जानकारी दिएको छ। 

नेपालमा वार्सटाइनर, नमस्ते, गोर्खा, बाह्रसिंगेलगायतका ब्राण्डका बियर ३३० मिलिलिटरको सानो बोतलमा पनि बजारमा आउने गरेका छन्। यसरी आउने बियर एक कार्टुनमा २४ वटा हुन्छ। खुद्रा मूल्य १३० रूपैयाँदेखि १७५ रूपैयाँसम्म रहेका यस्ता बियरको एउटा बोतलमा लाग्ने अन्त:शुल्क स्टिकरको मूल्य करिब ५५ रूपैयाँ पर्छ।

बियर उत्पादक कम्पनीहरूले आफूले उत्पादन गरेको कार्टुनको तल र माथि लगाउने गरी आन्तरिक राजस्व कार्यालयबाट स्टिकर किन्नेछन्। ‘स्टिकर भण्डारण सकिन लागेको छ, अब सबै बोतलमा लगाउन दिन सक्ने अवस्था नभएकाले यस्तो निर्णय गरेका हौँ,’ विभाग स्रोतले भन्यो, ‘आन्तरिक राजस्व कार्यालयहरूले बियर उत्पादकले सही ढंगबाट स्टिकर प्रयोग गरे/नगरेको निरन्तर अनुगमन हुन्छ।’